कोरोना संक्रमण निको भएपछि खोप लगाउन मिल्छ?

सरकारले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर पहिलो चरणको खोप अभियान सम्पन्न गरेको छ।

पहिलो चरणमा १ लाख ८४ हजारले खोप लगाएका छन्।

सरकारले ४ लाख ३० हजारभन्दा बढी व्यक्तिलाई पहिलो चरणमा समावेश गर्ने योजना बनाएको थियो।

तर, धेरै मानिसले कोरोना संक्रमणमुक्त भइसकेको र शरीरमा एन्टीबडी रहिरहेको भन्दै खोप लगाउन मन नदेखाएको टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन्।

‘कोरोना खोप लगाउन अझै पनि धेरै शंका गरिरहेको छन्,’ पुनले भने, ‘खोपका बारेमा जनचेतना बढाउनु पर्ने देखिन्छ।’

कतिपय स्वास्थ्यकर्मी स्वयमले किन खोप लगाउने भन्ने प्रश्न गरिरहेको बेला सर्वसाधारण खोप लगाउन प्रेरित गर्न व्यापक रूपमा जनचेतना फैलाउनुपर्ने उनको भनाई छ।

सोमबार सरकारले दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको छ।

जसमा पत्रकार, एजेन्सी, दुतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई प्राथमिकतमा राखेका छन्।

कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले नै सुरक्षा दिने र खोप लगाउन नपर्ने भन्दै धेरै स्वास्थ्यकर्मी खोप नलगाउन उत्साहित नभएको डा. पुनको भनाई छ।

कोरोना निको भएका मानिसले खोप आवश्यक छ कि छैन?

कोरोना निको भएका व्यक्तिले खोप लगाउन आवश्यक हुने भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे बताउँछन्।

कोरोना संक्रमित व्यक्तिको शरीरमा कति समयसम्म एन्टिबडी रहने पुष्टि नभइसकेको अवस्थामा खोप लगाउन आवश्यक भएको पाण्डेको भनाई छ।

डा. पाण्डेका अनुसार संक्रमण भइरहेको अवस्थामा भने कोभिडविरुद्धको खोप दिन मिल्दैन।

‘संक्रमण भइरहेको अवस्थामा खोप दिन मिल्दैन। खोपमा पनि त्यहि भाइरस समावेश भएको हुन्छ,’ डा. पाण्डेले भने, ‘जसको कारण थप संक्रमणको भार बढ्न सक्छ।’

संक्रमण निको भएको एक महिनापछि खोप लगाउँदा एन्टिबडी बढाउन पनि थप मद्दत मिल्ने उनको भनाई छ।

संक्रमित नभएका मानिसलाई खोप पहिलो प्राथमितामा राख्नुपर्ने पुनको भनाई छ।

अन्य विकसित मूलकको ट्रेन्डलाई हेर्दा पहिलो प्राथमिकतामा संक्रमित नभएका मानिसलाई दिइरहेका छन्।

‘संक्रमित भएका मानिसको शरीरमा केही समय एन्टिबडी रहने भन्ने विज्ञले बताउँदै आएका छन्,’ डा. पुन भन्छन्, ‘शरीरमा बनेको एन्टिबडीले सबै भाइरसलाई रोक्छ, रोक्दैन भन्ने यकिन भइसकेको छैन।’

अन्य मूलकमा संक्रमित निको भएका मानिसले ३ महिनापछि मात्रै खोप लगाउने भन्ने पाइएको छ।

संक्रमित निको भएको मानिसको शरीरमा एन्टबडी केही समय हुनाले र अन्य मानिसले खोप नपाइरहेको अवस्थामा प्राथमिकतामा राखेको हुनसक्ने डा. पुनको भनाई छ।

संक्रमण निको भएका मानिसले खोप लगाउँदा विशेषगरी दुई किसिमको फाइदा हुने डा. पाण्डे बताउँछन्।

‘संक्रमण निको भइसकेका मानिसको शरीरमा कम्तिमा तीन महिनापछि एन्टिबडी घट्दै जान्छ,’ डा. पाण्डे भन्छन्, ‘त्यसकारण एन्टिबडी सकिएको खोपले थप एन्टिबडीलाई बुस्ट गर्छ।’

कोभिडको पहिलो खोप लगाएको २८ दिनपछि मात्र दोस्रो डोज लगाउन सरकारले आग्रह गरेको छ।

तर, दोस्रो पटक ६ हप्तामा लगाएको खन्डमा यसको प्रभावकारिता अझै बढेर जाने डा. पाण्डेको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय