लुम्बिनी प्रदेशमा लक्ष्यको ८४ प्रतिशतले लगाए खोप
लुम्बिनी प्रदेशमा लक्ष्यभन्दा कमले कोरोना खोप लगाएका छन् । प्रदेशमा ३४ हजार ५ सय ९५ जनालाई खोप लगाउने लक्ष्य थियो। त्यसमध्ये २८ हजार ९ सय ५१ जनाले मात्र खोप लगाएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो लक्ष्य गरिएको संख्याको ८४ प्रतिसत हो।
मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. पुष्पराज पौडेलले पहिलो चरणको खोप सकिएको र दोस्रो चरणको खोपका लागि लगत संकलन सुरु भएको जानकारी दिए।
उनले पहिलो चरणको खोप लगाएकामध्ये पाँच दर्जन व्यक्तिमा सामान्य असर देखिएको जानकारी आएको बताए। करिब ६० जनामा केही लक्षण देखिएको भन्ने जानकारी आएको छ डा. पौडेलले भने, तर गंभीर प्रकृतिको असर भने देखिएको छैन।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाँच जिल्लामा लक्ष्य भन्दा बढीले खोप लगाएका छन् भने ७ जिल्लामा खोप लगाउनेको संख्या लक्ष्यभन्दा कम भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार लक्ष्यको सबैभन्दा कम संख्यामा कोरोनाको विरुद्धको खोप लगाउनेमा बाँके जिल्ला परेको छ। जिल्लामा ७ हजार ७ सय जनालाई कोरोना खोप लगाउने लक्ष्य राखिएकोमा ४ हजार ९ सय ६७ जना मात्र खोप लगाउन आएका छन्। यो लक्ष्यको ६५ प्रतिशतमात्र हो।
यस्तै रुपन्देहीमा ६७ प्रतिशतले मात्र खोप लगाएका छन्। जिल्लामा १० हजार १ सय ५३ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ७ सय ९१ जनाले मात्रै कोरोनाविरुद्धको खोप लगाए ।
३ हजार ३ सय ६२ जनाको खोप बचेको छ । रुपन्देहीमा ५ स्थानबाट खोप लगाउने व्यवस्था गरिएको थियो । बाँके र नेपालगञ्ज विगतमा कोरोनाबाट बढी प्रभावित जिल्ला हुन्। तर कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकतामा परेकाहरुले खासै चासो नदिएको तथ्यांकले देखाएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले त्रासका कारण खोप नलगाएको बता । कतिपयले यो ट्रायलको खोप हो भन्नेसमेत बुझेको उनले बताए।
खोप लगाएपछि जिल्लामा २ जनालाई सामान्य ज्वरो आउनेबाहेक अरुलाई असर नगरेको बताए। स्वास्थ्यकर्मीहरुले नै डराएर खोप नलगाउँदा कम भएको शाहको भनाइ छ।
स्थानीय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइका कर्मचारीलाई पालिकाले व्यवस्थापन गरेर खोप केन्द्रमा ल्याउनुपर्नेमा केही पालिकाले नल्याउँदा पनि खोप बचेको शाहले बताए।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले खोपप्रति डराएर नभई लक्ष्य तोक्दा तलमाथि भएको कारण त्यस्तो भएको बताए । डराएर नलगाएको भन्ने केही मात्रामा हुन सक्ने भए पनि प्रमुख कारण भने लक्ष्य निर्धारण गर्दा नै तलमाथि परेको कारण भएको उनले तर्क गरे।
पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा औषधि व्यवसायी परेका थिएनन्। तर लक्ष्यमा समेटिदा लक्ष्य कम देखिएको चौधरीको भनाइ छ ।
रुपन्देहीको हकमा मात्रै कुरा गर्दा ५ हजार संख्याका औषधि व्यवसायी पनि लक्ष्यमा देखिएको र पछि करेक्सन भएको उनले बताए।
लक्ष्यभन्दा कम खोप खपत भएका अन्य जिल्लाहरुमा अर्घाखाँचीमा ६९ प्रतिशत, पूर्वी रुकुममा ८२ प्रतिशत, रोल्पामा ९१ प्रतिशत, गुल्मीमा ९३ प्रतिशत र बर्दियामा ९८ प्रतिशतले खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
लक्ष्यभन्दा बढी खोप लगाउनेमा दाङ अगाडि रहेको छ । दाङमा लक्ष्यको १ सय १९ प्रतिशतले खोप लगाएका छन् । जिल्लामा २ हजार ९ सय ७० जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर लक्ष्यभन्दा ५ सय ७६ बढी अर्थात् ३ हजार ५ सय ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । दाङमा ३ स्थानबाट खोप लगाउने व्यवस्था गरिएको थियो।
दाङपछि पाल्पामा लक्ष्यभन्दा बढीले खोप लगाएका छन्। पाल्पामा २ हजार ४ सय ६० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा खोप लगाउनेको संख्या २ हजार ७ सय १२ पुगेको छ । पाल्पामा कुल लक्ष्यको १ सय १० प्रतिसतले खोप लगाएका हुन्।
यस्तै कपिलवस्तु र पश्चिम नवलपरासीमा पनि कोरोना विरुद्धको खोपको आकर्षण देखिएको छ। कपिलवस्तुमा लक्ष्यको १०९ र पश्चिम नवलपरासीमा १ सय ७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यी जिल्लाहरुमा खोप लगाउनुपर्ने व्यक्तिहरु लक्षित व्यक्तिको सूचीमा छुटेकाले धेरै भएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोसनलाल चौधरीले बताए । पाल्पामा कारागारमा बसेकाहरु लक्ष्यमा नपरे पनि पछि लगाउँदा लक्ष्यभन्दा बढी देखिएको चौधरीले बताए।
चौधरीले दोस्रो चरणका लागि ३९ हजार व्यक्तिमा कोरोनाविरुद्दको खोप लगाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।