… अनि काेराेना र टेकु अस्पतालका स्तम्भ बने डा. सागर राजभण्डारी

नेपालमा पहिलो पटक २०७६ माघ ९ मा कोरोना संक्रमण पुष्टि भयो। त्यसको एक महिनापछि फागुन १९ गते राष्ट्रिय क्षयरोग केन्द्रबाट डा.सागर राजभण्डारी निर्देशक भएर शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरुवा भए।

उनी अस्पतालमा आउँदा नेपालमा कोरोना महामारीको चर्चा चलिरहेको थियो तर, संक्रमित भने फेला परेका थिएनन्।

मानिसमा नयाँ रोगप्रति त्रास थियो।

अन्य देशमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको थियो। सरकारले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन थाल्यो। नेपाल ल्याउँदा अन्तर्राष्ट्रिय विमानस्थलबाट ज्वरो आएका बिरामीलाई सिधै टेकु अस्पताल लगिने गरिय्थाे। र, अन्यलाई क्वारेन्टिनमा राखिने गरीएकाे थियाे।

उनी सरुवा भएर आएको केही महिनामै नेपालमा पनि संक्रमण तीव्र गतिमा फैलियो।

टेकु नेपालको एकमात्र सरुवा रोग अस्पताल हो। तत्कालीन समयमा  अन्य ठाउँमा नमुना परीक्षण गर्ने सुविधा नै थिएन।  त्यसबेला टेकुले नमुना लिएर परीक्षणका लागि प्रयोशालामा पठाउँथ्यो।

‘पहिले यो अस्पतालमा कोरोनाभन्दा पनि अन्य बिरामीले सेवा लिइरहेका थिए’, डा. राजभण्डारी भन्छन्, ‘देशको एउटा मात्रै सरूवा रोग अस्पताल। झण्डै देशभरका २८ प्रतिशत एचआइभी संक्रमित यसै अस्पतालबाट सेवा लिन्छन्। यसका साथसाथै विभिन्न अन्य सरूवा रोगको सेवा लिनेको संख्या पनि ठूलै छ।’

रेबिज, डेंगु, मलेरिया, टाइफाइड, टिवीजस्ता रोगका बिरामीको उपचार गर्दै आइरहेको अस्पताललाई कोरोना संक्रमितका बिरामी आउँदा सुरुमा व्यवस्थापन गर्न निकै गाह्रो भयो।

तर, डा. राजभण्डारीहार खाएनन्।

चिकित्सकको काम भनेकै अप्ठ्यारोमा सहज सेवा दिनु हो भन्ने उनले राम्ररी बुझेका थिए।

‘द्वन्द्वकालमा निकै अप्ठ्यारा खेप्दै काम गरियो। यस्ता थुप्रै महामारीलाई झेलेको छु मैले’, उनले भने, ‘असहजतालाई अप्ठ्यारोकोरूपमा नभई अवसरको रूपमा लिनुपर्छ। मैले त्यही रूपमा लिए। र, व्यवस्थापनमा जुटेँ।’

कोरोनाका शंस्कास्पद व्यक्ति आएपछि अन्य बिरामीलाई संक्रमण हुनबाट जोगाउनु आफ्नो प्रमुख दायित्व भएको उनी ठान्छन्।

अस्पतालको भौतिक अवस्था नाजुक भएकाले आफूहरूले त्यही संरचनामा व्यवस्थित गरेको बताए।

‘यहाँ १ सय २० वटा बेडहरू एकदमै साँघुरो पारिएर राखिएको थियो’, उनले भने, ‘संक्रामक रोग व्यवस्थापनमा त्यो पूर्वाधार पर्याप्त होइन। हामीसँग आवश्यक उपकरण पनि थिएन।’

उनले अस्पतालको कार्यभार सम्हालेपछि आफ्नो पहिलो निर्णय अस्पतललाई कोभिड डेटिकेटेड अस्पताल गरे।

यो जिम्मेवारी शुक्रराज ट्रपिकल अस्पतालले लिनुपर्छ भन्ने हिसावले स्वास्थ्य मन्त्रालयसँग छलफल भयाे।

‘कोभिड–१९ का केसहरू राख्नको लागि सबैभन्दा पहिला पूर्वाधारको आवश्यकता पर्छ। त्यसैगरी जनशक्तिदेखि अक्सिजन तथा बजेटको व्यवस्था मन्त्रालयले गर्‍यो कोरोना संक्रमित पहिचान भएसँगै सुरूको दुई महिना हामीसँग ल्याब नभएकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब संकलन गरेर पठाउने गरेका थियौं’, डा. राजभण्डारीले भने।

अस्पतालमा विस्तारै नमुना संकलनको संख्या बढ्दै गएपछि उपचारकाे साथ–साथै नमुना परिक्षाण गर्ने जिम्मेवारी पनि थपियाे।

‘हामीसँग पिसिआर मेसिन थियो।त्यो मेसिन एचआइभी संक्रमितको लागि भाइरललोडको परीक्षणका लागि प्रयोग गरिन्थ्यो’, उनले भने, ‘थप औजार–उपकरण थपेर हामीले त्यही मेसिनलाई प्रयोग गर्‍याैं।’

२०७७ जेठ २ बाट आफैँले नमुना परीक्षण गर्न थाल्याे।  त्यसबेला आफूहरूको क्षमता हरेक दिन २ सय ८८ नमुना परीक्षण गर्ने  गरेकाे थियाे।

तर, त्यती नुमना परीक्षण प्रर्याप्त भएन।

‘बीचमा हामीले क्षमता पनि बढाउनुपर्ने अवस्था आयो’, उनले भने, ‘निःशुल्क पिसिआर परीक्षणको लागि मानिसहरू भोकै यसै अस्पतालको परिसरमा सुत्न थाले, पानी पनि नखाई भोकै लाइनमा बसेका मानिसहरूका अनुहारले हामीलाई कर्तव्य बोध बढाइरहेको थियो।’

त्यसपछि हामीले दैनिक ४ सयभन्दा बढी नमुना परीक्षण गर्न थालियाे।

अहिलेसम्म ५६ हजार जनाको पिसिआर अस्पतालले गरिसकेकाे छ।

त्यसमध्ये झण्डै ८ हजार १ सय जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएकाे छ।

आजका दिनसम्म शंकास्पद र संक्रमित गरी १ हजार ५० जनालाई वार्डदेखि आइसियु, भेन्टिलेटरमा राखेर उपचार गरिएको उनले जानकारी दिए।

परीक्षणदेखि उपचारसम्म कसैले पनि एक रुपैयाँ तिर्नु नपरेको उनी बताउँछन्। सबै उपचार अस्पतालको तर्फबाट निःशुल्क गरिएको छ।

‘कोरोना महामारीलाई धेरैले चुनौतिका रूपमा लिए। तर, हामीले अवसरका रूपमा लियौं’, उनले भने, ‘देशलाई आवश्यक परेको अवस्थामा हाम्रो क्षमता देखाउनुपर्ने थियो। हामीले त्यो देखाउन सकेजस्तो लाग्यो। र, अहिलेसम्म हामीले सेवा दिइरहेका छौं।’

एक वर्षपछि बिरामीको संख्या विस्तारै घट्दै गएकोप्रति उनी खुसी छन्। उनी पछिल्लो समय माघ १० गते कोभिड–१९ को साथसाथै अन्य सेवा पनि सञ्चालन गरिएको बताउँछन्।

सुरूका दिनदेखि नै कतिपय सेवालाई अन्य अस्पतालमा सिफ्ट गरिएको उनले बताए।

‘तर, उहाँहरूले अन्य अस्पतालबाट राम्रो सेवा नपाएको गुनासो आएपछि हामीले बाध्य भएर नन्–कोभिडको पनि सेवा सुरू गरेका हौं’, उनले भने। झन्डै एक वर्षको अथक प्रयासपछि कोरोना लडाइँको अन्तिम फेजमा पुगिएको उनकाे अनुभव छ।

आजको अवस्थामा आइपुग्न अस्पताल टिमले आफूलाई निकै सहयोग गरेको उनी सुनाउँछन्।

कोरोना डेडिकेट अस्पताल भएपछि स्वास्थ्य मन्त्रालयले हेर्ने दृष्टिकोण फेरिएको र राम्रो सहयोग गरेको भन्दै उनी खुसी छन्।

मन्त्रालयदेखि स्वास्थ्य सेवा विभागसम्मको सकारात्मक सोचका कारण आफूहरूको मिसन आजको दिनमा आइपुगेको उनी बताउँछन्।

तर, कतिपय ठाउँमा मन्त्रालयको स्पष्ट निती तथा निर्देशन नआएकाले आफूहरू अलमलमा पनि परेको उनले अनुभव सुनाए।

अन्य अस्पतालले कोरोनाको नाममा कुनै पनि बिरामीलाई भर्ना नलिइरहेको अवस्थामा टेकुले संकास्पद बिरामी आउनासाथ भर्ना लिनेगरेको उनी बताउँछन्। बिस्तारै

‘अन्य अस्पतालले पनि बिरामी लिन थालेको र आफूहरूलाई सहज भएको हुँदै गएकाे थियाे। हामीले मात्र सेवा दिएर दिनसक्ने अवस्था पनि त थिएन’, उनी भन्छन्।

अन्य अस्पतालका जनशक्तिलाई तालिम दिने, काउन्सिलिङ गर्ने काम पनि टेकु अस्पतालले नै गरेको थियाे। त्यसका साथ–साथै  बिस्तारै अस्पतालमा आइसियुको पूर्वाधार थप्ने काम पनि गर्‍यो।
सुरूका दिनमा साधारण लक्षण भएका बिरामीलाई पनि अस्पतालमै भर्ना गर्ने गरिएको उनले बताए।

१ सय २० शय्याको अस्पतालमा बिरामीलाई व्यवस्थापन गरेर राख्न अस्पतालाई निकै धौ–धौ थियो। तै पनि अस्पतालले व्यवस्थापन गरेकोमा उनी सन्तुष्टि व्यक्त गर्छन्।

तर, पछि कन्फर्म केसलाई मात्र पुरानो आइसोलेसन बेडमा पार्टिशन गरेर सिसि क्यामेराको निगरानीमा राखिएको उनले बताए।

गम्भीर प्रकारका बिरामी आउँदा सुरुमा पुराना दुई आइसियु र भेन्टिलेटर मात्रै रहेकाले निकै सास्ती खेप्नु परेको उनको अनुभव छ।

त्यति पूर्वाधारले नपुग्ने भएपछि स्पेसल आइसोलेसन बेड बनाउनुपर्छ भन्ने अवधारणा अगाडि बढाइएको उनले बताए। पछि २२ बेडको आइसियु र १० वटा भेन्टिलेटर थपियाे।

‘आइसियु र भेन्टिलेटर सञ्चालन गर्नको लागि हामीलाई अक्सिजनको आवश्यकता पर्दछ’, उनले भने, ‘त्यसको लागि हामीले अक्सिजन प्लान्टको स्थापना गर्यौं।’

टेकु अस्पतालले राखेको लिक्युट प्लान्ट नेपालको पहिलो भएको थियाे। यो सुविधापछि धेरै भेन्टिलेटर एकैपटक चलाउन सकिने छ।

यो सुविधापछि अक्सिजनको सिलिन्डर बोकेर बेडबेडमा जानुपर्ने समस्याको अन्त्य भएको उनको भनाई छ। ‘सबै ठाउँमा पाइपबाट अक्सिजन पुगिरहेको हुन्छ’, उनी भन्छन्।

त्यो बेला स्वास्थ्यकर्मीलाई काम गर्नका लागि उच्च मनोबलको आवश्यकता थियो। टेकुमा काम गर्ने चिकित्सक भनेपछि धेरैले घरबाट नै निकालेका उदाहरण छन्।

उनलाई त्यो कुराको व्यवस्थापन गर्नु पनि ठूलो चुनौति थियो।

‘शुक्रराजको स्टाफ हो भनेपछि बसमा बस्न पनि मानिसहरू डराउने अवस्था थियो। कुनै अफिसमा जाँदा पनि डराउने अवस्था थियो। यस्तो बेलामा उपचार गर्ने नर्स तथा स्वास्थ्यकर्मीको मनोबल खस्किनसक्ने जोखिम थियो’, उनले भने ।

स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि हामीले होटलमै व्यवस्थापन गरेर राखेकाे थियाे।

मन्त्रालयले सबै स्वास्थ्यकर्मीको मनोबल बढाउन कामको आधारमा जोखिम भत्ताकोसमेत व्यवस्थापन गरेकोमा उनले खुसी व्यक्त गछन।

‘यो पुरानो संक्रामक अस्पताल हो। अन्य अस्पतालका डाक्टरसाब भन्दा हामी पृथक छौं’, उनी भन्छन्, ‘मलेरिया, एचआइभीका बिरामीलाई पनि हामीले सेवा गरिरहेका छौं। मेरा सबै कर्मचारी आफ्नो जिम्मेवारी निर्वाह गर्न पोख्त छन्। र, संक्रामक रोगबारे जानकार पनि। त्यसैले पनि हामीलाई काम गर्न धेरै गाह्रो भएन।’

३० वर्षे सेवा अवधिमा आफूले थुप्रै चुनौतिलाई चिर्दै देशका १४ वटा जिल्लामा सेवा गरेको डा. राजभण्डारी बताउँछन्।

द्वन्द्व कालमा पनि आफूले थुपै कठिनाई पार गर्दै सेवा गरेको उनको भनाई छ।

उनी आफू चिकित्सक मात्र नभएर चिकित्सकीय व्यवस्थापनको भूमिकामा रहेकाले अप्ठ्यारोमा लड्न सिक्नु नै आफ्नो पहिलो दायित्व भएको बताउँछन्। आफूले एक वर्षको अवधिमा तीनपटक पिसिआर परीक्षण गरेको  थिए।

स्वास्थ सुरक्षाका प्रोटोकल पालना गरेकाले संक्रमणबाट जोगिएर नेपालमा पहिलो खोप लगाउने व्यक्तिको सौभाग्य आफूले प्राप्त गरेको उनले बताए।

टेकु अस्पतालमा व्यवस्थापकको रूपमा आइसकेपछि डा. राजभण्डारी ११ महिनाको अवधिमा एकदिन पनि बिदा बसेका छैनन्। उनी बिहानै आफ्नो डिउटीमा आउँछन्। र, बेलुकीसम्मै सेवामा खटिन्छन्।

ओपिडिदेखि सम्पूर्ण सेवा लिने ठाउँमा बिरामीले कसरी सेवा पाइरहेका छन् भनेर उनले निगरानी गरिरहेका हुन्छन्। उनको ध्यान सधैं बिरामीले गुणस्तरीय सेवा पाए कि पाएनन् भन्नेमा केन्द्रीत हुन्छ। ‘स्रेवाग्राही सन्तुष्ट छन् कि छैनन् त्यो बुझ्नु पनि मेरो दायित्व हो’, उनी भन्छन्।

उनी बीचबीचमा मन्त्रालयमा छलफल हुने कार्यक्रममा पनि सहभागी हुन्थे। उनको अस्पताल आउन छुटेको समय भनेको त्यही मात्र हो। नत्र उनी जतिबेला पनि अस्पतालमै उपलब्ध हुनेगरेको बताउँछन्।

उनी त्यसैपनि बिदा लिन रुचाउँदैनन्। आफ्नो पेसा नै बिदामा बस्ने नभएको बुझेका उनले जीवनमा दुई पटक मात्रै बिदा लिएका छन्।

‘एक पटक दुर्घटना हुँदा सात दिन र बिहे हुँदा सात दिन बिदा लिएको छु। त्यो बाहेक मैले बिदा नै लिएको छैन। म बिदा लिएर बिरामीले दुःख पाएको हेर्न सक्दिनँ। त्यसकारण म बिदामा बस्दिनँ’, उनी भन्छन्।

बिरामीको आत्मसन्तुष्टि र उपचार पाई रोग जित्दाको खुसीले आफ्नो सबै थकान मेटाउने गरेको उनको भनाई छ।

कोरोना महामारीमा दिनरात नभनी काम गरेका स्वास्थ्यकर्मीले समयमै कोरोना खोप पाएकोमा उनी खुसी छन्।

‘हामी नेपाली खास गरेर फ्रन्टलाइनर स्वास्थ्यकर्मी एकदमै भाग्यमानी छौं। सार्क राष्ट्रमध्ये खोप पाउने दोस्रो राष्ट्र नेपाल हो’, उनले भने।

नेपालले प्राप्त गरेको खोप लगाउने वा नलगाउने भन्ने बारेमा धेरै नकारात्मक टिकाटिप्पणी आएपनि उनी ढुक्क भएर लगाउन सुझाव दिन्छन्।

‘यो खोप सम्बन्धी मैले धेरै अध्ययन गरे। यसको अनुसन्धान गरेको रिपोर्ट पढें। पढ्दा मलाई एकदमै खुसी लाग्यो। हाम्रो देशको हावापानी सुहाउँदो कोभिसिल्ड खोप नै छ’, उनी भन्छन्, ‘विश्वको सबैभन्दा ठूलो खोप कम्पनीले उत्पादन गरेको छ। यस कम्पनीको खोप नेपालका अन्य खोप कार्यक्रममा चलाइएको छ। त्यसको क्लिनिकल ट्रायलका विभिन्न रिपोर्ट मैले अध्ययन गरेपछि मलाई खुसी लाग्यो।’

यो खोप लगाउँदा आफूलाई फाइदा नै हुने र सबैलाई ढुक्क भएर लगाउँदा हुन्छ भन्ने सन्देश दिन नेपालमा पहिलो डोज लिएको उनको भनाइ छ। कुनै पनि खोप लगाउँदा

साधारण असर देखापर्ने भएकाले नआत्तिन उनी सुझाव दिन्छन्।

यसको असर साना नानीलाई बिसिजी खोप लगाउँदा ज्वरो आएजस्तै भएको उनले बताए। त्यसरी ज्वरो आउँदा खोपले काम गरेको भन्ने बुझ्नुपर्ने उनी बताउँछन्।

‘यो खोपमा पनि कतिपय मानिसमा ज्वरो आउने, कसैलाई टाउको दुख्ने, जिउ दुख्ने यी सामान्य लक्षणका साथसाथै कसैलाई एलर्जी पनि हुने गर्दछ’, उनी भन्छन्।
यी लक्षण सबैलाई आउने नभएर १० जना मध्ये एकजनालाई आउने गरेको उनले बताए।

कोरोना महामारीको प्रकोप अहिले पनि कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाइराख्न उनले अन्त्यमा सुझाव दिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय