यसवर्ष किन भएन खासै चिसो र परेन पानी?

मुलुकमा यसपालि जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम रहेको छ। गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपाली अहिलेसम्म त्यो अवस्था देखिएको छैन। यस वर्षको हिउँदमा वर्षाको अवस्थासमेत अत्यन्त न्यून रहेको मौसमविद्ले बताएका छन्। हिउँ परेर चिसो हुने यस मौसममा मुलुकमा तापक्रम औषतभन्दा बढी नै रहेको जनाइएको छ।

मौसमविद्ले यस वर्षको जाडो याममा औसतभन्दा बढी नै तापक्रम रहने विवरण सार्वजनिक गरेका थिए। दक्षिण एसियाली जलवायु आंकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ।

उक्त अध्ययनले औसतभन्दा बढी तापक्रम रहने औंल्याएको थियो। सोहीअनुसार नै मौसम अघि बढेको देखिन्छ। मुख्यतः समुन्द्र र वायुमण्डलीयस्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ। विभागका अनुसार गत वर्ष नेपालको पूर्वीभेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो।

यद्यपि शुक्रबारबाट भने पश्चिमी न्यून चापीय प्रणालीका प्रभावका कारण मौसम बदली भएसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी भेगका केही क्षेत्रमा हल्का वर्षा भएको छ। तराई क्षेत्रमा भने बाक्लो हुस्सुसहित शीतलहर छ। तर पनि वर्षाको औैषत अवस्था कम नै रहेको मौसमविद्को भनाइ छ।

मौसमविद् निराजन सापकोटा पश्चिमी वायुका कारण प्रणाली परिवर्तन हुँदा यसपटक आइतबारसम्मै चिसो हुने र त्यसपछि विस्तारै खुल्ने बताउँछन्। पश्चिमी वायु पाकिस्तान हुँदै भारतबाट नेपालमा जोडिन आएको हो। यो विस्तारै पूर्वउत्तर सरेर सकिने छ। शनिबार पश्चिमबाट सफा हुँदै आउने र पूर्वतर्फ बदली सर्नेछ। शनिबार पोखराबाट पूर्वसम्म बदली रहन्छ।

वायु दुई प्रकारको हुन्छ। पूर्वी र पश्चिमी। पूर्वी वायु बंगालको खाडीबाट आएको हुन्छ। त्यसले पानी बढी पार्छ। पश्चिमी वायु पाकिस्तानबाट भारत हुँदै नेपाल छिरेको वायु हो। यसपाली यस वायुमा जलवाष्पका कण न्यून रहेकाले वर्षा कम भएको हो। बढी जलवाष्प रहँदा वर्षा हुने गर्छ। जसले चिसो भित्र्याउँछ। हिमालमा हिउँ पर्नु पनि यही वायुको प्रभाव हो।

युरोपको प्रशान्त महासागरमा तातो बढेकाले पनि त्यहाँबाट आएको पश्चिमी वायुमा जलवाष्पका कण कम हुन गएको मौसमविद् इन्दिरा कँडेलले बताइन्। उनका अनुसार जति वायु त्यताबाट आयो त्यो पनि हावाको दिशा परिवर्तन हुँदा सबै नेपालमा आउन सकेन। जसका कारण नेपालको मौसम अन्य वर्षभन्दा न्यानो बन्न पुग्यो। यसकै कारण हिउँदमा हुनुपर्ने जति वर्षा नभएको हो।

गएको डिसेम्बर २४ मा काठमाडौंमा १ दशमलव २ डिग्री तामक्रम थियो। डिसेम्बर ३१ मा काठमाडौंमा त्यो भन्दा कम (यसवर्ष कै सबैभन्दा कम) न्युनतम तापक्रम  शुन्य दशमलव ८ डिग्री पुगेको थियो। विगतको इतिहास हेर्ने हो भने सन् १९७८ फेब्रुअरी ४ मा सबैभन्दा कम माइनस २ दशमलव ४ डिग्री तापक्रम पुगेको अभिलेख छ।

यसवर्ष जाडो मौसममा राम्ररी पानी परेको छैन। यो फ्रेब्रुअरी महिनामा दैनिक औषत वर्षा १८ दशमलव ७ मिलिमिटर हुनुपर्ने थियो। सन् २०११ को फेब्रुअरी १७ मा ३१ दशमलव ३ मिलिमिटरसम्म पानी परेको अभिलेख छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय