क्यान्सरबाट नेपालमा दैनिक ४५ जनाको मृत्यु, वर्षेनी थपिन्छन् २६ हजार बिरामी
नेपालमा हरेक दिन क्यान्सरले ४५ जनाको ज्यान लिने गरेको छ।
नेपालको कुल मृत्यु मध्ये ९ प्रतिशत क्यान्सरले ओकटेको छ।
अर्बुद रोग निवारण संस्थाको अनुसार नेपालमा बार्षिक २६ हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्।
प्रत्येक वर्ष ४ फ्रेबुअरीमा मनाइने विश्व क्यान्सर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइन्छ।
नेपाल सरकारले यस वर्षको क्यान्सर दिवसका लागि ‘म हुँ र म गर्छु’ नारा तय गरेको छ।
सूर्तीजन्य पदार्थले नेपालमा बार्षिक २७ हजारभन्दा बढी जनाको ज्यान जाने गरेको छ। क्यान्सरबाट हुने मृत्यु विभिन्न कारणले हुन्छ, तीमध्ये सूर्तीजन्य पदार्थको प्रयोगले मृत्यु हुने एक कारक तत्व हो।
आधा जसो क्यान्सर निको हुन सक्छ
३० देखि ५० प्रतिशतसम्म क्यान्सरहरु पन्छाउन सकिने खालका हुने क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन्। भन्ने नै हो भने, विश्वव्यापी रुपमै क्यान्सरको सबैभन्दा प्रमुख कारण सूर्तीजन्य पदार्थहरुको सेवन हुने गर्छ, जसलाई पन्छाउन वा रोक्न नसकिने होइन।
सबैभन्दा बढी लाग्ने क्यान्सर
अहिलेसम्म १०० भन्दा बढी क्यान्सरका प्रकारहरु पत्ता लागिसकेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, विश्वव्यापी रुपमा सबैभन्दा बढी क्यान्सरका कारण मृत्यु गराउने क्यान्सरको प्रमुख ५ प्रकारमा पुरुष र महिलाहरुमा फरक फरक छ ।
फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रारमलद्वार, आमाशय र कलेजोको क्यान्सर पुरुषमा लाग्ने क्यान्सरका प्रमुख रुपहरु हुने भने महिलाहरुमा चाहिँ स्तन, ठूलो आन्द्रारमलद्वार, फोक्सो, पाठेघरको मुख र थायरोइडको क्यान्सर मुख्य रुपमा लाग्ने क्यान्सरहरु हुन् ।
त्यसो त विकासोन्मुख देशहरुमा मृत्युको मुखमा महिलाहरुलाई धकेल्ने सबैभन्दा प्रमुख क्यान्सर चाहिँ पाठेघरको मुखको क्यान्सर छ।
क्यान्सरको कारण
सबैथरीका क्यान्सरमध्ये विश्वव्यापी रूपमा फोक्सोको क्यान्सरका बिरामीको संख्या बढ्दो छ । तर, नेपालमा भने पुरुषमा मुख र घाँटीको क्यान्सरका बिरामी बढेका छन् । त्यसपछि फोक्सो र पेटको क्यान्सरका बिरामी पाइएका छन् ।
मुख र घाँटीको क्यान्सरको कारण धूमपान, खैनी जस्ता सूर्तीजन्य पदार्थको सेवन गर्दा भएको छ। यस्ता व्यक्तिहरूले मद्यपान गरे क्यान्सर रोगको जोखिम झन बढ्ने बराल बताउँछन्।
सरकारले सूर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्ने नियम ल्याएपनि यस्ता पदार्थहरूको सेवनको दर वर्षेनि बढिरहेको नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव विमल होडा बताउँछन्।
महिलाहरूमा स्तन क्यान्सर भने वंशाणुगत, ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउनेमा बढी देखिएको पाइएको छ।
३० वर्षपछि विवाह गरेका महिलामा स्तन क्यान्सरको जोखिम बढी देखिएको चिकित्सकहरू बताउँछन्।
पाठेघरको क्यान्सरमा भने गरीबी, कम उमेरमा विवाह, धेरै सन्तान र सरसफाइमा ध्यान नदिनले हुने गर्छ।
यो क्यान्सर ह्युमन पापिलोमा भाइरसका कारण हुन्छ ।
असुरक्षित यौन सम्पर्क र धेरै सन्तान जन्माउँदा पाठेघरको मुखमा चोट लागेर यो भाइरसको संक्रमण बढेमा क्यान्सरको सम्भावना हुने डा. बराल बताउँछन्।