खोपले ल्याएको खुसी

हेलो– डाक्टर साप खोप कार्यक्रम कति बजेसम्म चल्छ?

हजुर! बेलुका साढे ३ बजेसम्म।

हेल्थपोस्ट नेपालको टोली शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताल पुग्दा  निर्देशक डा. सागर राजभण्डारीको फोन तारन्तर बजिरहेको थियो। उनले सबै फोन उठाउँदै त्यही उत्तर दिइरहेका थिए।

दीर्घराज बम डाक्टरसाप आइपुग्नुभएछ। उनले हामी तिर मुसुक्क हास्दै भने।

अस्पतालको आगनमा गाडिएको टेन्ट मुनी खोप लगाउने स्वास्थ्यकर्मीको भीडभाड थियो।

त्यही भिडमा खोपले कुनै असर नगर्नेभन्दै सबैको आत्मबल बढाइरहेका थिए डा. राजभण्डारी।

‘दशजना मध्ये एक जनालाई ज्वरो आउन सक्छ। यो खोप एकदमै सुरक्षित छ। तपाइहरूको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्ये कोही खोप लगाउनु डराइराख्नुभएको भए सम्झाउनुहोला’, उनी भन्दै थिए।

खोपले जगाएको उत्साहसँगै उनको अनुहारको चमक नै व्यग्लै थियो।

भनिरहेका थिए– म अस्पतालमा आएको आज ११ महिना एकदिन भयो। यो बिचमा म एक दिन पनि बिदा बसिन। सधै दिनरात नभनी काम गरियो। अहिलको अस्थामा आइपुग्दा निकै खुशी लागेको छ।

‘हिजो त हाम्रोमा एकजनामा नी कोरोना पोजेटिभ देखिएननी’, उनले मुसुक्क हास्दै भने।

एकै छिनमा गम्भीर भए। र, फेरी भने, ‘तर, देशमा भइरहेको अनावश्यक भीडभाड र आन्दोलनले भने चिन्ता लागिरहन्छ। कोरोनाको जोखिम पुरै समाप्त भएको होइन। घट्दो आवस्थामा मात्रै छ। युरोप तिर फैलिरहेको नयाँ भाइरस आयो भने अहिलेको भाइरसभन्दा सरुवा हुने जोखिम ६० प्रतिशत बढी छ। हाम्रो जस्तो गरिव मुलुकमा बर्वादै हुन्छ। त्यसैले सबै सावधान बनौं।’

उनी नेताहरूले आन्दोलनको स्वारुप फेर्नुपर्ने कुरा बताइरहेका थिए। एक वर्षसम्म कोरोनाले दिएको सास्तिलाई सम्झदै सबैलाई स्वास्थ्य सावधानी अपनाउन उनी सुझाव दिन्छन्।

डा. राजभण्डारी मात्र होइन। त्यहाँ खोप लगाउन आउने अन्य स्वास्थ्यकर्मीका अनुहार पनि हसिला थिए।

त्यही भीडमा नेपाल नेशनल अस्पतालकी अमिता गोपाली पनि थिइन्। खोप लगाएर टेन्ट मुनी आराम गरिरहेकी उनी निकै हसिली थिइन्।

‘कोरोना कालमा जोखिम मोलेरै उपचारमा खटियो। अहिले सरकारले स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर पोप प्रदान गरिरहेकोमा खुशी लागेको छ’, उनी भन्दैथिइन्, ‘अब सबै जनताले खोप लगाउनपाउने वातावरण बन्नुपर्छ।’

सुरुमा बिभिन्न अपवाहले मनमा डर थियो अब त्यो छैन।

उनीसँगै सोही अस्पतालका अन्य १३ जना नर्स पनि आएका थिए। सबैले पालैपालो खोप लगाए। खोप लगाउँदै कार्ड देखाएर सबैले फोटो खिचे। केही बेर आराम गरे। र, गए।

त्यसैगरी अर्को समूह आयो। उनीहरूले पनि पालैपालो खोप लगाए। केही बेर आराम गरे। र, गए। सबैमा एउटैखाले उत्साह र आसा देखिन्थ्यो।

मंगलबार मात्रै दिउसो दुई बजेसम्म १ सय ९५ जनाले खोप लगाइसको थिए।

त्यही भीडमा थिए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याब टेक्निसियन श्रीधर भट्ट। उनी पनि आफू कार्यरत अस्पतालको आगनमा खोप लगाउन पाउँदा दंग थिए।

कोरोना जोखिममा ल्याबमा खटिएर काम गरेका उनी अहिले अवस्था सहज बन्दै गएकोप्रति खुसी मात्रै होइन खोपले जगाएको आसाले उत्साहित देखिन्थे।

‘मैले खोप लगाएको तीन दिन भयो। सुरुमा हल्का दुखाइ भएको थियो। अहिले केही छैन’, उनी भन्छन्।

स्वास्थ्यकर्मीलाई खोप लगाउन व्यस्त थिए दमन नेगी। ‘हामीले पहिलै दिन कोरोना खोप लगायौं। केही असर गर्दैन। अहिलेसम्म हामीले खोप दिएका कुनै पनि स्वास्थ्यकर्मीलाई जटिल समस्या देखिएको छैन’, उनले भने।

यो अहिलेसम्मकै सुरक्षित खोप मध्ये एक भएको उनी बताउँछन्। पहिलेभन्दा अहिले स्वास्थकर्मीको आउनेक्रम बढेको उनको भनाइ छ।

‘सुरुमा खोपले कुनै असर गर्छकी भन्ने डर थियो। तर, अहिले त्यस्तो छैन। अब सबैले खोपलाई सहज रूपमा लिन थालेका छन्’, उनी भन्छन्।

खोप लगाइसकेपछि मानव शरीरभित्रको इम्युन सिस्टममा फैलिनेक्रममा केही रियाक्ट देखिने चिकित्सकहरूले बताएका छन्। त्यसबाट कही पनि आत्तिन नहुने उनीहरूको भनाई छ।

खोप लगाएका व्यक्तिमा ज्वरो आउनु र शरीर दुख्नु सामान्य लक्षण भएकाले आत्तिन नुहने निर्देशक राजभण्डारी बताउँछन्।

नेपालमा माघ १४ गतेदेखि भारतको सेरम् इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप दिइदैछ।

अहिले देशैभरका स्वास्थ्यकर्मीले यो खोप लगाइरहेका छन्। यो खोप दुई चरणमा लगाउनुपर्ने हुन्छ। अहिले पहिलो चरणअन्र्तगतको खोप अभियान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय