ज्ञानेन्द्र शाहीको टोलीले गर्यो डाक्टर र नर्समाथि हातपात
भेरी अस्पतालका चिकित्सकसहित नर्सिङ स्टाफमाथि हातपात भएको छ।
सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसँगै त्यहाँ पुगेका युवाहरूले फिजिसियन डा. विपिन आचार्य र केही नर्समाथि हातपात भएको अस्पतालका मेसु डा. प्रकास थापाले बताए।
शाहीको टोली अस्पतालमा बिरामीलाई सेवा-सुविधा कस्तो भइरहेको छ भनेर सोमबार ११ बजेतिर पुगेका थिए।
तर, केही बिरामीको गुनासोलाई लिएर शाहीसँग पुगेका अन्य साथीले अस्पतालका कर्मचारीमाथि जथाभावी बोलेको प्रशासनले जनाएको छ।
‘शाही सँगै आउनु भएका साथीले केही बिरामीको गुनासोलाई लिएर भनाभन गर्नुभएछ,’ डा. थापाले भने, ‘तर, ति युवालाई सम्झाउन खोज्दा डा.आचार्यको कठालो समातेर हातपात गरेछन्।’
‘अस्पतालमा कसैले दुस्ख पाएको छ। सेवा-सुविधा राम्रो हुनुपर्यो भनेर छलफल गर्नु राम्रो हो। तर, अस्पताल कर्मचारीमाथि हातपात गर्नु उचित हुँदैन नि,’ डा. थापाले भने।
त्यसबेला ज्ञानेन्द्र शाही अस्पतालका मेसु डा। प्रकाश थापाको कार्यकक्षमा बसेर अस्पतालको अवस्था र सुधारका विषयमा छलफल गरिरहेका थिए। तर, शाहीले भने आक्रमण गर्ने व्यक्ति आफ्नो समूहको नभएको दावी गरेका थिए।
‘ज्ञानेन्द्र शाहीले हातपात गर्ने मानिस आफ्नो टोलीको नभएको भन्नु भएको थियो। तर, पछि बुझ्दा हातपात गर्ने युवा उहाँसँगै आउनु भएको रहेछ,’ डा. थापाले हेल्थपोष्ट भने।
‘डा. आचार्य रातीको ड्युटी गर्नुभएको छ। एक्कासी हातपात गर्दा चिकित्सकको मनोबलमा घट्दै गएको छ,’ डा. थापाले भने।
हातपात गर्ने एक जनालाई जिल्ला प्रहरी बाँके पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।