अधिक नुन सेवनले नेपालीको स्वास्थ्य जोखिममा

नेपालीले दैनिक मापदण्डभन्दा दोब्बर नुनको प्रयोग गरिरहेको पाइएको छ। स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गनुपर्छ। तर, नेपालीले मापदण्डको दोब्बरसम्म नुनको प्रयोग गरिरहेको पाइएको छ।

नेपालीहरूले प्रतिदिन औसतमा ९.१ ग्राम नुन प्रयोग गर्दै आएको पाइएको पोषण शाखाका प्रमुख केदार पराजुलीले बताए।

‘यसरी अधिक नुन खानाले एर्कातर्फ नसर्ने रोगको जोखिम बढिरहेको हुन्छ,’ पराजुलीले भने, ‘मापदण्डअनुसार आयोडिन नुनको प्रयोग गर्न सकेमात्र स्वास्थ्यलाई फाइदा पुग्छ।’

यस्तै नेपालमा अझै पनि ढिके नुनको प्रयोग हुने अध्ययनले देखाएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार अझै पनि ६६ लाख मानिसले ढिके नुनको प्रयोग गर्दै आएका छन्।

बजारमा पाइने ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा असर गर्ने गरेको छ। तर, ग्रामिण भेगका मानिसले सस्तो रूपमा पाइने भएकाले यसको प्रयोग छोडेका छैनन्।

विभागले ढिके नुनको आयात बन्द गर्नेका लागि साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्रचार गरेको थियो।

तर, मानिसहरूको अत्याधिक मागले गर्दा अझै ढिके नुनको आयातमा प्रतिबन्ध गर्न सकिएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२१ मा आयोडिनको कमीले हुने विकृती बारे जनचेतना फैलाउन ‘नुन थोरै खाऔं। तर, सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिन्ह अंकित पाकेटको नुन मात्र खाऔं’ नाराका साथ देशव्यापी रूपमा फ्रेबुअरी महिनामा सचेतना फैलाउने जनाएको छ।

यो महिनाभरी आयोडिनको महत्वबारे विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउने विभागले जनाएको छ।

आयोडिन मानिसलाई दैनिक रूपमा थोरै मात्रमा चाहिने तर नभइ नहुने पोषक तत्व हो।

‘सुक्ष्म पोषक तत्व मानिसको शरीरमा थाइरोडइ हर्मोनहरू उत्पादन गर्न चाहिन्छ। जसको मुख्य काम मानिसले खाएको खानालाई शरीरमा अपशोषण गर्ने मेटावेलिक प्रणालीमा सहयोग गरी शरीरलाई शक्ति प्रदान गर्छ,’ पराजुलीले भने।

आयोडिनको कमीले गर्दा गलगाँड, शारीरिक र मानसिक रूपले लाटो र लठ्यौरोपनका जस्ता समस्या देखिने गर्छन्।

‘आयोडिनको कमीले गर्दा सन् १९९० को दशकमा बालबालिमा शारीरिक तथा मानसिक रूपले कमजोर भएको पाइइएको थियो,’ पराजुलीले भने, ‘तर, अहिले आयोडिनको प्रयोगले गर्दा मानिसमा यस्तो समस्या हट्दै गएको छ।’

आयोडिनको कमीले गर्दा गर्भवती आमा गर्भ रहेको बच्चा तुहिने र उनीहरूबाट जन्मिएका बालबालिकाको दिमाग पूर्ण रूपले विकास भएको हुँदैन।

नुन बढी खानु घातक

– अधिक मात्रामा नुन सेवन गर्नाले मुटुरोग लाग्ने तथा मस्तिष्कमा असर गर्ने हुन्छ।
– अत्यधिक नुन सेवनले शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुनसक्छ।
– खासगरी नुनको अत्यधिक सेवन गर्नाले मिर्गौलामा क्याल्सियमको मात्रा बढ्छ। यसले पत्थरीको समस्या निम्त्याउने खतरा हुन्छ।
– नुनको अधिक सेवनले शरीरमा नुनको मात्रा बढ्छ। जसले शरीरमा पानी जम्ने समस्या उत्पन्न हुन्छ। यस्तो अवस्थामा हात, खुट्टा, अनुहार सुन्निने हुन्छ।
– अधिक नुनको प्रयोग पक्षाघात ९स्ट्रोक० र हृदयाघातको कारण बन्ने सम्भावना हुन्छ।
– प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ।
– जसले दैनिक ७ दशमलव ३ ग्राम नुनको सेवन गर्छ, उसलाई टाइप २ मधुमेहको खतरा बढी हुन्छ। एक अनुसन्धानका अनुसार नुनमा रहेको सोडियमले इन्सुलिन प्रतिरोधमा सोझो असर गर्छ। यसले गर्दा टाइप २ मधुमेह हुने खतरा अधिक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय