नेपालमा देखिएको बर्डफ्लुको जोखिम कति? कसरी अपनाउने सावधानी?

हेल्थपोस्ट नेपाल

चिकित्सकहरुले काठमाडौंमा बडर्फ्लु देखिएपछि सतर्कताका लागि सबैमा अनुरोध गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्का स्थानीय किसानले पालेको टर्की तथा हाँसमा संक्रमण देखिएको हो।

केही दिन अगाडि भारतमा देखिएको बर्ड्फ्लु रोग नेपालमा पनि देखिए पछि भारतबाट रोग सार्न सक्ने सबै बस्तुको आयातमा रोक लगाइएको छ।

रोग देखिएको क्षेत्रबाट अन्यत्र संक्रमण नफैलियोस भन्नका लागि सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्नसक्ने अन्य बस्तु नष्ट गरिसकिएको पशुसेवा विभागले जनाएको छ।

विभागका अनुसार १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ। साथै
पशुसेवा विभागका सूचना अधकिारी डा. चन्द्र अधिकारी बर्डफ्लु भित्रिएसँगै देशैभरी सुरक्षाव्यवस्था कडा पारिएको बताउँछन्।

देशैभरका विभिन्न स्थानबाट नमुना संकलन गरेर परीक्षण गर्ने काम भइरहेको उनको भनाई छ। ‘तारकेश्वरमा केही नमुनामा बर्डफ्लु देखिँदा विभागको समन्वयमा स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, स्थानीय तह समन्वय गरेर पशुविज्ञको निगरानीमा डिजिजलाई नियन्त्रणमा लिइसकेका छौं। पन्छी, पन्छीजन्य पदार्थ तथा संक्रमण फैलाउन सक्ने सबै पदार्थलाई प्रोटोकल अनुसार नै नष्ट गरिसेका छौं’, उनले भने।

संक्रमण फैलिएको क्षेत्र वरपर जोखिम हुनसक्ने भएकाले विभागबाट तत्काल परिचालन गर्नका लागि एउटा विज्ञ टोली गठन गरेर उक्त क्षेत्रमा परिचालित गरिएको उनले बताए। नियमित नमुना ल्याएर परीक्षण जारी रहेको उनको भनाइ छ।

देशका कुनै क्षेत्रमा बर्डफ्लुका लक्षण देखिए विभागमा तत्काल खबर गर्न उनी आग्रह गर्छन्।

‘पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्न हामीले आग्रह गरिरहेका छौं’, उनले भने, ‘फार्ममा पनि सबैले जैविक विधि अबलम्बन गर्नुहोला।’

के हो बर्डफ्लु?

बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो। यो पन्छी प्रजातिमा लाग्छ। बर्डफ्लु कुखुरा, हाँस, टर्कीलगायत जंगली चराचुरुङ्गी जस्ता पन्छीमा लाग्ने सरुवा रोग हो।

अहिले नेपालमा देखिएको बर्डफ्लु भाइरस एच५एच८ हो। विगतमा नेपालमा हाइली प्याथोलोनिक एभियन इन्फ्लुएन्जा अर्थात एच५एच१ देखिएको थियो।

एच५एच८ सँगै एच५एच१ पनि देखिन सक्ने भएकाले विशेष स्वाथ्य सावधानी अपनाउन सरुवारोग विषेशज्ञहरूको सुझाव छ।

सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुन किसानको फार्मदेखि उपभोक्ताको भान्सासम्मै जोखिम हुने भएकाले सबैले सावधानी अपनाउनुपर्ने बताउँछन्।

यो रोगले कुखुरा तथा पन्छीहरूमा विभिन्न समस्या निम्त्याउँछ। बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, ¥याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्ने उनी बताउँछन्।

कुखुराको मासु ७२ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा पकाए भाइरस नष्ट हुने भएकाले राम्रोसँग पकाएर मात्रै खान उनको सुझाव छ।

बढी जोखिममा को?

डा. पुन बर्डफ्लुको बढी जोखिममा किसान भएको बताउँछन्। उनीहरूको पन्छीसँग सिधा सम्पर्क हुनेभएकाले किसान बढी जोखिममा हुन्छन्।
पशुसेवा विभागले जैविक सुरक्षा निर्देशिका जारी गरेको छ। डा. पुन सबै किसानलाई सोही निर्देशिकाको पालना गर्न सुझाव दिन्छन्।

फार्ममा जाँदा हातखुट्टा सरसफाइ गरेर सुरक्षा कवज लगाएर मात्र जान आग्रह गर्छन्। काम सकिसकेपछि फेरी बाहिर निस्किएर फेरी राम्रोसँग सरसफाइ गर्नुपर्ने सुझाव छ ।

‘पन्छीजन्य पदार्थको सवारीसाधन ओसारपसार गर्नेहरू जोखिममा हुने भएकाले उनीहरूले पनि सुरक्षाको सावधानी अपनाउनुपर्छ। बिक्रेताहरूले पनि माक्स र सेनिटाइजर प्रयोग गर्नुपर्छ’, उनी भन्छन्। कुखुराले हाछ्युगर्दा मानिसको नाक, आँखा, मुखमा छिटा पर्ने भएकाले संक्रमण मानिसमा सर्ने जोखिम हुने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।

बधशालामा काम गर्नेदेखि उपभोक्ता पनि बर्डफ्लुको उच्च खोखिममा रहेको उनी बताउँछन्। त्यसैले फार्मदेखि उपभोक्तासम्मले यसको जोखिमबाट ध्यान दिनुपर्ने उनी बताउँछन्।

कसरी सावधानी अपनाउने?

यस्ता छन् डा. पुनका सुझाव

– कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने।
– माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने।
– बेच्न बसेका व्यक्तिहरुले पनि मास्क र पन्जा अनिवार्य लगाउने।
– अन्डा उमाल्दा हाफ बोइल नगर्ने, राम्रोसँग बोइल भएपछि मात्रै खाने।
– केही गरी पन्छीजन्य प्राणि मर्नथाले नजिकैको पशुस्वास्थ्य कार्यालयमा सम्पर्क गर्ने।
– बिरामी पन्छी र मरेको पक्षीलाई नछुने।
– मजाले पाकेको मासु मात्रै खाने। सकभर कुकरमा सिटी लगाएको मासु खाने।

पन्छीको मासु खानेकी नखाने?

डा. पुन राम्रोसँग पकाएको मासुले केही जोखिम नपार्ने बताउँछन्। उनी सबैलाई मजाले पकाएर मासु खान सुझाव दिन्छन्।
अहिले नेपालमा देखिएको भाइरस एच५एन८ हो। भाइरसको स्वरुप परिवर्तन भइराख्छ। त्यसैले कतै मानिसमा संक्रमण हुने त होइन भनेर त्रास फैलिएको उनी बताउँछन्।

‘एच५एन१ ले २०१९ मा एकजनाको ज्यान गएको थियो। त्यसैले त्यो भाइरस पनि सँगसँगै भए विशेष सतर्कता अपनाउनुपर्छ’, उनी भन्छन्, ‘एकजनाको पहिले नै ज्यान गइसकेकाले सावधानी अपनाउनुपर्छ। तर, मजाले खानुपर्छ।’

मानिसमा संक्रमण भइसकेपछि यो भाइरस उच्च घातक हुने उनी बताउँछन्। विश्व स्वास्थ्य संगठनका अनुसार ६० प्रतिशत यसको मृत्युदर छ।

खोरमा काम गर्ने मानिस जोखिममा हुने भएकाले मानिसको परीक्षणको व्यवस्था गरिनुपर्ने डा. पुनको धारणा छ। कोरोना जाँच्नका लागि प्रयोग भएकै प्रयोगशाबाटै यसको पनि परीक्षण गर्न सकिने भएकाले त्यसको व्यवस्था सरकारले मिलाउनुपर्ने उनी बताउँछन्।

मासुलाई पाक पु¥याएर पकाएर खाए र सबैले सावधानी अपनाए यसबाट आत्तिनै हाल्नु पर्ने अवस्था नहुने उनी बताउँछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *