कोरोना खोपमाथि धनी राष्ट्रले देखाएको ‘घृणित दादागिरी’

गत सेप्टेम्बरमा संयुक्त्त राष्ट्रसंघको एउटा महासभा विश्वका सबैजसो नेतृत्वका लागि एउटा महत्वपूर्ण मञ्च थियो। जहाँ कोरोना भाइरसको महामारीसँग कसरी जुध्ने भनेर विश्व नेतृत्वले छलफल गरेका थिए। त्यो यो भाइरसका कारण दश लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको थियो।

त्यो बेला धेरैजसो धनी देशहरूले स्वास्थ्य सुरक्षाका उपकरणहरू पनि आफूले मात्रै कब्जा गरेर राखेका थिए। जबकि कयौं गरिब देशमा सुरक्षा उपकरणहरूको अभावमा स्वास्थ्यकर्मीहरू ज्यानकै जोखिम मोलन तयार थिए। र त्यो महासभामा एउटा प्रतिवद्धता गरिएको थियो– अब यी सुरक्षा उपकरणमा पनि सबैको पहुँच हुनुपर्छ। कसैसँग धेरै थुप्रिरहने र कसैले पाउँदै नपाउने अवस्था रहनुहुन्न।’

तर जब कोरोनाको भ्याक्सिन प्रयोगमा आउने तयारी हुँदै थियो त्यो प्रतिवद्धता सबैले भुलिदिए र धनी राष्ट्रहरू भ्याक्सिनका डोज कब्जा गर्नतिर लागे।

अहिले विश्वका धेरै देशमा भ्याक्सिन लगाउन सुरु भइसकेको छ। अमेरिकामा फाइजर र मोडेर्नाको खोप लगाउन सुरु

भइसकेको छ। युरोपियन देशहरूमा एस्ट्राजेनेकाको खोप लगाउन सुरु भएको छ। छिमेकी भारतले पनि दुई खोप प्रयोगका लागि अनुमति दिइसकेको छ र त्यसको प्रयोग पनि सुरु भइसकेको छ। भारतले अनुदानमा दिएको दश लाख डोज खोप नेपालमा पनि लगाउन सुरु भइसकेको छ।

भारतले पाकिस्तानबाहेक आफ्ना छिमेकी देशहरूलाई उपहार स्वरुप खोप दिएको थियो। पाकिस्तानले भने चीनले उपलब्ध गराएको भ्याक्सिन लगाउँदैछ। चीनका खोपहरू पनि विश्वका धेरै देशमा लगाउन सुरु भइसकेको छ।

कोरोनाविरुद्धको लडाइँमा यी भ्याक्सिनहरू महत्वपूर्ण आशाका किरण मानिएका छन्। यो लडाइँ जित्नका लागि। तर पछिल्लो समय भ्याक्सिन पाउने लडाइँ पनि निकै खतरनाक भएर देखिएको छ।

भारत तथा चीनजस्ता देशले ‘भ्याक्सिन कुटनीति’ अपनाइरहेका छन् भने युरोपेली तथा अमेरिकी राष्ट्रहरूले भ्याक्सिनमा ‘दादागिरी’ देखाउन थालेका छन्।

खासगरी एस्ट्राजेनेका, फाइजर, मोडेर्नाजस्ता ठूला औषधी उत्पादक कम्पनीहरूसँग धनी राष्ट्रहरूले पहिला नै अर्बौं डोज भ्याक्सिन ‘बुक’ गरिसकेका थिए।

विश्वका गरिब देशहरूमा समेत भ्याक्सिनको समान पहुँच स्थापित गर्नका लागि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी भ्याक्सिनको सन्जाल ‘कोभ्याक्स’ पनि बनाएको छ। उसले बारम्बार यो कोषमा भ्याक्सिन अनुदान दिन आग्रह गरिरहेको छ तर विश्वका धनी राष्ट्रहरूले भने ‘पहिला आफ्ना नागरिकलाई लगाइसकेरमात्रै भ्याक्सिन अरु देशलाई दिने’ नीति अपनाउन थालेका छन्।

यसको पछिल्लो उदाहरण हो अहिले युरोपियन युनियन(ईयु) को निर्यात प्रतिवन्ध। ईयुले सुरुमा आफ्ना २७ सदस्य राष्ट्रहरूका नागरिकलाई खोप पुर्‌याएरमात्रै बाहिर निर्यात गर्नका लागि खोप उत्पादक कम्पनीमाथि निर्यात प्रतिवन्धको घोषणा गरेको छ।

ईयुका सबै देशमा खोप पुर्‌याउने अलि बढी जिम्मेवारी एस्ट्राजेनेकालाई छ। बेलायतमा मुख्यालय भएको यो कम्पनीले अरु देशसँग सहकार्य गरेर पनि खोप उत्पादन गरिरहेको छ। भारतको सेरम इस्न्टिच्युटले पनि एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको खोप हो ‘कोभिसिल्ड’। यही खोप भारतमा र नेपालमा पनि लगाउन सुरु भइसकेको छ।

ईयुमा आवद्ध राष्ट्रहरूलाई खोप नपुर्‌याएरै अरु देशमा आपूर्ति गर्न थालेको भन्दै अहिले यो कम्पनी विवादमा तानिएको छ। बेलायतमा मुख्यालय भएका कारण अहिले ईयु र बेलायतबीच पनि वाकयुद्ध चलिरहेको छ। वर्षौं अघि देखि नै बेलायत ईयुबाट छुट्टिने अन्तिम प्रक्रियामा छ।

ईयुको प्रतिवन्धबाट बेलायत आफै पनि प्रभावित हुनेछ। त्यस्तै अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विश्वका करिब १०० देश उसको यो निर्णयबाट प्रभावित हुनेछन्। किनकि यी देशहरूले सुरुमै करोडौं डोज भ्याक्सिन एस्ट्राजेनेकासँग किन्ने सम्झौता गरिसकेका थिए।

अहिले आएर ईयुले आफ्ना नागरिकलाई नपुगी बाहिर निर्यात गर्न नपाइने निर्णय गरेपछि खोप कम्पनी आफैं विवादमा तानिएको छ।

‘हाम्रा नागरिकको सुरक्षा र संरक्षण नै हाम्रो पहिलो प्रामिकता हो। अहिले बढ्दै गइरहेको थप चुनौतीका कारण हामीसँग अर्को कुनै विकल्प छैन’ संघले भनेको छ। युरोपका कतिपय देशमा कारोना भाइरसको नयाँ प्रकारले थप चुनौती खडा गरिदिएको छ। कतिपय देश अहिले पनि ‘लकडाउन’ गर्न बाध्य भइरहेका छन्। त्यसैले यो खोप सबैका लागि निकै आशापूर्ण भएको छ।

ईयुका सदस्य राष्ट्रहरूले खोप वितरण निकै सुस्त गतिमा भएको भन्दै निरन्तर आलोचना गर्दै आइरहेका छन् तर, एस्ट्राजेनेकाले भने खोप बाहिर राष्ट्रमा पनि निर्यात गर्न थालेपछि ईयुले यस्तो कडा कमद चालेको हो।

एस्ट्राजेनेले सम्झौताअनुसार युरोपेली राष्ट्रहरूमा खोप पुर्‌याउन नसकेको भन्दै ईयुले दबाव दिइरहेको थियो। यसलाई थप प्रमाणित गर्नका लागि ईयुले एस्ट्राजेनेकासँग गरेको एउटा गोप्य सम्झौता नै सार्वजनिक गरिदिएको छ। त्यसपछि विवाद अझ लम्बिएको छ।

यो सम्झौताअनुसार अब खोप उत्पादक कम्पनीले बाहिर देशलाई खोप दिनका लागि ईयुसँग अनुमति लिनुपर्नेछ। उसलाई त्यो अनुमति दिने या नदिने भन्ने निर्णयको अन्तिम अधिकार भने ईयुसँगै हुनेछ।

अहिले फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप बेलायतमा निर्यात भइरहेको छ। ईयुले यो कम्पनीसँग पनि सम्झौता गरेको छ र भनेको जति खोप पुर्‌याउन नसकेको भन्दै अहिले योसँग विवाद भइरहेको छ।

गत शुक्रबार ईयुकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले पत्रकार सम्मेलन गरेकी थिइन्। ईयुले खोप निर्यात प्रतिवन्ध लगाएको बारे जानकारी दिनका लागि भएको त्यो पत्रकार सम्मेलनमा उनले सबैभन्दा पहिला आफ्ना नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चत गरिने बताइन्। त्यसका लागि ईयु कुनै पनि हदसम्म जानसक्ने उनको भनाई थियो।

 ईयुकी स्वास्थ्य आयुक्त्त स्टेला किरियाकिअस

‘सबैले आआफ्ना प्रतिवद्धताहरू जिम्मेवार भएर पूरा गर्नुपर्छ। खोप किन्नेबारे गरिएका अग्रिम सम्झौताहरूको सम्मान हुनुपर्छ र ती पूरा पनि हुनुपर्छ। सम्झौताहरू बाध्यकारी हुन्छन्’ उनले भनिन् ‘पहिला ईयुका नागरिकलाई खोप नपुर्‌याएरै बाहिर निर्यात भइरहेका छ भन्ने थाहा पाउनका लागि हामीसँग संयन्त्र छ। बाहिर देशमा निर्यात गर्नका लागि अनुमति दिने कि नदिने भन्ने अधिकार ईयुसँगमात्रै छ।’

(विभिन्न समाचार एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएको सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय