कोरोना खोपका ‘साइड इफेक्ट’ बारे विज्ञहरू के भन्छन्?

नेपालमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन थालिएको तीनदिन भएको छ। खोप लगाएका कतिपय स्वास्थ्यकर्मीमा ‘साइड इफेक्ट’ देखिएको समाचार आइरहेका छन्।

दोलखा र कर्णालीमा खोपले बढी असर गरेको पाइएको हो। बुधबार १ सय ५५ स्वास्थ्यकर्मीले खोप लगाएकोमा ५५ जनामा स्वास्थ्य समस्या देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

कर्णालीमा पनि एकजनामा गम्भीर समस्या देखिनुका साथै अन्य २६ जनामा सामान्य समस्या देखिएको छ।

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाका अनुसार पहिलो दिन खोप लगाएका २९ स्वास्थ्यकर्मी मध्ये २३ जनामा कुनै न कुनै लक्षण देखिएका छन्। उनले ती लक्षण स्वभाविक भएको बताए।

‘कोरोना खोप लगाएको बेलुका मेरो पाखुरामा पनि सामान्य दुखाइ भएको थियो’, उनी भन्छन्, ‘खोप लगाएको ६-७ घन्टापछि साथिहरूमा केही न केही सामान्य असर देखिएको छ। त्यो स्वभाविक हो। अलि टाउको दुख्ने, चिलाउने, खोप लगाएको ठाउँमा रातो हुने र बान्ता हुनेलगायत लक्षण देखिएका छन्।’ उनी यो खोप लगाइसकेपछि हुने स्वभाविक प्रक्रिया भएकाले सबैलाई नआत्तिएर खोप लगाउन सुझाव दिन्छन्।

उनले खोप लगाएका ६ जनामा एउटा मात्र लक्षण, ६ जनामा दुई, तीनजनामा तीन, एकजनामा चार, दुईजनामा पाँच, चारजनामा ६ र एकजनामा आठ वटासम्म लक्षण देखिएको बताए। खोप लगाएका आइसियु वार्ड, इमर्जेन्सीमा काम गर्ने २९ जनासँगको सोध्दा यो तथ्य पाइएको उनको भनाइ छ।

तर, यस्ता लक्षण कुनै उपचारबिना र सामान्य औषधिको‌ प्रयोगले नै ठिक भएको उनी बताउँछन्।

भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे खोपबाट सामान्य साइड इफेक्ट देखिए पनि त्यस्तो जटिल खाले असर नदेखिएकाले नआत्तिन सुझाव दिन्छन्। १५-२० प्रतिशतमा खोप परीक्षणको क्रममा सामान्य ज्वरो आएको पाइए पनि अहिलेसम्म खोपले कुनै अप्रिय घटना घटेको खबर नआएको उनको भनाइ छ।

‘खोप लगाउँदा सामान्य कोरोनाको लक्षण देखिन सक्छ। त्यो शरीरमा एन्टिबडि बन्ने हो। एन्टजेन दिँदा एन्डिबडि बन्दा त्यस्ता खाले लक्षण देखिन्छ। त्यसैले मलाई खोपले असर गरिहाल्योकी भनेर आत्तिनु हुँदैन। खोप सुरक्षित नै छ। म सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्छु’, उनी भन्छन्।

One thought on “कोरोना खोपका ‘साइड इफेक्ट’ बारे विज्ञहरू के भन्छन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय