कोरोना खोपका दुवै डोज किन आवश्यक छ?

नेपालमा कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) लगाउन सुरू गरिसकिएको छ।

पहिलो दिन (बुधबार) ९ हजार भन्दा बढीले यो खोप लगाएका छन्।

सरकारले पहिलो चरणमा अग्रपंतिमा खटिएका ४ लाख ३० हजारलाई खोप दिने योजना बनाएको छ।

खोपको पहिलो डोज १० दिनमा लगाइसक्ने तयारी छ। त्यसको एक महिनापछि अर्काे डोज खोप लगाउनुपर्छ।

के एक डोज खोपले संक्रमण हुनबाट जोगाउँछ?

सामान्यतः कुनै पनि भाइरसविरुद्ध पूर्ण रूपमा काम गर्न खोपका आवश्यक सबै डोज लगाउनैपर्छ।

पूर्ण रूपमा संक्रमणबाट बच्नको लागि भ्याक्सिनको एक डोजले मात्रै काम नगर्ने भाइरोलोजिष्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डे बताउँछन्।

‘कोरोनाको संक्रमणबाट बच्नको लागि दुई डोज अनिवार्य लगाउनुपर्ने हुन्छ,’ डा. पाण्डे भन्छन्, ‘खोप पूर्ण रूपमा प्राप्त नगरेका व्यक्तिमा पुनः संक्रमण हुने जोखिम रहन्छ।’

भ्याक्सिन आधा डोज मात्रै दिँदा शरीरमा इम्युनिटीले पर्याप्त रूपमा काम नगर्ने उनको भनाई छ।

के पहिलो डोज र दोस्रो डोजले गर्ने कामको भिन्नता छ?

कोरोना खोपका दुई डोजले फरक—फरक काम गर्दछन्।

डा. पाण्डेका अनुसार पहिलो डोजले थोरै मात्रामा एन्टीबडी बनाउन मद्दत गर्दछ।

‘पहिलो खोप लगाउँदा केही समयसम्म मात्रै एन्टीबडी रहन्छ। त्यो बिस्तारै घट्दै जान्छ,’ डा. पाण्डेले भने, ‘एन्टीबडी बढाउनको लागि दोस्रो डोज खोप अनिवार्य लगाउनुपर्छ।’

शरीरमा भ्याक्सिन लगाइसकेपछि प्रतिरक्षा प्रणालीले महत्वपूर्ण दुईवटा सेता रक्तकोष सक्रिय हुने डा. पाण्डे बताउँछन्।

‘भ्याक्सिन लगाएपछि शरीरमा प्लाज्मा बी सेल र प्लाज्मा टी सेल सक्रिय हुन्छन्, उलने भने, ‘प्लाज्मा बी सेलहरू शरीरमा एन्टिबडी बनाउनमा केन्द्रित हुन्छन। तर, बी सेल शरीरमा एकदमै छोटो समय मात्रै रहन्छन।’

दोस्रो डोज दिँदा केही समय बी सेलले काम गरे पनि केही हप्तामै गिरावट आउने हुन्छ।

यस्तै, टी सेलले भाइरस पहिचान गर्ने र मार्ने काम गर्छ। टी सेल भने शरीरमा लामो समयसम्म रहिरहने उनको भनाई छ।

अर्थात्, एकपटक भ्याक्सिन लगाइसकेपछि भ्याक्सिनले जीवनभरि पनि काम गर्नसक्छ। खोपको एउटा डोज भाइरसविरुद्ध लड्न पर्याप्त नहुने डा. पाण्डे बताउँछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय