हत्याअघि मदिरामा निन्द्राको गोली, ६ अभियुक्त पक्राउ

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ माघ १४ गते १९:५१

 

रुपन्देही प्रहरीले मर्चवारमा आगो लगाई हत्या भएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै हत्या गरिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये आरोपित ६ जना योजनाकार र परिवारका सदस्यलाई पक्राउ गरेको हो। दुईजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

राजेन्द्र यादवलाई उनकै भाई, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए।

एक हप्ताअघि भएको घटनामा हत्याका आरोपि तथा मुख्य योजनाकार सियारी(२ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार मृतकका भाई विरेन्द्र यादव, काकाका सम्धी सन्त कुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए।

अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन्। गाउँबाट टाढा एकान्त ठाउँमा योजनाबद्ध रूपमा घटना भएको अनुसन्धानबाट खुलेको छ।

मृतकका काकाले मान्छे मार्ने मध्यस्तकर्तालाई २५ लाख वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ।

घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगेको प्रहरीको भनाइ छ।

५ गते मृतक र उनका भाई बिहानैदेखि मदिरा सेवन गरेर भारतको नौतनवासम्म पुगेका थिए। सो पश्चात सन्तकुमार र सोनु मुराउ मोटरसाइकलमै नौतनवा पुगी पुनः मदिरा सेवन गरेका थिए। सोनु मुराउले ५० भारुको पाइप र १०० भारुको निद्रा लाग्ने औषधी, लाइटर किनेर चारै जना नेपाल फर्केका थिए।

नेपाल आएपछि जितेन्द्रको भट्टीमा पुनः मदिरा सेवन गर्ने बेला भाइले मदिरामा निद्रा लाग्ने औषधी मिसाएर खुवाएपछि उनी अर्धचेत भए।

सोही स्थानमा अफताव र राकेशलाई सन्तकुमार यादवले मोटसाइकलसहित बोलाएर प्लाष्टिकको बोतलमा पेटेल निकालेर एउटा मोटसाइकलमा राकेश अफताव र विरेन्द्र तथा अर्को मोटरसाइकलमा सन्तकुमार राजेन्द्र र सोनु मुराउ घटनास्थलतर्फ लागेका थिए।

बेहोश रहेका राजेन्द्र यादवलाई मोटरसाइकलबाट झारी नौतनवामा किनेको हरियो सेतो पाइपले सन्त, सोनु र विरेन्द्र तीनैजना मिलेर घाँटी कसेर छातीमा खुट्टाले थिचेका थिए।

मृतकले लगाएको घडी, बोकेको मोबाइल सोनु मुराउले लगेको केही समयपछि बाँकी तीनैजना घटनास्थलबाट एउटै मोटसाइकलमा चढी फर्केको प्रहरीले जनाएको छ। आरोपितहरू नियन्त्रणमा रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय