पहिलो दिन देशभर ९०८४ जनाले लगाए कोरोना विरुद्धको खोप, कसैलाई पनि समस्या देखिएन

हेल्थपोस्ट नेपाल
कोभिड १९ विरुद्धको खोप अभियानको पहिलो दिन ९ हजार बढीले खोप लगाएका छन्।

६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमती प्रदेशमा २ हजार ६ सय ९४ जनाले खोप लगाएका छन्। त्यसैगरी, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन्।

तर, खोप लगाएको मध्ये हालसम्म कसैलाई कुनै समस्या नआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

खोप अभियानमा सक्रिय सहभागिता जनाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।

सरकारले देशभरका ३ सयभन्दा बढी खोप केन्द्रबाट ४ लाख ३० हजार फन्टलाइनरलाई खोप दिने योजना बनाएको छ।

पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतका फन्टलाइरनमा खटिएका हरुलाई १० दिनभित्र खोप दिने मन्त्रालयले जनाएको छ।

बुधबार उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल , वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पाटन जस्ता मुख्य अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले खोपको स्थलगत अनुगमन समेत गरेका थिए।

कोभिड १९ विरुद्धको खोप लगाउने पहिलो नेपाली व्यक्ति टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बनेका छन्।

 

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *