कोरोना खोप लगाएपछि ८० वर्षे ‘चिकित्सा योद्धा’ ले भने– धेरै बाँच्न मन छ, धेरै काम गर्नुछ

बुधबारको बिहानीले नयाँ आशाको किरण छर्दै थियो।

धपक्क अनुहार लिएर उत्साहमा फार्रफुर्र गर्दै थिए, टेकु अस्पतालका डाक्टरहरू।

नेपालमा कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियानका लागि साइत जुरेको टेकु अस्पताल।

जस्तोसुकै सरुवा रोगविरुद्धको लडाईंमा एक्लै डटेको टेकु अस्पतालले कोरोना महामारीका पालामा चाहिँ हरेक नेपालीको जीब्रोमा झुण्डिने मौका पायो।

यसको महत्व राज्यका नीतिनिर्माता मात्र नभएर हरेक तप्काका जनताले वोध गरे।

एक वर्ष संसारलाई आलस तालस खेलाउँदै चिकित्साविज्ञानलाई चुनौती दिएको कोरोना भाइरसविरुद्धको खोप टेकु अस्पतालमै लगाइन थालिनु स्वाभाविक थियो।

खोप अभियानको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली नै अघि सरे।

उद्घाटन लगत्तै अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले खोप लगाए।

डा. राजभण्डारीपछि कोरोना फ्रन्टलाइन हिरो डा. अनुप बाँस्तोलाले खोप लगाए।

खोप लगाउने आतुरीमा एक वृद्ध चिकित्सक पनि देखिंदै थिए।

८० वर्षीय रेडियोलोजिष्ट डा. नेत्रबहादुर अमात्य ।

नियमित सरकारी सेवाबाट अवकाश पाएर लगातार करारमा काम गर्दै आएका उनी खोपका लागि झनै हकदार थिए।

सन्चारकर्मीले उनीसँग कुरा गर्न आँखा नचाउने नै भए।

तर उनी अलि बेर पनि आराम नगरी अस्पताल प्राङ्गणबाट हराए। हेल्थपोष्ट नेपालले खोजी गर्दै जाँदा उनी त विरामी सेवामा लागिसकेका रहेछन्।

हँसिलो अनुहार, प्रष्ट बोली,अझै गठिलो शरीर।

डा. अमात्यको कार्यशैली र जोशले ८० वर्षको वुढ्यौलीलाई माथ खुवाएको देखिन्थ्यो।

खोप लगाइसकेपछि झन् फुरुङ्ग !

‘कोरोनाबाट जोगिनको लागि खोप अनिर्वाय छ। मलाई बाँच्ने ठुलो इच्छा छ,’ उनले प्रश्न झर्न नपाउँदै भने।

‘विश्वले नैं हार मानेको कोरोनालाई हराउनको लागि खोप आएको छ। यसलाई ठूलो उपलब्धि मान्नुपर्छ,’ उनले थपे, ‘खोपको त्रासभन्दा पनि कोरोनाको त्रास ठुलो छ। त्यसकारण खोप लगाउन जरूरी छ।’

कोरोना महामारीकै कारण डा. अमात्यका धेरै सहकर्मीले ज्यान गुमाए।

‘जन्मिएपछि मृत्यु अवश्यम्भावी छ। तर केही हुन्न भनेर खोप नलगाउनू मुर्खता हो,’ उनी भन्छन्।

‘यो खोप अन्य खोप जस्तै हो। अलि प्रोटिन धेरै भएकाले कसैकसैलाई एलर्जी हुन सक्ने सम्भावना होला। जुन साधारण हो,’ डा. अमात्य भन्छन्, ‘ केही समस्या नै हुन्छ भनेर डराइहाल्नु पर्दैन।’

आठ दशकको खटाई

कोरोनाको त्राशमा अधिकांश तन्नेरी नै हदैसम्म डराए। उमेरदार डाक्टरहरु समेत बिरामी नजिक गएनन्।

डा. अमात्यका हकमा डर केही रहेन।

नियमित कामै पनि उनी तन्नेरीसरह गर्छन।

‘अब विश्राम गर्ने बेला भएन र?’हेल्थपोष्टकोे प्रश्नमा उनी हाँस्दै भन्छन्, ‘ मलाई त २५ बर्षे तन्नेरी छु जस्तो लाग्छ। शरीरले साथ दिएसम्म बिरामीको सेवा गर्नेछु।’

टेकु अस्पतालमा रेडियोलोजिष्टको दरवन्दी नभएकाले सेवानिवृत्त डा. अमात्यलाई पाँच वर्षदेखि करारमा काम दिइएको हो। उनी हप्तामा २—३ दिन आएर बिरामी हेर्छन। उनी अल्ट्रासाउन्ड,एमआरआइ, एक्सरेको रिर्पोट हेर्छन।

‘यहाँ काम गर्ने चिकित्सक नभएर मैले काम गर्दै आएको छु,’ उनी भन्छन्, ‘जनतालाई त सेवा दिनुपर्यो नि।’

एक जना बिरामी पनि अस्पतालबाट सेवा वञ्चित भएर जानूपर्दा उनको मन दुख्छ।

‘आफूले जानेको छु। अझै २—४ वर्ष काम गर्न सक्छु भन्ने आँट छ। म घरमै बसेर अस्पतालबाट बिरामीले सेवा नपाएर फर्किनु त राम्रो भएन नि,’ उनी भन्छन्।

विसं २०२२ सालमा नाम्चेबजारबाट डा. अमात्यको सरकारी सेवा सुरु भएको हो। ५५ वर्ष लामो अविराम सेवामा उनको अनुभवले थकान चिन्दैन।

डा. अमात्य विसं २०५० सालमा वीर अस्पतालको निर्देशक भएर काम गरे।

‘नाम्चेबजारमा काम गर्न जाँदा २१ दिन हिँडेर गएका थियौँ,’ डा. अमात्य पुराना दिन सम्झदैँ भन्छन्, ‘पहिलेको ति दिनमा काम गरेको हेर्दा, अहिलेको गरेको काम केही होइन जस्तो लाग्छ।’

चिकित्सीय क्षेत्रमा काम गर्न अहिल त धेरै सजिलो भएको छ।

‘मानिसलाई तैपनि सन्तोष छैन। सन्तोष लिन सिक्नुपर्छ। चिकित्सकले सेवा गर्ने हो जहाँ गएर पनि गर्छु भन्ने भावना राख्नुपर्छ,’ उनी भन्छन्।

सरकारी सेवामा हुँदाहुँदै वेलायतमा गएर समेत पढ्न पाएकामा उनी खुसी छन्।

कोरोना महामारीको सामना

डा. अमात्य कोरोना महामारी दौरान टेकु अस्पतालमा बिरामी हेर्दा धेरै नै सावधानी अपनाएको बताउँछन्।

त्यही भएर उनी जोगिन सके र खोप लगाउने दिनसम्मको प्रतीक्षा सफल भयो।

‘म सुरक्षित नहुँदा घरमा अन्य स—साना बच्चालाई सर्छ भन्ने त्राश हुन्थ्यो,’ उनी भन्छन्, ‘ म त डाँडा माथिको घाम तर जो बच्चाले जीवन देख्न बाँकी छ उसलाई संक्रमण सार्दिन भएन नि।’

‘कोरोना संक्रमण बाट बँच्च सबैभन्दा पहिला सुरक्षा विधि अपनाउनै पर्छ। दुनियाँमा सबै रोग सबैलाई लाग्छ। रोग लाग्न नदिनु नै ठुलो कुरा हो,’ उनी भन्छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *