स्वास्थ्यकर्मीलाई आएको खोप मन्त्रीले लाएपछि…

नेपालमा कोरोनाविरुद्ध खोप अभियान बुधबारदेखि सुरू भएको छ।

भारतको सेरम इन्सिटच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ को १० लाख डोज भारतले उपहार पठाएको खोप बुधबारदेखि दिन सुरू भएको हो।

गत साता स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायतलाई प्राथमिकता खोप दिइने बताएका थिए।

मन्त्री त्रिपाठीले भने अनुसार सबै प्रदेशहरूमा पहिलो खोप चिकित्सकहरूलाई दिइएको छ।

तर, प्रदेश २ मा भने कोरोनाको पहिलो खोप आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले लिएका छन्। अभियानको जनकपुरमा उद्घाटन गरेका मन्त्री यादवले कोरोनाको पहिलो खोप लिएका हुन्।

मन्त्री यादवलाई स्वास्थ्यकर्मी सुनिता यादवले खोप दिएकी थिइन्।

पहिलो चरणमा मन्त्रीले खोप लिनु तोकिएको मापदण्डविपरित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका एक उच्चपदस्थ कर्मचारीले बताए।

‘तालिमकै क्रममा तोकिएको मापदण्डबारे सबैलाई जानकारी गराइएको थियो,’ ती कर्मचारीले भने,‘फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सुरक्षाकर्मीलगायतलाई पहिलो चरणमा खोप दिनुपर्ने स्पष्ट निर्देशन थियो। उहाँले कसरी लिनुभयो हामीलाई थाहा भएन।’

सबैले खोप लिनैपर्ने भएपनि तोकिएको मापदण्डअनुसार नभएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय