नेपालीमा रोगसँग लड्ने क्षमता बढी भएका कारण कोरोनाले धेरैलाई मार्न सकेन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई नयाँ चरणमा उठाएको बताएका छन्। कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै उनले यस्तो बताएका हुन्। आजदेखि देशभर खोप लगाउन सुरु भएको छ।

‘बितेको एक वर्ष अत्यन्तै कठिन भयो। संसारमा कोभिड-१९ भाइरसको बारेमा कसैलाई केही अनुभव नै थिएन। तैपनि हामी यो भाइरससँग लड्नुपर्ने भयो’, उनले भने, ‘कोभिड-१९ ले एक वर्षमा हाम्रो पुरानो संस्कार ब्यूँझाइदियो। ‘ह्याण्डसेक’ लाई ‘बाइबाइ’ गरिदियो। नमस्तेलाई ब्यूँताइदियो।’

उनले यो भाइरसले हाम्रो खानपिन तथा आनीबानीमा पनि परिवर्तन ल्याइदिएको बताए। ‘जीवन र प्रकृतीको सम्बन्धलाई पनि फर्काउने काम गर्‌यो’, उनले भने, ‘विश्वव्यापी ज्यानमारा रोग जसले करोडौं मानिसलाई कष्ट दियो। लाखौं मानिसको ज्यान लियो। यो नकारात्मक पाटो हो। सँगसँगै हामीलाई धेरै शिक्षा पनि दिएको छ।’

नेपाल सरकार सुरुदेखि नै जनताको जीवन नै पहिलो कुरा हो भनेर कोरोनाविरुद्ध लडेको उनले बताए।

‘रोगबाट पनि जनतालाई मर्न दिनुहुँदैन। भोकबाट पनि मर्न दिनुहुँदैन। अहिले जीवन बाँच्यो भने अरु कुरा हुँदै जान्छन् भनेर पहिलो प्राथमिकतामा जीवन बचाउनुपर्छ भनेर लाग्यौं’, उनले भने, ‘हामीसँग रोगसँग लड्ने प्रतिरोधी क्षमता बढी थियो। त्यही भएर हामीलाई यो रोगले धेरै मार्न सकेन। त्यसैको प्रतिफल हो हाम्रो देशमा मृत्युदर ०.७ प्रतिशतमात्रै रह्यो।’

प्रधानमन्त्रीले ९८ प्रतिशत मानिस कोरोनाबाट मुक्त भइसकेको जानकारी दिए।

उनले कोरोनाविरुद्धको खोप उपहार दिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिए।

‘हामी अरु मित्रराष्ट्रसँग पनि कुराकानी गरिरहेका छौं। अब हामीले ‘कोभ्याक्स’ बाट पनि सहयोग प्राप्त गर्नेछौं’, उनले भने, ‘भारतसँग थप खोप किन्ने प्रयास पनि गरिरहेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय