आज कोरोनाविरुद्ध खोप लगाइदै, स्वास्थ्यकर्मीबाट सुरुवात

नेपालमा कोरोनाविरुद्धको (कोभिसिल्ड) खोप आज (बुधबार) बाट लगाइने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट भिडिओमार्फत बिहान १०:१० मा खोप कार्यक्रमको उद्‌घाटन गर्ने भएका छन्।

काठमाडौं उपत्यकामा आज एकैसाथ ११ वटा अस्पतालबाट खोप लगाइदै छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल लगायतका सुरुबाट हुनेछ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले कोरोना खोप पहिला लगाउने घोषणा गरिसकेका छन्।

त्यसैगरी, प्रसुती तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. स‌ंगिता मिश्राले पनि खोपको सुरूवात आफैबाट लगाउने जनाएकी छिन्।

‘म आफैबाट कोरोना खोपको सुरूवात गर्ने छु,’ डा. मिश्राले हेल्थपोष्टसँग भनिन्, ‘खोपलाई लिएर धेरै मानिसले नकारात्मक टिकाटिपणी गरेका छन्। यसरी मैले सुरूमा खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीले लगाउनुहुनेछ।’

त्यसैगरी, अन्य अस्पतालका प्रमुखहरू ले पनि पहिला नै खोप लगाउने जनाएका छन्।

सरकारले उपत्यका बाहिरका ठाउँमा जिल्ला अस्पतालबाट खोप अभियान सुरू गर्दै छ।

सरकारले पहिलो चरणको खोप अभियानमा संघ, प्रदेश र स्थानीय तहमा सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ को नियन्त्रण तथा जोखिम न्यूनीकरणमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनमा खटिएका मानिसलाई खोप दिइने छ।

कोरोना खोप दुई डोज दिनुपर्ने हुन्छ। पहिलो डोज एक साताभित्र लगाइने मन्त्रालयको तयारी छ। त्यसैगरी, दोस्रो डोज एक महिना लगाउने जनाएको छ।

मन्त्रालयले कोरोना खोप लगाएपछि केही साधारण लक्षण वा समस्या आएमा नआतिन सबैलाई अनुरोध गरेको छ।

त्यस्तो केही समस्या आएमा नि:शुल्क उपचार गर्नेसमेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय