नेपालमा आएको कोरोना खोप सुरक्षित, ढुक्क भएर लगाऔं

कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ बुधवारबाट देशभरका फ्रन्टलाइनरलाई पहिलो चरणमा दिइदै छ। तर, केही मानिसमा खोपले केही असर गर्ने हो कि भन्ने आशंका गर्न थालेका छन् ।

यो खोप कत्तिको सुरक्षित छ, खोप कसरी दिइन्छ, खोप दिँदा कस्ता समस्या आए भन्ने डराउनु हुँदैन भन्ने विषयमा हेल्थपोस्ट नेपालले भाइरोलोजिष्ट तथा इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डेसँग केही जिज्ञाशा राखेको छः

‘कोभिसिल्ड’ कस्तो खोप हो?

सुरूमा फाइजरको कोरोनाविरुद्धको खोप आएको थियो। यो खोप तापक्रम माइनस ८० डिग्रीमा राख्नुपर्ने हुन्छ। यसको मूल्य महंगो छ। यो खोप नेपालका लागि उपयुक्त भएन।

नेपाललाई भारत सरकारबाट अनुदानको रूपमा ‘कोभिसल्ड’ खोप प्राप्त भएको छ। यो हाम्रा लागि खुशीको कुरा हो।

खोप बनाउने पहिलो कुरालाई ‘भाइरल भ्याक्टर’ भनिन्छ। त्यसैगरी अर्को खालको भाइरस एरिनो भाइरस भन्ने हुन्छ। यो भाइरसमा कोरोनाको मात्रा अलिकति मिसाएर बनाइन्छ। जसलाई हामीले भाइरल भ्याक्टर भन्छौं।

‘कोभिसल्ड’ खोप अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको हो।

‘कोभिसिल्ड’ नेपालमा १० लाख डोज आएको छ।

यो खोप फन्टलाइनमा खटिएका मानिसलाई दिने तयारी गरिएको छ। यो खोप दुई डोज दिनुपर्ने हुन्छ।

खोप कतिको सुरक्षित?

कुनै पनि भ्याक्सिन बनाउदा दुई कुरालाई हेरिन्छ। भ्याक्सिनले कतिको शरीरमा लड्न सक्ने क्षमता बनाउँछ। अर्को, यसले कतिको समस्या ल्याउँछ।

यति छोटो समयमा यस्तो भ्याक्सिन बनेको छ। जुनसुकै भ्याक्सिनको पनि साधारण असर देखिन्छ। कुनै भ्याक्सिन लगाएको ठाउँमा एक—दुईसम्म दुख्छ।

कोभिसिल्ड खोपको सामान्यता असर लगाएको ठाउँमा दुख्ने, कतिपय १७ देखि २० प्रतिशतलाई ज्वरो आउने समस्या देखिएको छ।

ज्वरो आएको खण्डमा भित्र दिएको एन्टिजेनले रोगसँग लड्दै एन्टीबडी बनाउन लाग्यो भन्ने प्रमाणित गर्छ। यसको साथसाथै मासपेशी दुख्ने गर्दछ ।

भारतमा यो खोप लगाउँदा गम्भीर खालको घटना अहिलेसम्म देखिएको छैन । त्यसैले खोपको विश्वसनियतमा शंका गर्नुपर्ने अवस्था छैन।

कुनै बेला हात्तीपाइले रोगको औषधी आएको बेला मानिसको ज्यान जानसक्छ भन्ने हल्ला समेत गरिएको थियो । त्यस्ता बेला औषधीले नभई कुनै अन्य कारणले पनि मृत्यु भएको हुनसक्छ। यस खोपको गम्भीर खालको ‘साइड इफेक्ट’ छैन।

प्रभावकारी कति छ?

पहिलो पटक खोप दिएपछि अर्को एक महिनापछि अर्को डोज खोप दिइन्छ। यसको प्रभावकारिता ७० प्रतिशत भएको अनुसन्धानले देखाएको छ।

खोपको प्रभावकारिता ५० प्रतिशतभन्दा माथि भयो भने प्रयोग गर्न मिल्छ ।

दोस्रो पटक ६ हप्तामा लगाएको खण्डमा यसको प्रभावकारिता अझै बढेर जाने पाइएको छ। यो खोप हाम्रो लागि उपयुक्त छ।

खोप कसरी लगाइन्छ?

यो खोप अन्यभन्दा खास फरक खालको छैन। एक व्यक्तिलाई ०.५ एमएल दिइन्छ। खोप दिँदा देब्रे हातको पाखुरामा दिइन्छ। खोप लगाउनुभन्दा पहिला सफा गर्नुपर्छ।

एक भाइलमा औषधि हुन्छ। त्यसबाट सुईले निकालेर दिने हो।

सुरूवाती अवस्था भएको हुनाले मानिसहरूलाई के हुने होला भन्ने चिन्ता हुन सक्छ। कसैलाई डरले नै समस्या आउन सक्छ।

त्यसकारण खोप लगाएको ठाउँमा ३० मिनेटसम्म निगरानीमा राख्ने गरिन्छ।

खोप लगाएपछि कस्ता—कस्ता समस्या देखिन सक्छ?

खोप लगाएपछि खासै गम्भीर खालको समस्या देखिँदैन। सामान्यता जहाँ खोप लगाइएको हो, त्यहाँ दुख्न सक्छ, अलिअलि सुनिने तथा रातो हुने हुन्छ।

केही व्यक्तिलाई ज्वरो पनि आएको पाइएको छ। टाउको दुख्ने, शरीरको माशंपेशी दुख्ने हुन सक्छ।

कोरोना संक्रमण हुँदा जस्ता लक्षण देखिन सक्छ।

हातीपाइलेको औषधि दियौं भने केही व्यक्तिले टाउको दुख्यो, वाकवाकी लाग्यो भन्ने गर्छन। त्यस्तै, यो खोप लगाउँदा पनि टाउको दुख्ने, ज्वरो आउने वा माशंपेशी दुखेमा

शरीरमा एन्टिबडी उत्पादन गर्ने क्रममा केही दिन समस्या ल्याउन सक्छ।

यस्ता समस्या आएमा शरीरमा एन्टिबडी बन्न लाग्यो भनेर सकारात्मक सोच्नुपर्दछ।

कस्ता व्यक्तिले यो खोप नलगाउँदा उपयुक्त हुन्छ ?

अहिलेको अवस्थामा बालबालिकाहरूलाई खोप दिइदैन। यो भाइरसको संक्रमण अधिकांस १५ देखि माथिका मानिसलाई मात्र भएको छ। त्यसकारण १६ देखि माथिका मानिसलाई मात्र यो खोप दिइने छ।

अन्य खोप दिँदा कसैलाई पहिला शरीरमा एलर्जीको समस्या देखिएको छ भन्ने त्यस्ता व्यक्तिलाई खोप नदिँदा उपयुक्त हुन्छ। अहिले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने हो।

स्वास्थ्यकर्मी वा फ्रन्टलाइनमा पनि गर्भवती, दीर्धरोगी छन् भन्ने त्यस्ता व्यक्तिलाई खोप दिनु हुँदैन ।

संक्रमणमुक्त भएका मानिसले खोप लगाउन जरूरी हुन्छ?

‘एन्टीबडी’ भनेको रोगसँग लड्न सक्ने क्षमता हो। त्यसकारण हामीले के बुझ्न पर्छ भने एक पटक संक्रमण निको भएका व्यक्तिसँग पनि रोगसँग लड्ने क्षमता हुन्छ।

रोग भएका व्यक्तिसँग कतिको एन्टीबडी बढ्यो भन्ने हेर्ने अहिलेसम्म मापन पर्ने विधि छैन।

प्राकृतिक तरिकाले बनेको हुँनाले रोग भएका र नभएका सबैलाई खोप दिनुपर्छ।

अन्त्यमा के सुझाव दिनुहुन्छ?

मैले भाइरोलोजीको धेरै खालको अध्ययन गर्ने मौका पाए। धेरै खालको भ्याक्सिन बनाउन पनि लागेको छु।

यो भ्याक्सिन लगाउनुपछ,संसारका ४० हजारभन्दा बढी व्यक्तिमा विभिन्न खालको क्लिनिकल ट्रायल सकिएर आएको छ। अहिले ४—५ वटा खोपको सुरूवात भइसकेको छ।

खोप लगाउँदा खोपकै कारणले समस्या भयो भने किन खोप लगाउने भन्ने हो। यो विषयमा अध्ययन भएको छ।

विश्व स्वास्थ्य संगठनले स्वीकृत गर्ने प्रक्रिया लामो हुन्छ। संगठनले मान्यता नदिए पनि खोप लगाएर समस्या देखिएको छैन।

यो खोप लगाएर कति समयसम्म फाइदा गर्ने भन्ने पछिका अध्ययले देखाउँदै जाला । यो खोप मैले लगाउँछु। यस्तै, यहाँहरू पनि लगाउनुहोस्।

यो खोपले साधारणतया समस्या आए पनि गम्भीर खालको समस्या आएको छैन। त्यसकारण चिन्ता नगरी, सकारात्मक सोच राखेर खोप लगाउन म सुझाव दिन्छु।

यो नयाँ खालको खोप हो। खोप लगाएपपछि के होला भन्ने चिन्ता हुनु स्वभाविकै हो। त्यसकारण खोप लगाउनु भन्दा अगाडि अगाडि काउन्सिल गर्न जरूरी हुन्छ। यो खोप कस्तो, कहाँ लगाउने , के—के समस्या देखिन सक्छ भन्ने कुरा राम्रोसँग बुझेर–बुझाएर लगाउनु राम्रो हुन्छ ।

जो खोप लगाउन आउनु हुन्छ त्यस्ता व्यक्तिलाई यो खोप के हो? र, यसको हुनसक्ने सम्भावना के—के हुन् भनेर पहिला नै जानकारी दिनु् पर्छ । र, हामीले जानकारी दिने गरी देशभर तालिमको ब्यवस्था समेत गरेका छौं ।

स्वास्थ्यकर्मीले सिनियर वा जुनियर जो सुकै भएपनि पहिला काउन्सिल गर्दै लगाएको ठाउँमा केही समय सुनिन सक्छ, रातो हुन सक्छ।

कसैलाई ज्वरो आउन सक्छ वा माशंपशी दुख्न सक्छ र एक÷दुई दिनमा निको भएर जान्छ भनेर प्रष्ट साथ बुझाउन आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय