बिपी क्यान्सर अस्पतालमा मनपरी : हतारमा बोर्ड बैठक, आफू अनुकल ओएनएम

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सांगठनिक तथा व्यवस्थापकीय सर्वेक्षण (ओएनएम) को नाममा आफ्ना मान्छेलाई भर्ती गर्नलागेको रहस्य खुलेको छ।

अस्पताल प्रशासन पक्षले पुरानो दरबन्दीलाई काटेर आफू अनुकल नयाँ दरबन्दी सिर्जना गर्न खोजेको अस्पताल स्रोतको आरोप छ।

अस्पताल प्रशासनले (ओएनएम) को नाममा नयाँ दरबन्दी सिर्जना गर्न लागेको एक कर्मचारीले बताएका छन्। उनले आवस्यकता बिनै अस्पतालले दरबन्दी सिर्जना थप्नलागेको आरोप लगाए।

‘पुरानो खाली भएका दरबन्दीको मिलान गर्ने र नयाँ दरबन्दीको सिर्जना गर्न लागिपरिको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘आफ्ना मान्छेलाई भर्ती गर्न सहज हुने किसिमको दरबन्दी राखिएको छ। जुन दरबन्दी आवश्यकता अनुसार  छैन ।’

ती कर्मचारीका अनुसार प्रशासनले आकस्मिक रूपमा जुममार्फत बैठक राखी दरबन्दीको विषय पारित गरेको हो।

सामान्यता दरबन्दी थप गर्नको लागि विभागिय प्रमुखहरू बीच छलफल हुन आवश्यक हुन्छ।

तर, आफ्नो मान्छे नियुक्ती तथा बढुवा गर्नका लागि प्रशासनले नयाँ दरबन्दी सिर्जना गरेको कर्मचारीको आरोप छ।

‘अस्पतालमा स्टाफ नर्सको आवश्यकता परेको छ। तर, प्रशासनले अधिकृतको दरबन्दी बढाएको छ,’ ती कर्मचारीले हेल्थपोष्टसँगको कुराकानीमा भने।

अस्पताल प्रशासन नयाँ दरबन्दी पारित गर्नको लागि आज स्वास्थ्य मन्त्रालयमा छलफलमा पुगेको स्रोत जनाएको छ।

‘अस्पतालमा कुन दरबन्दी चाहिएको छ। आवश्यकताको आधारमा नयाँ दरबन्दी थप्नु पर्ने हो। तर, विभागिय प्रमुखको छलफल बिना नै आकस्मिक रूपमा बोर्ड बैठक राखेर पास गर्नु राम्रो होइन,’ ती कर्मचारीले भने।

कोरोना महामारीका कारण आर्थिक भार पर्ने भन्दै सरकारले नयाँ दरबन्दी थप नगर्न निर्देशन दिएको थियो।

तर, अस्पताल प्रशासनले आथिर्क भार नपर्ने भन्दै पुरानो रिक्त दरबन्दी काटेर नयाँ दरबन्दी सिर्जना गर्न लागेको हो।

अस्पताल प्रशासनले भने आर्थिक भार नपर्ने गरी दरबन्दी थपिएको बताउँदै आएको छ।

‘अस्पतालका निर्देशक डा. देजकुमार गौतमले आर्थिक भार नपर्ने भन्दै पहिलाको रिक्त दरबन्दी काटेर नयाँ दरबन्दी थप्न लागेको बताउँदै आएका छन्,’ ती कर्मचारीले भन्छन्, ‘पहिलाको रिक्त दरबन्दीलाई संस्थाले पैसा दिनुपरेको थिएन नि।’

उनका अनुसार दरबन्दी थप गर्दा आर्थिक भार अस्पताललाई साेझै पर्न जान्छ।

यसविषयमा बुझ्न खोज्दा अस्पतालका निर्देशक डा. देज कुमार गौतम र अध्यक्ष डा. निर्मल लामिछानेले फोन उठाएनन्।

अस्पतालका कर्मचारीहरूले आवश्यक नपर्ने दरबन्दी थप गर्न लागेकोप्रति स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने बताएका छन्।

One thought on “बिपी क्यान्सर अस्पतालमा मनपरी : हतारमा बोर्ड बैठक, आफू अनुकल ओएनएम

  1. बोर्ड बैठक सार्वजनिक आव्हान गरेर कर्मचारीको निर्देशन आएपछि राख्नुपर्ने रहेछ कि क्या हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय