प्रदेश एकमा साढे पैतीस हजार कोरोनाविरुद्धको खोप पुग्यो

प्रदेश एकमा कोरोनाविरुद्धको भायल भ्याक्सिन ३५ हजार ५ सय डोज विराटनगर आइपुगेको छ। उक्त खोप हेटौंडाबाट स्थलमार्ग हुँदै विराटनगर ल्याइएको प्रदेश एकका स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार उक्त खोप माघ १४ गतेदेखि लगाउने तयारी रहेको छ। त्यसलाई औषधी व्यवस्था विभागको कार्यालयमा उपयुक्त तापक्रममा राखेर वितरण गर्ने तयारी भइरहेको छ।

आजै बसेको स्वास्थ्य मन्त्रालयको भर्चुअल बैठकले भारतबाट प्राप्त उक्त खोप आजै सातै प्रदेशमा पठाइसक्ने जनाएको थियो। निर्देशक बस्नेतले दुई दिनभित्र प्रदेश एकका १६ जिल्लामा खोप सुरक्षित रुपमा पु-याइने र यसअघि नै तयार भइसकेको स्वास्थ्यकर्मीको सञ्जालमार्फत वितरण हुने जानकारी दिए।

खोपको प्राथमिकता भने फ्रन्टलाइनमा खटिने स्वास्थ्य कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगाएत रहने सरकारले जानकारी दिएको छ।

प्रदेश एकमा करिब ४० लाख जनसंख्या रहेको छ।

एक सातामा ४९ संक्रमित थपिए

प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन्। माघ ४ गते आईतबार देखि माघ ११ गतेसम्म ४९ जनामा संक्रमण देखिएको हो।

एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश एकमा हालसम्म संक्रमितको संख्या ३० हजार ११९ पुगेको छ।

एक सातामा १०२ जना डिस्चार्ज भएका छन्। हालसम्म २९ हजार ५५८ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ९६ जना रहेको मन्त्रालयले जनाएको छ।

एकसातामा १ हजार ७९६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म २ लाख १५ हजार ४८२ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय