उपत्यकामा १० अस्पतालबाट कोरोना खोप लगाइने, देशभर दैनिक ३० हजारलाई

माघ १४ गतेदेखि भारतले ‘उपहार’ दिएको कोरोना खोप लगाउने तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ।

मन्त्रालयले १८ गतेमात्र खोप अभियान सुरू गर्ने तयारी गरेको थियो। तर, प्रधानमन्त्री ओलीले खोप चाँडै सुरु गर्न भनेपछि १४ गतेदेखि नै लगाउन सुरु गर्ने मन्त्रालयले जनाएको छ।

हेल्थपोस्ट नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘उहाँले १४ गतेदेखि सुरू गर्ने भन्नुभएको रहेछ। अब त्यही अनुसारको तयारी हुन्छ होला।’

उनका अनुसार मन्त्रालयले यसबारे आइतबार बैठक बसेर थप निर्णय लिनेछ।

‘भोलि मन्त्रालयमा बैठक भएपछि थाहा हुन्छ,’ डा. गौतमले भने।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा सोमबारसम्म पठाइसक्ने गौतमले जानकारी दिए।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने मन्त्रालयले जनाएको छ।

गौतमले सात प्रदेश र ७७ जिल्लामा करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने छ।

काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ।

‘हामी ७७ जिल्लाबाट एकैसाथ सुरू गर्छाैं। जिल्ला अस्पतालमा बुथ राखेर लगाइन्छ,’ डा. गौतमले भने, ‘जसका लागि हामीले ३ सय जति बुथको तयारी गरेका छौँ।’

डा. गौतमका अनुसार दैनिक ३० हजारलाई खोप दिइने छ।

उपत्यकाको हकमा भने धेरै बुथ राखेर खोप दिइने छ।

उपत्यकामा ठूला अस्पतालबाट खोप सञ्चालन गर्ने तयारी मन्त्रालयले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल, शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल लगायत अन्य अस्पतालमा  बुथ राखेर खोप दिने तयारी भएको मन्त्रालय स्रोत जनाएको छ।

‘उपत्याकामा ठुला १० अस्पतालमा बुथ राखेर खोप दिइने तयारी भएको छ। तर, निजी अस्पतालबाट भने खोप दिइने छैन,’ मन्त्रालयले स्रोतले भन्यो।

खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ कोसक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ।

डा. गौतमका अनुसार दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ।

खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्यालाई पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय