पाटनजस्तो अस्पताल अनि युवराजजस्ता डाक्टर भए पो!

नाफा–घाटाको तराजुमा जोख्ने हो भने जीवनको मूल्य फरक होला। तर, सेवाभावको तराजुमा जोख्न खोज्दा त्यसको महकता बेग्लै हुनपुग्छ। हिलोमा फुलेको कमलको सुन्दरताजस्तै।

पाटन अस्पतालका मेडिकल विभाग प्रमुख तथा कोरोना फोकल पर्सन डा. युवराज शर्मा।

पछिल्लो समय युवराज शर्मा भन्ने बित्तिकै धेरैको कानमा कोरोना संक्रमितलाई पुनर्जन्म दिने एउटा हँसिलो आवाज गुञ्जिन्छ। पिपिइभित्रको उनको हँसिलो अनुहार त धेरैले देख्न सकेनन्। तर, उनको सेवाभावको महकतालाई धेरैले महसुस गर्न सके। र, पुनर्जन्म पाए पनि।

नेपालमा २०७६ माघ ९ मा पहिलोपटक कोरोना संक्रमित फेला परे। कोरोना संक्रमण भित्रिएसँगै थुप्रैमा त्रास छायो। कोरोनालाई धेरैले कालको रूपमा अथ्र्याउन थाले। त्यस्तो बेला कोरोना महामारी नियन्त्रणमा लिन स्वास्थ्यकर्मीको ठूलो भूमिका छ।

कोरोनाविरुद्ध लडाइँको अग्रमोर्चाका सिपाही बने स्वास्थ्यकर्मी। तिनै सिपाहीमध्येका एक हुन् डा. युवराज।

‘बिरामीको एउटामात्र समस्यामा फोकस भएर उपचार गर्नुहुँदैन। बिरामीको मन, मष्तिष्कमा पस्न सक्नुपर्छ। भावनात्मक रूपमा बिरामीको नजिक हुनुपर्छ,’ डा. युवराजले भने।

डा. युवराज आफ्नो जीवनमा यही सुत्र प्रयोग गर्छन्। बिरामीको मन बुझ्छन्, मष्तिष्कमा पस्छन्। र, उपचार थाल्छन्। त्यसैले त उनी स्वास्थ्य क्षेत्रमा अब्बल छन्।

उनी बिरामीको आर्थिक अवस्था, सुगमता र दुर्गमतालाई पनि प्राथमिकता दिन्छन्।

‘हुम्ला, जुम्लाबाट आएको बिरामी सधैं काठमाडौं आएर उपचार गर्न सक्दैन। त्यसैले त्यस्ता बिरामीलाई कहिले पनि अल्झाउनु हुँदैन,’ मनकारी डा. युवराज भन्छन, ‘उनीहरूलाई जति ढिला भयो त्यति नै आर्थिक भार पर्छ। त्यसैले सक्दो चाँडो उपचार गर्नुपर्छ।’

जब सरकारको रोजाइमा पाटन पर्‍यो

नेपालमा कोरोना भित्रिसकेपछि सरकारले कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेको थियो। त्यहीबेला सरकारको रोजाइमा पाटन अस्पताल पर्‍यो। पाटनले जिम्मेवारी पाएसँगै त्यसको व्यवस्थापनको चुनौति थपियो युवराजको काँधमा।

‘सरकारले हामीमाथि विश्वास गरेपछि हामीले पनि जिम्मेवारी बोध गर्नुपर्छ। आखिर हाम्रो पेसा पनि त त्यही हो,’ उनले भने, ‘हामीले धेरै छलफल गर्‍याैं। विश्व स्वास्थय संगठनले दिएका गाइडलाइन फलो गर्न थाल्यौं। वैज्ञानिक तथ्यलाई आत्मसाथ गर्दै अगाडि बढ्यौं। अन्तर्राष्ट्रिय अभ्यास फलो गर्न थाल्यौं। र, सोहीअनुसार अगाडि बढ्न थाल्यौं।’

उनले त्यसरी अगाडि बढ्दा विस्तारै सहज हुँदै गएको अनुभव सुनाए।

पाटन अस्पताल सबैखाले सेवा दिने अस्पताल भएकाले सुरुका दिनमा कसरी व्यवस्थापन गर्ने भन्ने अस्पताल प्रशासनसामु ठूलो चुनौति थियो।

तर, विस्तारै अस्पतालले नयाँ भवनमा कोरोना वार्ड नै बनाएर उपचार गर्न थाल्यो। अस्पतालले कोरोनाका बिरामी र अन्य बिरामीलाई अलग–अलग भवनमा नै राखेर सेवा दिन थालेको उनले बताए। जुन अहिले पनि जारी छ।

‘३५ वर्षदेखि पाटन अस्पताल भनेर बाँचिरहेका दीर्घरोगी छन्। ती बिरामीको उपचार गर्ने चुनौति एकातिर थियो। सँगसँगै सरकारले दिएको कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारी अर्कोतिर,’ उनले सुनाए।

सुरुदेखि नै अन्य बिरामीलाई विश्वास दिलाउन अस्पताल गेटदेखि नै उच्च स्वास्थ्य सावधानी अपनाइएको उनले बताए। गेटदेखि नै कोरोना शंकास्पद बिरामी एउटा साइडमा छुट्ट्याएर भित्र प्रवेश गराइएको उनले जानकारी दिए।

‘नयाँ भवनलाई कोरोनाका लागि भनेर छुट्ट्यायौं। बेड, अक्सिजन र आइसियु राख्यौं। सुरुका दिनमा २१ बेडको आइसियु स्थापना गर्‍याैं। कोरोनाको लक्षण देखिएका बिरामी आउने बित्तिकै नयाँ भवनमा राखेर आफ्नै मापदण्डअनुसार उपचार गर्‍याैं,’ उनले भने।

कोरोना बिरामी आउँदा अन्य बिरामी अस्पताल आउन डाराउने चुनौति सुरुका दिनमा देखिएको उनले बताए। पछि अस्पताल व्यवस्थापनले अन्य बिरामीमा पनि विश्वास बढ्दै गएको र उनीहरूलाई पनि सँगसँगै उपचार गरेर लगेको डा. युवराज बताउँछन्। उनले कोभिड र ननकोभिड गरेर जनशक्ति व्यवस्थापन गरी उपचार गरिएको बताए।

कोरोनाका बिरामी हेर्न अन्तराष्ट्रिय स्तरको सुरक्षा सामग्री प्रयोग गरिएको उनको भनाइ छ। कोरोनाका बिरामीको उपचार हुँदा केही महिना अन्य बिरामी अस्पताल आउन डराएको र गम्भीर समस्या देखिएपछि मात्रै आउन थालेपछि आफूहरूले समस्या खेप्नुपरेको उनको अनुभव छ।

कोरोना महामारीमा पनि दैनिक तीन सयहाराहारी ननकोभिड बिरामीले सेवा लिएको उनले बताए।

सुरुदेखि एक दिन पनि डायलाइसिसलगायत अन्य सेवा नरोकिने गरी सबैप्रकारका बिरामीको उपचारका लागि अस्पतालले उचित व्यवस्था मिलाएको उनको भनाइ छ।

कसरी व्यवस्थापन सहज भयो?

सुरुका दिनमा कोरोना संक्रमितका लागि केही बेड छुट्ट्याइएको उनले बताए। ‘कोरोना संक्रमितलाई सिधै कोभिड वार्डमा लगेर भर्ना गथ्र्याैं।। शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि पठाएर आइसोलेसन वार्डमा भर्ना गरेर उपचार थाल्थ्यौंं,’ डा. युवराजले भने, ‘रिर्पोट पोजिटिभ आए कोरोना वार्डमा र नेगेटिभ आए ननकोभिड वार्डमा भर्ना गरेर उपचार गथ्र्यौं।’

सुरु दिनमा शंकास्पद ३१ आइसोलेसन बेड छुट्ट्याइएको उनले बताए। १ सय बेडबाट कोरोना वार्ड सुरु गरिएको उनको भनाइ छ। बेड क्षमता बढाउँदै अस्पतालले अहिले कोरोना संक्रमितका लागि २ सय ५० बेड राखेको छ।

सुरुमा अस्पतालले हाइ इन्सिटेड कमान्ड गठन गरेर सबैखाले व्यवस्थापनको काम गरेको थियो। उक्त समितिको रजिस्ट्रार पोस्टमा डा. पारसकुमार आचार्य, क्लिनकल तथा मेडिसिन प्रमुख डा. युवराज शर्मा, सरसफाइ प्रमुख, अस्पतालका डाइरेक्टरलगायत थिए।

कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समितिमा दिनमा दुईपटक छलफल हुने गरेको उनले बताए।

‘बिहान आज कसरी काम गर्ने र बेलुका दिनभरमा के–के समस्यासँग जुध्नुपर्‍यो र कसरी समाधान गर्ने भन्ने विषयमा छलफल हुन्थ्यो,’ उनले भने।

यसरी तयार भयो अस्पतालमा जनशक्ति

कोरोना सन्त्रासले चिकित्सकहरूलाई पनि छोएको थियो। सुरुका दिनमा अस्पतालमा जनशक्ति कसरी तयार पार्ने भन्ने चुनौति अन्य अस्पताल झैं पाटनसामु पनि थियो।

त्यसका लागि अस्पतालले कर्मचारीबीच मोटिभेसन कार्यक्रम सञ्चालन ग¥यो। जसले कर्मचारीमा आत्मबल बढाउन सहयोग पुगेको डा. युवराज बताउँछन्।

‘हामीले सबैभन्दा पहिला पिपिइ व्यवस्थापन गर्‍याैं। आफैंले पिपिइ उत्पादन गर्न थाल्यौं। चारजनालाई त्यसमा लगाएर एकदमै सुरक्षित पिपिइ बनायौं,’ उनले भने, ‘बाहिर बनाइएका सेता र आकर्षक पिपिइभन्दा हाम्रो पिपिइ सुरक्षित थियो।’

आफूहरूले बनाएको पिपिइ लगाउँदा १०औं महिनासम्म स्वास्थ्यकर्मी सुरक्षित रहेको उनले बताए।

सुरक्षा सावधानी अपनाउँदा कोरोना वार्डमा खटिएका भन्दा बाहिरका स्वास्थ्यकर्मी बढी संक्रमित बनेको अनुभव डा. युवराजले साटे।

‘मोटिभेट गर्दागर्दै पछि कोरोना वार्डमा खटिएका स्वास्थ्यकर्मीहरू हामीलाई यतै ठिक छ भन्न थाले। म आफैं भित्र पसेर राउन्ड लिन्थेँ। कर्मचारीलाई संक्रमण भएमा छुट्टै राख्ने प्रबन्ध मिलाएका थियौं,’ उनले भने, ‘खाने, बस्ने, उपचार गर्ने व्यवस्था गरेका थियौं। ४ सयहाराहारामी कर्मचारी संक्रमित बने। तर, कोही गम्भीर भएनन्।’

कसरी काम गर्थे स्वास्थ्यकर्मी?

स्वास्थ्यकर्मी व्यवस्थापन भइसकेपछि चिकित्सकहरू आत्मविश्वाससाथ काम गर्न थाले।

मिलाइएको सेडुलअनुसार सबै स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी निर्वाह गरे।

‘सरकारले सुरुमा संक्रमित जतिलाई उपचारमा राख्नू र नेगेटिभ भएपछि मात्रै छाड्नू भनेको थियो। हामीले त्यस्तै ग¥यौं,’ उनले भने, ‘उपचारमा रहेका बिरामीमा कुनै समस्या देखिए हामी त्यहीअनुसारको उपचार गथ्र्यौं।’

पछि नियमहरू परिमार्जित हुँदै गए। ‘सरकारबाट १४ दिन अस्पतालमा राखेर परीक्षण गर्ने भन्ने निर्देशन आयो। त्यसपछि परीक्षण नै नगरी पठाए हुन्छ भन्ने आयो। किनभने १० दिनपछि अनुसन्धानले कोरोना सर्दैन भन्ने देखाएको थियो,’ उनले भने, ‘पछि फेरि १४ दिनपछि परीक्षण गर्नुपर्दैन भन्ने आयो। परीक्षण नै नगरी बिरामीले घर जान मान्नुभएन। किनकि, नेगेटिभ नहुँदा उहाँहरूलाई समाजले स्वीकार्न सक्ने अवस्था पनि थिएन।’

उनले पछि संक्रमित बढ्दै जान थालेको अवस्थामा स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेपछि जनशक्तिकै अभाव हुने अवस्था आएको बताए। त्यसपछि सरकारले १४ दिनपछि स्वास्थ्यकर्मीमा कुनै लक्षण नभए काम गर्नू भनेकाले सोहीअनुसार व्यवस्थापन गरिएको बताए।

उनले अस्पतालमा कोरोना संक्रमित महिलाको प्रसुती गराउनेदेखि कुनै अप्रेसन गर्नुपर्ने भए वा डायलासिसका संक्रमित आउँदा सबैखाले संक्रमितको उपचार गरिएको बताए।

‘अस्पतालले जस्तोसुकै समस्या भएका संक्रमित आउँदा पनि सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भनेर त्यहीअनुसारको व्यवस्थापन गरेको थियो,’ उनले भने।

हड्डी फुटेको केसलाई तीन महिना अस्पतालमा राखेर उपचार गरिएको अनुभव डा. युवराजसँग छ।

‘आमा कोरोना पोजिटिभ छ। बच्चा जन्मियो। २४ घन्टाभित्र बच्चाको पनि परीक्षण गर्नुपर्दछ। कुनै बच्चा पोजिटिभ आइदिन्छ। कुनैमा नेगेटिभ,’ उनले भने, ‘पोजिटिभ बच्चालाई कसरी व्यवस्थापन गर्ने? परिवारका अभिभावकलाई दिन पनि मिलेन। यस्तो अवस्थामा हामीले नै बच्चालाई पाल्ने, पोस्ने, खुवाउनेलगायतका काम गर्‍याैं।

हामीले यस्ता मसिना कुरामा पनि ध्यान दिएर व्यवस्थापन गरेका थियौं।’

आमा पोजिटिभ बच्चा नेगेटिभ भएको अवस्थामा बच्चालाई परिवारको जिम्मा लगाइएको उनले बताए। भर्खर जन्मेको बच्चा र आमालाई छुट्ट्याउनुपर्दा आफूहरूको निकै मन दुख्ने उनी बताउँछन्। तर, स्वास्थ्य सुरक्षाका लागि त्यसको विकल्प नभएको उनको भनाइ छ।

जब डा. युवराज संक्रमित छुन्थे, मुख नजिकै बोल्थे…

चिकित्सकहरू पिपिइ लगाएर निकै स्वास्थ्य सावधानीसाथ बिरामी भेट्न जान्थे। डाक्टर पनि मान्छे नै हो। मनमा कतै संक्रमण भइहालिने पो हो कि भन्ने डर जो कोहीलाई हुन्छ।

‘हामी बिरामी जाँच गर्न जान्थ्यौं। बिरामीलाई धेरै गाह्रो छ भनेमात्र छुन्थ्यौं। अवस्था सामान्य भए नजिक जान्थेनौं,’ डा. युवराज सुरुवाती दिन सम्झिन्छन्, ‘पछि सबै कुरा बुझ्दै गइयो। यसको जोखिम अवस्थाबारे पनि जानकारी हुँदै गयो। र, मैले सबै बिरामीलाई छुन थालेँ। सबैको नजिकै गएर बोल्न थालेँ। पछि अरू डाक्टरहरूले पनि मेरो सिको गरे।’

उनी आफूले राउन्ड लिँदा दिनकै सयौं बिरामीलाई छोएको र नजिकै गएर बोलेको बताए। कतिपय बिरामीले अप्ठेरो मानेर मुख फर्काएर बोल्दा पनि डा. युवराज आफूले सुरक्षा मापदण्ड पालना गरेकाले बिरामीलाई नडराइ कुरा गर्न भन्दै प्रेरणा दिइरहेका हुन्थे।

उनले आफैं मधुमेह, मुटुका बिरामी भएका डाक्टरले पनि पाटनमा कोरोना बिरामीलाई हेरेको बताए। स्वास्थ्यकर्मीको धर्म पनि त्यही भएको उनको बुझाइ छ।

‘कहिलेकाहीँ गम्भीर बिरामीको श्वासनलीमा पाइप हाल्नुपर्छ। जुन कार्यमा एकदमै जोखिम हुन्छ। क्रिटिकल केयर डाक्टरलाई परिचालन गरेर त्यो काम पनि हामीले कुशलतापूर्वक गरिरहेका छौं,’ उनले भने, ‘चारैतिरबाट कहीँ कुनै त्रुटि नहुने गरी निपूर्णतासाथ काम गरिरहेका छौं।’

पाटनको व्यवस्थापन देखेर अन्य ठूला अस्पतालबाट पनि मिटिङमा आउने गरेको उनी बताउँछन्। नेपाल चिकित्सक संघको टिम नै बुझ्नका लागि अस्पताल आएको उनले बताए।

‘हामीले रोल मोडलका रूपमा पनि काम गर्‍याैं। सरकारले पनि त्यही किसिमले लियो। जनताले पनि त्यही किसिमले लिए,’ उनी हँसिलो अनुहार पार्दै भन्छन्, ‘यतिसम्म कि तत्कालीन शिक्षामन्त्रीले कोरोना संक्रमित हुँदा यहीँ आएर सेवा लिनुभयो।’

धनी मानिसले तीन दिनको साढे २ लाखको प्याकेजमा उपचार गरे पनि सरकारी स्तरबाटै यस किसिमको विश्वास हुँदा आफूहरूको पनि मनोबल बढेको उनी बताउँछन्।
अस्पतालले निःशुल्क रूपमा गुणस्तरिय उपचार गरेको र सबै जनता सेवाप्रति खुसी भएको भन्दै उनी सन्तुष्टि व्यक्त गर्छन्।

‘रेमडेसिभिर, प्लाज्माथेरापी सयौं बिरामीलाई चलायौं। सबैभन्दा पहिला अन्य अस्पतालले प्लाज्माथेरापी चलाएको समाचार आयो। तर, हामीले चलाएका थियौं। हामी मिडियामा गएनौं। पाटनले प्रपोगान्डा कहिले पनि गरेन। हामीलाई त्यो आवश्यक पनि थिएन,’ उनले भने,‘कतिपय बाहिरकै संक्रमित चिकित्सकलाई अस्पतालले सेवा पनि दियो।’

जब बिरामीको मनोविज्ञान बुझ्नुपथ्र्यो…

सुरुका दिनमा जोखिम हुन्छ भन्ने डर अत्यधिक थियो। कोरोना लाग्ने बित्तिकै झ्याप्पै ढलाउँछ कि भन्ने जो कोहीलाई लाग्थ्यो। अन्य देशमा सयौं मानिस मरिरहेका समाचार आउँथे। जसको त्रास चिकित्सकमा पनि थियो।

संक्रमित बिरामी गाह्रो हुँदासम्म अस्पताल आउनै नमान्ने र आइसकेपछि पनि गाह्रो भएको बारे भन्न डराउने गरेको अनुभव उनीसँग छ।

त्यो बेला मनोवैज्ञानिक रूपमै प्रेरित गरेर डा. युवराजको टोली उपचार गथ्र्यो।

‘सुरुका दिनमा त हामीलाई पनि डर लाग्थ्यो। पछि उपचार गर्दै जाँदा, बिरामीसँग बोल्दै जाँदा अन्य सामान्य बिरामीको उपचार गरे झैं लाग्यो,’ उनले भने।

डा. युवराज १५ लिटर अक्सिजन दिई हप्तौं राखेर बचाएका बिरामीको सम्झना गर्दै अनुहार उज्यालो पार्छन्। तर, एकैछिनमा उनको दिमागमा १५ लिटर अक्सिजनमा अस्पताल पसेका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको घटनाले अनुहार मलिन पार्छ।

‘म राउन्ड लिँदैछु, नआत्तिनुहोस्। सुधार हुँदै गएको छ। हामीले गरिरहेका छौं भन्दै बिरामीलाई सान्त्वना दिएर राउन्ड लिएर अर्को वार्डमा पुग्छु। ३५ मिनेटमा बिरामी गम्भीर अवस्था पुग्छ,’ उनी तीतो अनुभन सुनाउँछन्, ‘आएर हेर्दा पम्प दिँदादिँदै बिरामीले आँखै अगाडि अन्तिम श्वास फेर्छ। बोलेको दुई घन्टामै बिरामी गुमाएका छौं।’

पाटनमा सबैभन्दा गम्भीर बिरामी आउने हुँदा २ सयजतिले ज्यान गुमाएको उनले बताए। त्यसमा कोरोनाले मात्रै नभएर कतिपय बिरामी कोरोनासँगै मुटु रोग, मिर्गौलाका बिरामीजस्ता दीर्घरोगी भएको उनले बताए।

आत्मविश्वास ठूलो औषधी

जीवनमा सबैभन्दा ठूलो औषधी भनेको नै आत्मविश्वास भएको उनको बुझाइ छ।

‘कुनै बिरामीमा लक्षण छैन। एकदमै धेरै आत्तिने, राति सुत्न नसक्ने। अक्सिजन मापन गर्दा ९८ सम्म छ,’ उनले भने, ‘त्यस्ता बिरामी हेर्दा आत्वविश्वासको कमी भएको पाइयो। जसले गर्दा मरिहाल्छु भन्ने गरी आत्तिने गरेका थिए। उहाँहरूलाई हामीले अलिकति काउन्सिलिङ गर्‍याैं भने पूरै ठिक हुन्थ्यो।’

उनले सुरुदेखि नै कोरोना र ननकोरोनाका बिरामीलाई यो समयमा बढी एन्जाइटी भएको बताए।

‘यो बेला एन्जाइटीका बिरामी यतिसम्म बढे कि उपचारका लागि औषधी नै बाहिरबाट मगाउनुपर्ने अवस्था आयो,’ उनले भने।

सरकारसँगको समन्वय

सुरुमा स्वास्थ्य मन्त्रालयले कसरी अगाडि बढ्ने, प्राविधिक पक्ष के हो भन्ने विषयमा पाटन अस्पताललाई अध्ययनका लागि जिम्मेवारी दियो।

पहिलो चरणमा चीनको उहानमा सबैभन्दा बढी कोरोना हेरेको अस्पतालले नेपाललाई सहयोग ग¥यो। सरकारको समन्वयमा टेकु अस्पतालको एक्स्पर्ट टिमले चीनको उक्त अस्पतालसँग भिडियो कन्फरेन्स गर्‍यो।

कोअर्डिनेटर भएकाले डा. युवराजको थाप्लोमा सबैभन्दा बढी जिम्मेवारी थियो। स्वास्थ्य मन्त्रालयका उच्चअधिकारी राखेर उनको नेतृत्वमा चीनको चिकित्सक टोलीसँग प्राविधिक विषयमा छलफल भयो। जसले गर्दा आफूहरूलाई थप रणनीति बनाउन सहयोग पुगेको उनी बताउँछन्।

पाटनमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नै भिजिटका लागि गएका थिए।

‘भिजिटका क्रममा स्वास्थ्यमन्त्रीले डाक्टर साब हामीले के गरका छौं भनेर देखाउने पाटन अस्पताल नै भयो। हजुरले नै हाम्रो इज्जत बचाइदिनुभयो। हामीले देखाउने पाटन हो भनेर भन्नुभयो,’ डा. युवराज प्रफुल्लित हुँदै भन्छन्, ‘सरकारका यस्ता खाले प्रेरणाले पनि हामीलाई हौसला थप्यो।’

यसबाट सरकारप्रतिको विश्वास र लगाव आफूहरूको बढ्दै गएको उनी बताउँछन्। ‘पहिला हामीले गाइडलाइन बनायौं। उपचारका निर्देशिकाहरू मन्त्रालयले नै फ्लो गर्‍यो,’ डा. युवराजले भने।

जब उनी आफैँ संक्रमित हुन पुगे…

डा. युवाराज धेरै आत्तिने स्वभावका मानिस होइनन्। उनले ६ महिना अवधिमा जम्मा दुईपटक पिसिआर परीक्षण गरे। दुवैपटक उनको रिपोर्ट नेगेटिभ आयो। पछि उनले परीक्षण नगरेको धेरै भएको थियो।

दिवापलीको माहोल थियो। उनका धेरै साथीभाइमा संक्रमण पुष्टि भयो। परिवारका सदस्य पनि कोरोना पोजिटिभ भए। सबै पोजिटिभ देखिँदा उनले पनि पिसिआर परीक्षण गरे। तेस्रोपटक पिसिआर गर्दा उनमा कोरोना पुष्टि भयो।

भाइटिकाको दिन उनी आइसोलेसन बसेको १४ दिन पुगेको थियो। उनलाई लक्षण थिएन। सिटी भ्यालु एकदमै थोरै थियो। उनी शारीरिक रूपमा ठिक थिए। तर, पोजिटिभ भएपछि उनको लक्ष्य भने परिवर्तन भयो।

‘पोजिटिभ भएपछि लक्ष्य परिर्वतन हुँदो रहेछ। पहिला म आफूलाई कसरी संक्रमणबाट जोगिने र बिरामीलाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिन्थेँ। पछि मबाट अरूलाई नसरोस् भनेर सचेत भएँ,’ उनले भने, ‘बाहिर गए पनि मास्क लगाएर, मानिस नभएको ठाउँमा स्वास्थ्यका लागि हिँड्थेँ। मानिस छेउमा आउँदा पनि तर्किएर हिँड्थेँ।’

उनी संक्रमित हुँदा बिहान अरूलाई असर नगर्ने गरी घर नजिकै नदी किनारतिर गएर व्यायाम गर्थे।

१० दिनपछि उनलाई कोरोना नगेटिभ आयो। १४ दिनबाट डा. युवराजले काम गर्न थालिहाले।

‘म लक्षणविहीन छु। अस्पताल प्रशासनले काम गर्न हुन्छ भनेको खण्डमा म कोरोना संक्रमित भए पनि कोभिडका बिरामी हेर्छु भनेको थिएँ,’ उनले भने, ‘अस्पताल प्रशासनले जनशक्ति अभाव भएको खण्डमा त्यो पनि गरौंला भनेको थियो। म कोरोना हुँदा पनि बिरामीको उपचार गर्न मानसिकरूपमा तयार भएर बसेको थिएँ।’

उनले परिवारका सबै मान्छे अस्पताल सेवामै रहेकाले कोरोनाको जोखिमप्रति सजग रहेकाले आफ्नो काममा कहिले कुनै खाले दबाब नपरेको बताए।

उनी अहिले पनि सधैं  बिहान साढे ४ बजे उठ्छन्। दैनिक एक घन्टा व्यायाम गर्छन्। १० बजे सधैं अस्पताल पुगेर बिरामी हेर्न थालिहाल्छन्। र, आफ्नो खानामा सधैं सन्तुलन राख्छन्।

उनका परिवारले घरमा पनि उच्च स्वास्थ्य सावधानी अपनाएको छ। सबैजना एकैपटक खाना खान बस्दैनन्। एक–एक गरेर खाना खान्छन्।

अरूले त कुरा बुझेका थिए। तर, बुबाआमाले साह्रै चिन्ता गर्थे। घरका धेरै मानिस चिकित्सा क्षेत्रमा भएकाले पनि बुबाआमालाई चिन्ताले सताइरहन्थ्यो।

‘बुबाआमा हाम्रो चिन्ताले रातभरि सुत्नुहुन्थेन। उहाँहरूको छटपटीले मलाई पिरोल्थ्यो,’ उनी भन्छन्, ‘दुई–तीन महिना निद्रा परेन भन्नुहुन्थ्यो। हामी अरूको उपचार गर्ने मान्छे आफ्नो ख्याल त गरिहाल्छौं नि भन्दै आश्वस्त पाथ्र्यौं। तर, पनि बुबाआमाको मन कहाँ मान्नु!’

उनी आफूहरूकै चिन्ताले बुबाआमालाई एन्जाइटी भएको बताउँछन्। जसले गर्दा उहाँहरूले औषधी नै सवेन गर्नुपरेको थियो।

जब बिरामीले उनको खुट्टा छोए…

एकजना बिरामी निकै गम्भीर अवस्थामा पाटनमा भर्ना भए। उनको अवस्था निकै नाजुक थियो। राउन्ड लिँदा डा. युवराजले निकै परामर्श गरे। उनको मनोबल बढाए। आवश्यक पर्ने औषधी चलाए।

दुई हप्ताको कष्टकर बसाइपछि उनी कोरोना जितेर घर फर्किए। त्यसको दुई महिनापछि एकजना डा. युवराजको क्लिनकमा आए। अचानक आँखाबाट आँसु झार्न थाले। केही नबोली डाक्टरको अँगालोमा बाँधिए र सुँक्क सुँक्क गर्न थाले। एकैछिनमा उनका हात खुकुला भए। तलतल लाँदै डा. युवराजको खुट्टा छुन पुगे।

र, मुखबाट मास्क फुकाल्दै भने, ‘डाक्टर साब! मलाई चिन्नुभयो।’

डा. युवराजको उत्तर थियो, ‘मैले चिन्न सकिनँ।’

‘उहाँले भन्नुभयो तपाईंले नै मलाई बचाएको हो नि! दुई महिनापछि त उहाँ बिरामीजस्तो नै हुनुहुन्थेन। मलाई निकै खुसी लाग्यो। उहाँ मलाई भेटेर यति खुसी साट्नमात्रै आउनुभएको रहेछ। त्यो पनि मेरो व्यस्तताले भेट्न खोजेको १५ दिनपछि मात्रै भेट भएछ,’ उनी खुसी साट्छन्।

पाटनले कति संक्रमितको उपचार गर्‍यो?

यो समाचार तयार पार्दासम्म पाटनले कोरोना शंकास्पद र कोरोना गरी ४ हजार बिरामीको उपचार गरिसकेको छ। जसमध्ये ५० प्रतिशतको पिसिआर पोजिटिभ आएको थियो।

अस्पतालले कोभिड आइसियुमा २ सय ५० जनाको सेवा लिएका छन्। जसमध्ये १ सय ६० जनाले अस्पतालमा उपचार क्रममा ज्यान गुमाएका छन्।

 

भिडियो : दिनेश गोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय