कोरोना खोप लगाउनेको विवरण पेश गर्ने समयसीमा आजसम्म, ५० हजारबढीले विवरण भरे

कोरोनाविरुद्धको पहिलो चरणमा खोप लगाउनेहरुको विवरण आजसम्म पेश गर्ने समयसीमा तोकिएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, गेटमा बस्ने सुरक्षाकर्मी, काउन्टरमा बस्ने कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोरमैला व्यवस्थापन तथा सरसफाइकर्मीलाई खोप दिन लागिएको हो।

उनीहरुको विवरण विद्युतीय प्रणालीबाट संकलन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विवरण भर्नका लागि गत ८ गते सूचना निकालिएकोमा आजसम्मको म्याद दिइएको छ।

मन्त्रालयले लक्षित वर्गलाई आजसम्म विवरण पेश गर्न अनुरोधसमेत गरेको छ। आज साँझसम्म सबैको विवरण आइसक्ने अनुमान मन्त्रालयको छ। शुक्रबार दिउँसोसम्म ५० हजारबढीले विवरण भरिसकेका मन्त्रालयले जानकारी दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ देखि खोप लगाउन सुरु गरिने जानकारी दिइसकेका छन्।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप पहिलो चरणमा लगाउन लागिएको हो। टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा खोप भण्डारण गरिएको छ।

केन्द्रमा राखिएका खोपलाई सातैवटा प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र प्रादेशिक भण्डारण केन्द्रबाट आवश्यक अनुसार जिल्ला–जिल्ला पु¥याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय