गुल्मीको रुरुक्षेत्रमा ‘सुत्केरी घरभेट कार्यक्रम’

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ माघ १० गते ८:२९

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सुत्केरीको घरमै पुगेर स्वास्थ्यकर्मी पठाएर सेवा दिँदै आएको छ। यसबाट मातृशिशुको स्वास्थ्य सबल बनाउनमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ। बिगत तीन बर्षदेखि गाउँपालिकाले सुत्केरी पश्चात गरिने घरभेट कार्यक्रम (पिएनसी होम भिजिट) सञ्चालन गरेको हो।

रुरुक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले सुत्केरी घरभेट कार्यक्रमले आमा र बच्चाको स्वास्थ्य सतर्कतामा निकै सहयोग पुर्‍याएको बताए। घरभेट कार्यक्रममा सुत्केरी र बच्चाको स्वास्थ्य जाँच गरिनुको साथै परिवारका सबै सदस्यलाइ एकैठाउँ राखी सुत्केरीले खान हुने नहुने र गर्न हुने नहुने बिषयमा परामर्श दिइने जानकारी दिए। कार्यक्रम सञ्चालन भएपछि पालिकाभित्र सुत्केरीमा हुने जटिलता कम हुनुको साथै बच्चाको स्वास्थ्यमा समस्या नदेखिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए।

उनका अनुसार बच्चाको नाइटो पाक्ने, शरिरमा खटिरा आउने, जण्डिस देखिने जस्ता बच्चामा देखिने संक्रमणको समस्यामा कमी आएको छ। उक्त समयमा खोप सम्बन्धी परामर्श समेत दिइने हुँदा बच्चाको खोप तालिकाको प्रयोग समेत प्रभावकारी भएको अधिकारीको भनाइ छ।

गाउँपालिकाले नजिकका स्वास्थ्य केन्द्रहरुका स्वास्थ्यकर्मीहरु मार्फत सुत्केरीको घरमा तीन पटक सेवा दिने गरेको छ। स्वास्थ्यकर्मीहरु पहिलो सुत्केरी भएको २४ घण्टाभित्र, दोस्रो तीन दिन भित्र र तेस्रो ७ दिन भित्र सुत्केरीको घरमा पुग्ने गरेका छन्।

ग्वादी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट राजेशकुमार वलीले सुत्केरी घरभेट कार्यक्रमले आमा र बच्चामा समस्या देखिएको भए समयमै जानकारी पाउन सहयोग पुगेको बताए। आमा र बच्चाको स्वास्थ्य जाँचका साथै जटिल समस्या भएको भए रिफर पनि गर्ने हुँदा पनि यसले जोखिम कम गरेको उनले बताए।

स्वास्थ्य चौकीकी अनमी तिलका बिकले सुत्केरीको घरमा सेवा दिन पुग्दा परिवारबाट निकै माया पाउने गरेको बताइन्। मुख्य गरेर पहिलो पटक सुत्केरी भएकी महिलालाई दुध चुसाउने तरिका, खानपान र बच्चाको स्याहार सुसारको बिषयमा समस्या हुने गरेको आफूले पाएको उनले बताइन्।

रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ तल्ला ग्वादीका तीनदिन बच्चाका बुवा मधुमाधव ज्ञवालीले सुत्केरी घरभेट कार्यक्रमले मातृशिशु स्वास्थ्य सबल बनाउनमा सहयोग पुग्ने बताए। हामीकहाँ पनि स्वास्थ्यकर्मी आउनुभयो उनले भने, आमा र बच्चाको स्वास्थ्यकोबारेमा मात्र नभइ परिवारका सबै सदस्यलाई एकै ठाउँ राखेर गरेको परामर्श ठिक लाग्यो। यसबाट आमा र बच्चाको स्वास्थ्यका लागि परिवारको भूमिका पनि जानकारी पाइने रहेछ। मुख्य रुपमा आमा र बच्चाको स्वास्थ्य जाँचसँगै स्तनपान, खानपान र हेरचाहको बिषयमा परामर्श दिएको ज्ञवालीले बताए।

रुरुक्षेत्र गाउँपालिकामा गत आर्थिक बर्षमा १३९ जना सुत्केरी भएका थिए। त्यसमध्ये ५ जना जटिलयुक्त अवस्थामा सुत्केरी भएका थिए। त्यसैगरी ४ जना महिला घरमै सुत्केरी भएका थिए। कोरोना महामारीको डर र एम्बुलेन्स खोज्दै गर्दा र स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा उनिहरू सुत्केरी भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको रुरु प्राथमिक स्वास्थ्य केन्द्र, थानपति स्वास्थ्य चौकी र बलेटक्सार स्वास्थ्य चौकी गरी तीन वटा स्वास्थ्य संस्थामा सुत्केरी हुने सेवा छ।

संघीय सरकारको सशर्त कार्यक्रम अन्तर्गत गाउँपालिकाले उक्त कार्यक्रम संचालन गर्दै आएको छ। गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकामा उक्त कार्यक्रम नमुनाको रुपमा संचालन हुँदै आएको छ। त्यसका लागि रुरुक्षेत्र गाउँपालिकाका आर्थिक बर्ष २०७५/७६ मा २ लाख र आर्थिक बर्ष २०७६/७७ मा १ लाख बजेट उपलब्ध गराएको थियो। चालु आर्थिक वर्षका लागि भने डेढ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्वास्थ्य केन्द्रसम्म सुत्केरी हुन जान र फर्किनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्दै आएको छ। त्यसैगरी संघीय सरकारले गर्भवती महिलालाई निःशुल्क रूपमा दिदै आएको आइरन चक्कीमा गाउँपालिकाले क्याल्सियम चक्की थप गरि दिने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय