क्यान्सर जितेका रमेशको लोभलाग्दो व्यवसाय

कलिलैमा क्यान्सर लाग्यो, अनि छँदाखाँदाको जागिर गयो। तर, भाग्य खेर गएन, जम्यो। अनि, उनलाई व्यवसायले लखपति पनि बनायो।

झापा अर्जुनधारा नगरपालिका-१० का रमेश दाहाल (४२) ले क्यान्सर लागेपछि नै व्यवसाय सुरु गरेका हुन्। उनले सुरु गरेको व्यवसाय अहिले अजमाउँदो छ। मासिक कारोबार १२ लाखको छ। फाइदा १ लाख बढी नै हुन्छ।

समाजशास्त्र र जनसंख्याशास्त्रमा स्नातकोत्तर गरेका दाहाललाई २०६९ पुसमा अनायासै क्यान्सर देखियो। जुनबेला उनी राष्ट्रिय योजना आयोगमा करारको जागिर खाँदै थिए। जिब्रोमा क्यान्सर देखिएपछि उनको जागिर गएको हो।

उनले क्यान्सरको उपचार काठमाडौंमा नै सुरु गरे। तर, अप्रेसनपछि तत्काल रेडिएसन दिनुपर्ने चिकित्सकीय सल्लाहबमोजिम उनी चितवन गए। रेडिएसनकै लागि चितवन क्यान्सर अस्पतालमा भर्ना भएका उनले करिब एक महिना त्यहीँ बिताए।

रेडिएसन लिएपछि क्यान्सर जाती भयो। अहिलेसम्म आफूलाई कुनै समस्या नदेखिएको दाहालले सुनाए।

जिब्रोमा मासु पलाएर केही अप्ठ्यारो भएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा परीक्षण गराउँदा उनलाई क्यान्सर पुष्टि भएको थियो।

तत्काल अप्रेसन गरेर जिब्रोको केही भाग काट्नुपर्ने चिकित्सकको सल्लाहअनुसार क्यान्सर भन्ने थाहा पाएको सातौं दिनमा सोही अस्पतालमा नै उनको अप्रेसन भयो। जिब्रोको आधा भाग नै काटेर फालेको दाहालले सुनाए। जिब्रोमा क्यान्सर भयो भन्ने थाहा पाउँदा दुई कुरामात्रै मनमा आएको दाहालले स्मरण गरे।

‘मर्छु भन्ने त लागेकै थिएन। जिब्रो काटेर आधा फालेपछि बोली आउँछ कि आउँदैन भन्ने लागेको थियो,’ उनले भने, ‘बोल्ने पेसा गर्न नसकिने भएपछि के गर्ने भनेर मन पिरोलिएको थियो।’

जिब्रोमा क्यान्सर हुनुभन्दा पहिलाको तुलनामा बोलीमा केही फरक भएको दाहालले बताए। तर, बोल्न खासै समस्या नभएको उनको भनाइ छ।

राष्ट्रिय योजना आयोग, रुमटुरिड, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सामाजिक आर्थिक अध्ययन परियोजना, न्युएराजस्ता संस्थामा काम गरिसकेका दाहाल क्यान्सर उपचारपछि झापा घर फर्किए। आराम गरेर बसे।

करिब तीन वर्ष  फुर्सदमा बिताएपछि घरमै बसेर केही गर्नुपर्छ भन्ने उनमा सोच पलायो। आयआर्जनका लागि के गर्न सकिन्छ भनेर सोच्न थालेका दाहालले गाउँमै उपलब्ध हुने दूध संकलन गरेर डेरी उद्योगलाई बिक्री गर्ने योजना बुने र सुरु गरे व्यवसाय।

उनी आफ्नो योजनाअनुसार मेचीनगरको एनएमसी डेरी उद्योग गए। आफ्नो कुरा राखे। उद्योगले दूध किन्ने वचन दिएपछि दाहालले सुरुमा ४० हजार लगानी गरे।

उनले छरछिमेकमा दूध संकलन गरेर मोटरसाइकलमा दैनिक डेरी उद्योगमा पुर्‍याउन थाले। दैनिक २० लिटर दूधबाट सुरु भएको व्यवसाय बढ्यो। चिस्यान केन्द्र स्थापना गरे। चिस्यान केन्द्र सुरु गरेको चार वर्षमा लगानी  ४० हजारबाट बढेर १० लाख पुगेको दाहाल बताउँछन्।

उनले अहिले दैनिक ८ सय लिटरभन्दा बढी दूध संकलन गरेर डेरी उद्योगलाई बिक्री  गरिरहेका  छन्। ‘दूध संकलन दैनिक बढिरहेको छ, लगानी पनि त्यही अनुपातमा बढ्दै गएको छ,’ उनले भने, ‘अहिलेसम्मको लगानी दूध संकलनबाटै  कमाएको पैसा हो।’

अहिले दाहालको चिस्यान केन्द्रमा १ हजार लिटर र ४ सय लिटर दूध भण्डारण क्षमताका दुईवटा चिलिङ भ्याट छन्। उनी त्यसैमा दूधलाई चिसो पारेर राख्छन्, अनि डेरी उद्योगलाई  बेच्छन्।

सुरुमा जस्तो दाहालले अहिले  डेरीमा दूध पुर्‍याउन जानै  पर्दैन। चुथाइस्थित चिस्यान केन्द्रमा दूध लिन दैनिक डेरीको ट्याकंर नै आउँछ। दाहालले आफ्नै घरमा चिस्यान केन्द्र खोलेका छन्।

‘यो व्यवसायले मलाई राम्रो आम्दानी दिएको छ,’ उनले भने, ‘त्यस्तो बेला सुरु गरेको व्यवसाय छाडेर अरू कुनै काम गर्ने  सोचेको पनि छैन।’

अहिले महिनामा १ लाख बढी कमाइ भइरहेको उनले सुनाए। डेरी उद्योगबाट पैसा आएपछि किसानलाई उनी घरघरमै पुर्‍याइदिन्छन्। ‘हरेक १५ दिनमा डेरी उद्योगले रकम मेरो खातामा हालिदिन्छ,’ उनले भने, ‘म किसानलाई पैसा घरघरमै पुर्‍याइदिन्छु, आनन्द छ।’

क्यान्सर लाग्दा उनी अविवाहित थिए। उमेर करिब चार दशक टेक्नै लागेको थियो। क्यान्सर जाती भएपछि दाहालले चार वर्षअघि विवाह गरे। दाहाल दम्पतीको अहिले तीन वर्षे छोरा छन्।

पहिला त छोरी दिन कोही तयार भएनन्। परिवार र आफन्तले रमेशको विवाह गर्ने निधोसाथ तयारी थालेपछि गाउँकै एक परिवार उनलाई छोरी दिन तयार भयो। कौशिला घिमिरे कन्या पाएपछि रमेशको झ्याइँझ्याइँ बिहे भयो। व्यवसायमा रमेशलाई श्रीमती कौशिलाले सहयोग गर्छिन्।

क्यान्सर भन्ने बित्तिकै हामी जो कोही पनि आत्तिन्छौं। क्यान्सर लागेपछि मृत्यु नै हुन्छ भन्ने बुझाइ हामीमा व्याप्त छ। तर, समाजको अर्को पाटो हेर्ने हो भने क्यान्सरलाई जितेर जीवनलाई सहज बाटोमा हिँडाइरहेका कयौं मानिस हाम्रै समाजमा छन्। रमेश तिनैमध्येका एक हुन्।

जसले क्यान्सरलाई जितेर आफ्नो दैनिकी सहज रूपमा चलाइमात्रै रहेका छैनन्, मासिक लाखौं आम्दानी गरेर उदाहरणीय पनि बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय