खोप खरिदमा गलत कामका लागि कागजमा ‘ॐ’ पनि लेख्दिन् : मन्त्री त्रिपाठी

भारतले नेपाललाई दश लाख ‘डोज’ कोरोना खोप अनुदान सहयोग गरेको छ।

भारतले नेपाललाई दिइएको खोपलाई उपहार स्वरूप दिइएको जनाएको छ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोना महामारीसँग सारा विश्व जुधिरहेको बेला नेपाललाई दश लाख डोज कोरोना खोप उपहारस्वरुप दिन लागिएको बताएका छन्।

भारतमा खोरोनाविरुद्धको खोप अभियान सुरू भएसँगै दश लाख ‘डोज’ नेपाल आउने भएपछि आफूहरूलाई खुशी लागेको क्वात्राले जनाएका छन्।

‘वैज्ञानिकहरूको दिनरातको मिहिनेतपछि हामीले सफलतापूर्वक खोप तयार पारेका छौं,’ स्वास्थ्य मन्त्रालयले बुधबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले भने,‘भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरू भएसँगै नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको छ।’

क्वात्राले भारतबाट दश लाख डोज कोरोना खोप यही साताभित्र नेपाल आइपुग्ने समेत बताए।

‘कोरोना महामारी सुरू भएसँगै भारतले पीसीआर, पीपीईलगायतका सामग्री सहयोग गरेको थियो,’ क्वात्राले भने,‘अहिले कोरोना खोप सहयोग गराउन पाउँदा खुशी लागेको छ। भारतमा निर्मित खोप विश्व समूदायको हितमा प्रयोग हुन्छ। खासगरेर छिमेकी मुलुकमा।’

उत्पादनपछि भारतबाहिर पहिलोपटक कोरोना खोप नेपाल आउन लागेको बताउँदै उनले दुई देशबीचको प्रगाढ सम्बधलाई यसलेपनि पुष्टि गरेको जिकिर गरे।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गएको साता भएको भारत भ्रमणमा विदेशमन्त्री एस।जयशंकरसँग कोरोनाबारे गम्भीरताका साथ कुराकानी भएको क्वात्राले बताए।

‘भारत भ्रमणका क्रममा दुवै देशका समकक्षी मन्त्रीबीच कोरोना महामारी र खोपबारे प्राथमिकताका साथ छलफल भएको छ,’ क्वात्राले भने,‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजीको भारत भ्रमणको एक साता नबित्दै खोप आउन लागेपछि हामीलाई खुशी लागेको छ।’

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले अनुदानस्वरुप सहयोग गरेको कोरोनाका दशलाख खोप बिहीबार नेपाल आइपुग्ने जानकारी गराए।

‘मैले त फागुनसम्म खोप आउँछ भनेको थिएँ, तर भोलि नै आउने भएको छ। शायद मलाई अब कारबाही हुँदैन होला,’ त्रिपाठीले भने।

भारतबाट आउनलागेको दश लाख खोपको भण्डारण र ढुवानीको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए।

भारतबाट भोली दशलाख खोप काठमाडौंमा अवतरण गर्दैछ,’ उनले भने,‘भण्डारण र ढुवानीका लागि हामीले सबै तयारी पूरा गरिसेका छौं।’

खोप दिइने ७२ प्रतिशतलाई चिन्ह्ति गरिएको र पहिलो चरणमा त्यसमध्ये ३ प्रतिशतलाई खोप लगाइने उनले बताए।

मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, एम्बुलेस चालक र शव व्यवस्थापनमा खटिएकालाई कोरोनाविरुद्धको खोप दिइने छ।

भारतले अनुदानमा दिएको बाहेक आवश्यकपर्ने खोप खरिद गर्नपनि तयारी पूरा भइसकेको त्रिपाठीले बताए।

प्राविधिक र प्रशासनिक सबै तयारी पूरा भइसकेको छ, खरिद गर्नपनि जटिलता रहेन्’ उनले भने,‘बाँकी खोप पारदर्शी ढंगले खरिद गरिन्छ। गलतकामका लागि कागजमा म ‘ॐ पनि लेख्दिन्।’

भारतले कोरोना खोप सहयोग गर्नु नेपाल–भारतबीच मित्रताको अनुपम उदाहरण रहेको बताउँदै त्रिपाठीले आगामी दिनमा खोप खरिदका लागि भारतको सहयोग महत्वपूर्ण हुने उल्लेख गरे।

खोप सहयोग गरेकोप्रति मन्त्री त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय