भारतले आजबाट छिमेकी देशलाई कोरोना खोप पठाउँदै, नेपालले कहिले पाउँछ?

हेल्थपोस्ट नेपाल

भारतले आजबाट कोरोनाको खोप छिमेकी राष्ट्रहरुमा पठाउन सुरु गर्दैछ। भारतमा तयार भएको कोविशिल्ड र कोभ्याक्स यसक्रममा पठाइनेछन्।

भारतले आज लाखौं डोज खोप पहिलो चरणमा भुटान र माल्दिभ्समा पठाउने तयारी गरेको छ। ती सबै खोप भारतले अनुदान सहायताका रुपमा छिमेकी मुलुकलाई उपलब्ध गराउने बताएको छ।

नेपालले कहिले पाउँछ?

भारतको विदेश मन्त्रालयले नेपालमा पनि यसै साता खोप पठाइने बताएको छ। उसले माल्दिभ्स र भुटानपछि नेपालमा खोप पठाउने तयारी भएको बताएको छ। सम्भवतः आज या दुईतीन दिन भित्र नेपालमा खोप पठाउने तयारी मन्त्रालयको छ।

नेपालसहितका ६ देशमा भारतले यसै साता कोरोना खोपहरु उपलब्धताका आधारमा पुर्याइसक्ने बताएको छ। जसमा नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसल्स रहेका छन्। नेपालले भारतसँग सुरुवातमा १० लाख डोज खोपका लागि अनुरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भुटानलाई भारतले आज १ लाख ५० हजार खोप पठाउँदैछ भने माल्दिभ्सले १ लाख खोप पाउनेछ। माल्दिभ्स सरकारले पहिले स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध खटिएका तथा प्रहरीलाई खोप दिने बताएको छ।

भारतले आफ्नो ‘खोप कुटनीति’ अन्तर्गत छिमेकी मुलुकलाई पहिलो प्राथमिकतामा राखेको बताएको छ।

भारतले सुरुमा आफ्ना छिमेकी राष्ट्र र त्यसपछि अन्य देशका लागि खोप निर्यात गर्ने बताएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबारमात्रै भारत भ्रमणबाट फर्किएका थिए। भ्रमणका क्रममा उनले खोपका लागि कुराकानी गरेका थिए।

भारतले विश्वकै ठूलो कोरोनाविरुद्धको खोप अभियान शनिबारदेखि सुरु गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *