खोपको दौडमा गरिब देशलाई पछि नपार्न धनी राष्ट्रहरूलाई डब्ल्युएचओको अपिल

विश्व स्वास्थ्य संगठनले धनी देशहरूले खोप हत्याउने होडमा गरिब देशहरू पछि छुट्नसक्ने चिन्ता व्यक्त्त गरेको छ।

सोमबार संगठनको एउटा सभालाई सम्बोधन गर्दै संगठनका कार्यकारी प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त्त गरेका हुन्। उनले धनी देशहरूले पहिला ‘आफैंलाई खोप’ भन्ने मानसिकताले गरिब मुलुकले खोप नपाउने चेतावनी पनि दिए।

‘एकातिर खोपका विकास भइरहेका छन् त्यसले विश्वमा एकप्रकारको आशा त जगाएको छ तर सँगै अर्कोतर्फ धनी र गरिब देशहरूबीचको असमानता पनि छ’, उनले भने, ‘खोप वितरणमा यही असमानता पर्खाल भएर खडा हुन्छ कि भन्ने डर छ।’

उनले धनी देशका मानिसले मात्रै खोप लगाउने र गरिब देशहरूले खोप नपाउने स्थिति रह्यो भने यो महामारी वर्षौसम्म रहिरहने चेतावनी पनि दिए।

‘यो राम्रो हो कि सबै देशहरूले जोखिममा रहेका स्वास्थ्यकर्मी र वृद्धहरूलाई खोपका लागि पहिलो प्राथमिकता दिएका छन् तर, धनी देशमा युवाहरूले पनि पाउने अनि गरिब देशका स्वास्थ्यकर्मी र वृद्धहरूलेसमेत खोप नपाउने अवस्था सिर्जना नहोस् भन्ने हाम्रो चाहना हो।’

विश्वका ४९ धनी राष्ट्रले करिब ४ करोड डोज खोप लगाइसक्दा गरिब देशमा जम्मा २५ प्रतिशतमात्रै खोप पुगेको उनले बताए।

उनले विश्वस्तरीय खोप सन्जाल कोभ्याक्समा खोप जम्मा गर्न र त्यसमा सहभागी हुनका लागि पनि विश्वका सबै देशहरूलाई आह्वान गरेका छन्।

अहिलेसम्म १८० देश यसमा जम्मा भएका छन्। यसको कोषमा जम्मा भएको रकमले अहिलेसम्म संगठनले विभिन्न खोप निर्माता कम्पनीसँग करिब २ अर्ब डोज सुरक्षित गरिसकेको छ। आफ्ना सदस्य राष्ट्रहरूलाई कम्तीमा २० प्रतिशतका दरले खोप वितरण गर्ने योजनामा विश्व स्वास्थ्य संगठन छ। त्यसका लागि नेपालसहित करिब ९२ राष्ट्रको सूची संगठनले तयार पारेको छ।

‘मेरो मुख्य चुनौती भनेकै आगामी अप्रिल ७ को विश्व स्वास्थ्य दिवससम्ममा विश्वका सबै देशमा खोप अभियान सुरु होस् भन्ने हो। यसले महामारी र असमानताविरुद्ध थप आशा जगाउनेछ भन्ने मेरो चाहना छ।’, उनले भने।

उनले अहिले विश्का धनी राष्ट्रहरूले खोप नियन्त्रणको होडबाजी चलाएको भन्दै यसप्रति गहिरो चिन्ता व्यक्त्त गरे।

‘म अलि कडा बोल्नुपर्ने भएको छ’, उनले भने, ‘विश्व अहिले नैतिक विफलताको डिलमा छ। र, यसको मूल्य गरिब देशका गरिब जनताले तिर्नुपर्ने अवस्था आउनेछ।’

छिमेकी भारतले पनि आफ्नै देशमा उत्पादन भएका दुई खोप लगाउन सुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय