एकातिर भ्याक्सिन, अर्कातिर कोरोनाको नयाँ प्रजाति : फेरि अर्को कहर बन्ला २०२१?

विश्वभरि नै महामारी र प्लेग फैलिएको यो नै पहिलोपल्ट होइन।

इतिहासको पाना पल्टाउँदा कोभिड-१९ भन्दा पनि खतरनाक र भयावह मच्चाएका महामारी हाम्रा पुर्खाले झेलिसकेका छन्।

इशापूर्व ४३० मा ‘एथेन्स’, सन् १६५ मा ‘एन्टोनिन प्लेग’, २५० मा ‘साइप्रियन प्लेग’, ५४१ मा ‘जस्टेनियन प्लेग’, ११ औं शताब्दीमा ‘कुष्ठरोग’, १३५० मा ‘द ब्ल्याक डेथ’, १४९२ मा ‘कोलम्बियन एक्सचेन्ज’, १६६५ मा ‘लन्डन प्लेग’ र १८१७ मा पहिलो ‘हैजा’ महामारी भएको थियो।

त्यस्तै, १८५५ मा ‘बुबोनिक’ महामारी, १८७५ मा ‘दादुरा प्रकोप’, १८८९ मा ‘रसियन फ्लु’, १९१८ मा ‘स्पेनिस फ्लु’, १९५७ मा ‘एसियन फ्लु’, १९८१ मा ‘एचआइभी एड्स’ र २००३ मा ‘सार्स कोभिड’ प्रकोप मानव सभ्यताले झेलेको थियो।

यी सबै महामारी प्राणघातक थिए। कति महामारी विश्वबाटै हटेर गएका छन् भने कति अझै पनि छन्।

त्यस्तै, २०१९ मा आएको कोभिड–१९ महामारी अझै रोकिएको छैन।

अहिले पनि दैनिक हजारौं मानिसहरु संक्रमित भइरहेका छन् भने २० लाखभन्दा बढीको मृत्यु भइसकेको छ।

कैयौं स्वास्थ्यविज्ञ तथा वैज्ञानिकले अब कोरोनासँगै जिउनुपर्ने समय आउन सक्छ भनिरहेका छन् भने, कयौं खोप विकाससँगै कोरोना हराउँदै जाने आशमा छन्।

०००

कोभिड–१९, जसलाई सार्सकोभ–२ को नामबाट चिनिन्छ, यो भाइरसले एक वर्षमा करोडौं मानिसलाई संक्रमित गरेर अब आफ्नो रूप परिवर्तन गर्न थालेको छ।

सार्सकोभ–२ को जेनेटिक प्रक्रिया अध्ययन गरेर वैज्ञानिक तथा ठूला राष्ट्रले यसविरुद्ध खोप बनाएका थिए।

नेपालका भाइरोलोजिष्ट डाक्टर वासुदेव पाण्डेका अनुसार भाइरसको जिन अध्ययन गरी विश्वभरि झन्डै ३ सय प्रकारका खोप विकास भएका छन्। तीमध्ये ६८ वटा खोप क्लिनिकल ट्रायल अर्थात तेस्रो चरणमा छन्।

त्यस्तै, खोप परीक्षणका सबै विधि पूरा गरेर लगाउन विश्व स्वास्थ्य संगठनमा पास भएका १० वटा खोप बजारमा प्रतिस्पर्धामा आइसकेका छन्।

प्रविधि विकाससँगै द्रूत गतिमा विकास भएको खोप प्रयोग गर्न नपाइकन नै नयाँ प्रकारको भाइरस उत्पन्न भइसकेको छ।

बजारमा खोपहरूको विश्वयुद्ध सुरु हुनै लाग्दा नयाँ खालको भाइरस उत्पन्न भएको छ। यी खोपको प्रभाव होला–नहोला भनेर विश्वमै विवाद सुरु भएको छ।

बेलायतबाट देखिन सुरु भएको नयाँ भाइरस हाल ५० देशमा फैलिसकेको छ। अफ्रिका र जापानमा पनि बेलायतमा ‘म्युटेसन’ भएका भाइरसभन्दा फरक किसिमका भाइरस देखिएका छन्।

यति धेरै खोपको अनुसन्धान भइरहँदा पनि भाइरसका हरेकपटकको बदलावले संसारबाट हट्दै जान्छ भन्ने कुरामा अन्योल सिर्जना गरिदिएको छ।

जापानमा देखिएको नयाँ भाइरसको म्युटेसनपछि विश्व स्वास्थ्य संगठनले २०२० भन्दा २०२१ झनै कठिन हुने पूर्वानुमान गरेको छ।

बेलायतमा देशभरि ‘लकडाउन’ गरेता पनि गत बुधबार सबैभन्दा बढी मानिसको मृत्यु भएको रेकर्ड बनेको थियो।

जनवरी १३ मा बेलायतमा एकै दिन १ हजार ५ सय ६४ जनाको  मृत्यु भएको थियो, जुन मार्चपछिको उच्च  संख्या भएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।

नयाँप्रकारको भाइरसको जोखिम एकदमै बढेको छ भने पश्चिमा देश अमेरिकामा खोप लगाउन सुरु गरिसक्दा पनि संक्रमित संख्या कम हुन सकेको छैन।

भाइरस मार्नेभन्दा मानिसको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने खोपको विकासमात्र हालसम्म भइरहेको छ।

भाइरोलोजिस्ट पाण्डेका अनुसार भाइरसका प्रजातिहरू अनगिन्ती हुन्छन् र हरेक प्वाइन्टमा म्युटेसन गर्नसक्छन्। म्युटेसन हुँदा भाइरसले प्रोटिनमा परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने कुरा हो। यदि प्रोटिनमा परिवर्तन आयो भने बनिरहेका खोप काम नलाग्न सक्छ।

‘कोरोना भाइरसको म्युटेसन भएर बनेको भाइरस एकदम खतरनाक र फैलन सक्ने खालको हुन्छ, तर वैज्ञानिकहरूका अनुसार सार्स कोभिड–२ का लागि बनाइएको खोपले हालका लागि पनि काम गर्छ,’ पाण्डेले भने, ‘खोपले अब आउने भाइरसविरुद्ध काम गर्छ, गर्दैन भनेर भविष्यमै थाहा हुन्छ, तर हाल म्युटेट भएर बेलायत, अफ्रिका, जापानमा आएका नयाँ भाइरसविरुद्ध खोपले काम गर्नेछ।’

नयाँ भाइरस आयो भने त्यहीअुनसार खोप पनि नयाँ बनाउँदै लानुपर्ने उनले बताए।

इन्फ्लुएन्जा भाइरसको उदाहरण दिँदै उनले उक्त भाइरसले आफ्नो रूप परिवर्तन गरिराख्ने हुनाले प्रत्येक वर्ष यसको खोप नयाँ बनिरहेको बताए।

त्यस्तै कोरोना भाइरसको पनि रूप परिवर्तन भइराख्ने हुनाले हरेक वर्ष नयाँ खोप बनाउनुपर्ने सम्भावना हुन्छ।

यसका लागि विश्वभरि रहेका भाइरस संकलन  गरेर त्यसको जेनेटिक मेटेरियल विश्व स्वास्थ्य संगठनमा राख्ने र आएका खोपहरूले के–के भाइरसलाई काम गर्छ भनेर अनुसन्धान गर्दै जानुपर्छ।

‘कोरोना भाइरसमा यति छिटो परिवर्तन हुने खालको गुण छैन। तर पछिल्लो समयमा बेलायत र अफ्रिकामा नयाँ प्रजातिका भाइरस देखिएकाले थप अध्ययन गर्नु जरुरी छ,’ पाण्डेले भने।

विश्वभरि लाखौं भाइरसको जेनेटिक अध्ययन गरिएको छ जसमा नेपालमा पनि १५ वटाको अध्ययन गरिएको छ। उनका अनुसार अध्ययन गरेता पनि भ्याक्सिन बनाउन विभिन्न तरिका अपनाइन्छ।

जस्तै, मोडर्नाको खोप आरएनए भ्याक्सिन हो, भने नेपालमा ल्याउन तयारी रहेको खोप भनेको एडिनोभाइरससँग अर्को भाइरस मिसाएर बनाइन्छ, जुन अस्ट्राजेनिकाले पठाउने छ।

नयाँ म्युटेट हुँदै आएका भाइरसविरुद्ध पनि हरेक वर्ष नयाँ खोप निकाल्नुपर्ने सम्भावना भएको हुँदा भ्याक्सिनको विश्वयुद्ध सफल हुन पनि सक्छ भने, नराम्ररी असर पनि गर्न सक्छ।

यति छोटो समयमा खोप निकाल्नु कुनै सजिलो काम होइन, तर उत्पादन गर्न सक्ने देशले धेरै र कम मूल्यमा बनाइदिए खोपको पनि बजारमा अभाव नहुने र विगतका जस्तै थरिथरीका ब्रान्डका नाममा उत्पादन बढ्दै जानेछन्।

विश्व स्वास्थ्य संगठनले भनेजस्तै २०२१ त्यति कठिन नहुने बताउँछन् डाक्टर पाण्डे।

‘यो भाइरस कम्युनिटीमा रहिरहन्छ,’ उनी भन्छन्।

तर, २०२० जस्तै धेरै मानिसलाई संक्रमण गर्ने र मृत्युको मुखमा पुर्‍याउन भने कम हुँदै जाने उनी बताउँछन्।

‘२०२१ मा पहिलेको जस्तो सहज स्थिति त आउँदैन तर २०२० भन्दा धेरै कम हुन्छ, किनभने मानिसले आफूलाई कसरी बचाउने भन्ने कुरा सिकिसके भने रोगसँग लड्ने क्षमताको पनि विकास हुँदै जान्छ,’ डाक्टर पाण्डे भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय