भारतले केही साताभित्रै नेपालमा कोरोना खोप पठाउने

भारतले केही साताभित्रै छिमेकी देशहरूमा कोरोनाविरुद्धको खोप पठाउने भएको छ। यसलाई भारतले आफ्नो ‘खोप कुटनीति’ भनेको छ।

भारतले सुरुमा आफ्ना छिमेकी राष्ट्र र त्यसपछि अन्य देशका लागि खोप निर्यात गर्नेछ। छिमेकी देशमध्ये सबैभन्दा पहिलो नम्बरमा नेपाललाई राखिएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबारमात्रै भारत भ्रमणबाट फर्किएका थिए। भ्रमणका क्रममा उनले पनि खोपका लागि कुराकानी गरेका थिए। त्यसक्रममा उनका समकक्षीले प्रधानमन्त्री मोदीको सन्देश सुनाएका थिए। मोदीले खोप अभियानका सुरुवात गर्नुपर्ने भएका कारण आफूले भेट गर्न नपाएको र नेपालका लागि खोप सुनिश्चित गरिएको प्रतिवद्धता सन्देश ज्ञवालीलाई दिएका थिए।

भारतले विश्वकै ठूलो कोरोनाविरुद्धको खोप शनिबारदेखि सुरु गरेको छ। भारतमा पहिलो दिनमै २ लाखभन्दा धेरै मानिसलाई खोप लगाइएको छ। सुरुमा ३ करोड सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ। त्यसका लागि सेरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्स’ दुबै खोप प्रयोगमा ल्याइएको छ।

नेपालले पनि ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

भारतले नेपालसँगै भुटान, बङ्गलादेश, म्यानमार, श्रीलङ्का, अफगानिस्तान, माल्दिभ्सलगायतका देशमा पहिलो चरणको खोप निर्यात गर्ने जनाएको छ। त्यसपछिमात्रै भारतले तेस्रो देशमा खोप निर्यात गर्नेछ।

नेपालले अहिले भारत सरकारसँगमात्रै खोप किन्ने प्रस्ताव गरेको छ। तर केही देशले भने कम्पनीसँग नै सम्झौता गरिसकेका छन्। म्यानमारले सेरम इन्स्टिच्युटसँग खोप किन्ने सम्झौता गरिसकेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले श्रीलङ्काको नेतृत्वसँग पनि खोप पठाउन प्रतिवद्धता गरेका छन्। भारतले छिमेकी देशलाई निर्यात गर्ने खोपको मूल्य धेरै महंगो नहुने र सकभर भारतमै उपलब्ध मूल्यमा दिने योजना बनाइरहेको विदेश मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै जय शंकरले नेपालमा पहिलो प्राथमिकताका साथ खोप पठाउन भारत प्रतिवद्ध रहेको बताएका थिए। नेपालले सरकारसँगै सम्झौता गरेर खोप किन्ने नीति अख्तियार गरेको छ भने निजी क्षेत्रलाई पनि खोप किन्न अनुमति दिएको छ।

कोरोना खोप लगाइ सकेपछि भारतमा केहीमा त्यसको ‘केही’ असर देखिएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४४७ जनामा खोपको साइड इफेक्ट देखिएको छ। त्यसलाई चिकित्सकहरूले एइएफ़आई (एडभर्स इभेन्ट्स फलोइङ इम्युनाइजेशन) भनेका छन्। त्यसबाट कोही पनि गम्भीर नभएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय