अलबिदा अब्बल डाक्टर मास्के!

भेट्नासाथ टाढैबाट हँसिलो मुहारसाथ न्यानो हार्दिकता। मिजासिलो बोली। सँगै ठट्यौली पारा।

डा. सिपी मास्केको नाम सम्झिनासाथ वरिष्ठ युरोलोजिस्ट डा. भोलाराज जोशीको स्मृतिमा नाच्ने तस्बिर हो यो।

आइतबार डा. मास्केको निधनको खबर पाउनासाथ जोशीको मन-मतिष्कमा त्यही तस्बिर घुमिरह्यो।

नेपालका अग्रणी युरोसर्जन (मुत्रप्रणाली शल्यचिकित्सा) थिए डा. मास्के।

क्लिनिकल र व्यवस्थापकीय जीवनमा उनले धेरै महत्वपूर्ण काम गरे।

मिर्गौला र मुटुसम्बन्धी रोगसँग लामो समयदेखि जुधिरहेका मास्के पछिल्लोपटक कोरोना संक्रमणसँगै कोभिड निमोनियासँग पराजित भए।

मास्के सर्जरी विधा साथै प्राध्यापन‌ क्षेत्रमा पनि अब्बल थिए। मास्केलाई धेरै सहकर्मी तथा युरोलोजिस्टहरू गम्भीर विषयवस्तु पनि ठट्यौली शैलीमा सिकाउन सक्ने चिकित्सकका रूपमा चिन्छन्।

नेपालकै वरिष्ठतम चिकित्सकमध्येका एक भएर पनि मास्केमा न सफलताको उन्माद थियो न वरिष्ठताको दम्भ।

उनीमातहतका कर्मचारीदेखि चिकित्सक विद्यार्थीप्रति अत्यन्तै नम्र व्यवहार गर्थे। जसले गर्दा धेरै चिकित्सक उनको व्यक्तित्वप्रति नतमस्तक रहन्थे।

त्रिवि शिक्षण अस्पतालको सर्जरी विभागमा डा. मास्केसँग काम गरेका डा. जोशीले उनी अब्बल, कुशल र मिलनसार चिकित्सक भएको बताए।

‘सिनियर भएर पनि हामीहरूसँग उहाँको व्यवहार साथीभाइको जस्तो हुन्थ्यो,’ डा. जोशी भन्छन्, ‘उहाँ सहकर्मीसँग नजिक बन्न र हार्दिकता देखाउन अधिकांश समय ख्यालठट्टा गरिरहनुहुन्थ्यो।’

७९ वर्षे मास्के कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत थिए।

०००

दुर्गम तेह्रथुमको जलजला गाविसमा जन्मिएका मास्के शिक्षण अस्पतालका निर्देशक, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का उपकूलपतिसमेत भए।

मास्केले भारतबाट एमबिबिएस र बेलायतबाट एफआरसिएस गरेका थिए। बेलायतमा एफआरसिएससँगै उनी त्यतै सेटल हुने अवसर छाडेर नेपाल फर्किएका थिए।

नेपालमा मुत्रप्रणाली सम्बन्धी रोगको उपचार सुरुवातको श्रेय डा. मास्के र डा. विश्वराज दलीलाई जान्छ।

उच्च तहको क्लिनिकल डिग्री लिएर फर्किएपछि पनि मास्के दुर्गम गएर शल्यचिकित्सा र मुत्रप्रणाली सम्बन्धी सेवा प्रदान तल्लिन रहे।

‘उहाँले धेरै जिल्ला अस्पतालमा सर्जरी सुरुवात गर्नुभएको थियो,’ वीर अस्पतालमा लामो समय सेवा गरेर अवकास पाएका अर्का युरोसर्जन डा. विश्वराज जोशी भन्छन्।

डा. मास्के (न्याम्स) को उपकूलपति रहँदा डा. विश्वराज जोशी रजिस्ट्रार थिए। तर, कर्मचारी आन्दोलनका कारण न्याम्समा काम गर्न सहज नभएपछि डा. मास्केले कार्यकाल बाँकी छँदै राजिनामा दिएका थिए।

डा. मास्केकी श्रीमती पनि एनेस्थेसियोलोजिस्ट चिकित्सक थिइन्। केही समयअघि उनको पनि निधन भएको थियो।

‘उहाँहरू दुवैजना मिलेर धेरै जिल्ला तथा अञ्चल अस्पतालमा सर्जरी गरेर देखाउनुभएको थियो,’ डा. विश्व भन्छन्, ‘नेपालमा युरोलोजी सेवाको विकास गर्न उहाँहरूको देन अतुलनीय छ।’

त्यस्तै, मास्के सर्जरीका साथै असल शिक्षक पनि थिए।

जस्तोसुकै अप्ठ्यारो विषयलाई पनि सरल भाषामा बुझाउने खुबी डा. मास्केमा रहेको चिकित्सकहरू बताउँछन्। मास्केको सर्जरी टिममा काम गरेर प्राज्ञिक कोर्स गरेका सबैजसो चिकित्सक अब्बल छन्।

मास्कसँगको क्लास धेरै चिकित्सकका लागि निकै महत्वपूर्ण थियो। ‘उहाँको जस्तो सरल भाषामा विद्यार्थीमा बुझाउने क्षमता जोकोहीमा हुँदैन,’ डा. विश्वराज भन्छन्।

डाक्टर भोलाराजका अनुसार मास्केको क्लास हाँसोमय हुन्थ्यो। र, विद्यार्थी बाहिर निस्किँदा प्रसन्न देखिन्थे। ‘बेलाबेला जोक्स भनेर विद्यार्थीहरूलाई याद गराउने उहाँमा खुबी थियो,’ उनी सम्झिन्छन्।

मातहतका सर्जनलाई हातै समातेर सिकाउने महत्वपूर्ण गुण मास्केमा रहेको डा. विश्वराज बताउँछन्। ‘कहिलेकाहीँ यतिसम्म गर्नुहुन्थ्यो कि, बिरामीको रगत आउँदा डराउनुहुन्न। रगत गएको देखाएर, यसरी उपचार गर्नुपर्छ भनेर सिकाउनुहुनथ्यो,’ उनी भन्छन्, ‘प्राक्टिल किसिमबाट बुझाउने क्षमता उहाँमा थियो।’

मास्केले आफ्नो जीवनकालमा धेरै सर्जनलाई दक्ष बनाएका थिए।

‘उहाँ उपकूलपति हुँदा म रजिस्ट्रार भएर काम गरेको थिएँ,’ डा. विश्वराज भन्छन्, ‘ससना कुरा पनि अरूको सुनेर निर्णय लिने उहाँको बानी थियो।’

डा. मास्केले पाटन राष्ट्रिय विज्ञान प्रतिष्ठानमा सेवा आयोगको सदस्य भएर पनि काम गरेका थिए।

त्यसैगरी नेपाल एसोसिएन अफ युरोलोजिकल सर्जनको उनी संस्थापक सदस्यसमेत थिए। केही वर्षअघि उनलाई एसोसिएनले सम्मानित गरेको थियो।

‘म त्यसबेला पोखरामा कार्यरत थिएँ। एक सम्मेलनमा हाम्रो भेट भएको थियो। साथीभाइसँग मेरो कामलाई प्रशंसा गर्नुभएको थियो,’ डा. विश्वराज सम्झिन्छन्, ‘उहाँ आफू कार्यरतबाहेकको संस्थाहरूमा भएका कामको पनि उत्तिकै प्रशंसा गर्ने र अझै राम्रो गर्न प्रेरणा दिनुहुन्थ्यो।’

क्लिनिकबाहेक जनस्वास्थ्य क्षेत्रमा पनि डा. मास्केले उल्लेखनीय योगदान गरेका थिए।

उनले केही समय विश्व स्वास्थ्य सगंठनको परिवार नियोजनसम्बन्धी परामर्शदाताका रूपमा बंगलादेशमा काम गरेका थिए।

बंगलादेशमै कार्यरत रहँदा उनलाई मुटुमा समस्या देखिएपछि बाइपास सर्जरी गरिएको थियो। केही समयअघि मिर्गौलामा समेत समस्या देखिएर उपचार भइरहेको थियो। यहीबीच महामारी चपेटामा परेपछि भने डा. मास्के सदाका लागि बिदा भए।

डा. मास्केले नेपाली चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदान युगौंयुगसम्म बाँचिरहने छ।



2 thoughts on “अलबिदा अब्बल डाक्टर मास्के!

  1. Few corrections to bring out the fact. He was ousted as VC of NAMS for being too political. For backing up NAMS staffs who staged disrespectful exit of preceding VC Dr VR Dali. For failing to impress Congress health minister in deals. For being abandoned by his Mao party for failing to consolidate Maoist position in NAMS. And last but not the least, for disregarding Resident Doctor’s simple and basic apolitical demands of free treatment, improvement of basic residency amenities and increasing ever static stipend. May his soul rest in eternal peace.

    1. Dr. Joshi,

      Have some respect. He was not ousted but resigned. Try to accomplish *half* what he had accomplished in the medical field. I will respect you for that.

      MBBS King George Medical College.
      FRCS Royal College of Surgeon
      Urology -UK
      TUTH – Director
      VC – you know about it. Do you think you will be able to reach that status in this life time?
      WHO Consultant in Bhutan and Bangladesh

      Alan

Leave a Reply to Alan Cancel reply

Your email address will not be published. Required fields are marked *