प्रसुती अस्पतालमा ५ सय ९८ दरबन्दी थप्न प्रस्ताव,बेड संख्या पनि थपिँदै

दैनिक एक हजारभन्दा बढी बिरामी स्याहार्दै आएको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा जम्मा ६८ जनाको सरकारी दरबन्दी छ।

यो २०६४ सालको दरवन्दी हो।

अस्पताल प्रशासनका अनुसार ११ औं तहमा ८ जना, ९ र १० औं तहमा १७, ८ औं तहमा १२ जना चिकित्सकको सरकारी दरबन्दी छ।

त्यसैगरी, नर्सिङतर्फ ९ र १०, ८ औं तहमा १—१ जना, ५,६, ७ औं तहमा २० जना र ४,५,६ तह (अनमि) मा ५ जनाको दरबन्दी छ।

अस्पतालमा विकास समिति तर्फबाट ५ सय ८२ जनाको जनशक्ति छन्। विकास समितिको जनशक्तिबाट नै सेवा सन्चालन भइरहेका छ।

‘अहिले हामीसँग सरकारी तर्फबाट ६८ जनाको मात्र दरबन्दी छ,’ निर्देशक डा. संगिता मिश्रा भन्छिन्, ‘विकास समितिको जनशक्तिबाट काम चलाएका छौं।’

५ सय ९८ दरबन्दी माग, अस्पतालमा बेड संख्या थपिँदै

नेपाल सरकारले बिरामीको संख्यामा वृद्धि हुँदै गएपछि केन्द्रीय अस्पतालहरूमा अर्गनाइजेशन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे गरिरहेको छ।

यसैबीच, प्रसुती अस्पतालले पनि थप ५ सय ९८ दरबन्दी लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव गरेको छ।

२०१६ सालबाट ४० बेडबाट प्रसुति अस्पताल सन्चालनमा आएको थियो। हाल अस्पतालको स्वीकृत बेड संख्या ४ सय १५ छ। तर, बिरामीको चाप बढेकाले अस्पताल बेड थप गरेर ४ सय ८९ सन्चालन गरिरहेको छ।

ओएनएम सर्भे मार्फत अस्पताल बेड संख्या ७ सयबेडको लागि प्रस्ताव गरिएको छ।

बिरामीको चापको अनुपातमा दरबन्दी वैज्ञानिक खालको नहुनु, अस्पतालको सेवा विस्तार भएका कारण जनशक्ति थप गर्नुपरेको डा. मिश्राको भनाई छ।

अस्पतालमा प्रसुती सेवा मात्र नभएर स्त्री रोग सम्बन्धि सेवा विस्तार भइरहेका कारण थप जनशक्ति आवश्यकता परेको अस्पताल प्रशासनले जनाएको छ।

‘हामीले अस्पताल ७ बेडको बनाउन र थप ५ सय ९८ दरबन्दी स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरेका छौं,’ डा. मिश्राले भनिन्, ‘मन्त्रालयमा छलफल चलिरहेको छ। प्रस्ताव पारित होला।’

अस्पतालले पठाएको प्रस्ताव मन्त्रालयमा व्यवहारिक छ, छैन भनेर छलफल चलिरहेको उनले जानकारी दिइन्।

‘एक पटक अस्पताल र मन्त्रालयबीच प्रारम्भिक छलफल भएको छ। मन्त्रालयको नीति योजना महाशाखाबाट स्वीकृत भएपछि सचिव ज्युकोमा पेस हुन्छ। जुन ओएनएम सर्भे अर्थ मन्त्रालय र संघीय मन्त्रालयमा छलफलमा जान्छ,’ उनले भनिन्।

यस्तो छ प्रस्तावित सरकारी दरबन्दीको संख्या

अस्पतालले ११ औं तहको लागि १० जना दरबन्दी प्रस्ताव गरेको छ।

त्यसैगरी, ९ र १० औं ५४, ८ औं तहको ६५ जना चिकित्सक प्रस्ताव गरेको छ।

३ सय ९५ जना नर्सिङ क्षेत्रमा प्रस्ताव गरेको अस्पतालले जनाएको छ। र अन्य बाँकी प्राविधिक दरबन्दी छन्।

यो दरबन्दीले आगामी २ दशकसम्म धान्नसक्ने डा. मिश्राको अनुमान छ।
०००
जनशक्ति अभावका कारण सेवा सन्चालन तथा गुणस्तर दिन असहज भएकोे उनको भनाई छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सरकारले पनि स्वास्थ्य संस्था सन्चालन तथा स्तारोन्नति निर्देशिकामा समेत नर्स र विरामी अनुपात तोकेको छ।

तर, सरकारी अस्पतालमै यो मापदण्डअनुसार नर्सको दरवन्दी नहुँदा गुणस्तरीय सेवामा असर परिरहेको डा. मिश्रा बताउँछिन्।

विश्व स्वास्थ्य संगठने समेत बिरामीको संख्या र नर्सको अनुपात निर्धारण गरेको छ।

मापदण्ड अनुसार जनरल वार्डमा एक ४ देखि ६ विरामी बराबर एक नर्स, प्रसूूूति वार्डमा एक बिरामी बराबर २ नर्स, सघन उपचार कक्ष, पोस्ट अपरेटिभ वार्डका लागि १ बेडका लागि १ नर्स हुनुपर्छ। त्यसैगरी, शल्यक्रिया कक्षमा १ ओ टी टेवलमा तीन नर्स हुनुपर्छ।

‘विश्व स्वास्थ्य संगठनले गुणस्तर सेवाको बिरामी र नर्सको मापदण्ड तय गरेको छ,’ उनी भन्छिन्, ‘दरबन्दी थप भएपछि संगठनले मापदण्ड केही हदसम्म लागू गर्न सकिथ्यो कि।’

अस्पतालको भौतिक संरचनाले मात्र गुणस्तरीय सेवा दिन नसकिने उनको भनाई छ।

‘भौतिक संरचना बनाउँछौ, समान किन्न पाइन्छ। तर सेवा भन्ने कुरा सामानले मात्र दिन सकिँदैन। त्यसको लागि जनशक्ति नै महत्वपूर्ण हुन्छ,’ डा. मिश्रा भन्छिन्।
प्रसुती सेवा मानवतासँग जोडिएको हुनाले थप जनशक्ति आवश्यक पर्ने उनको भनाई छ।

बिरामीको चापअनुसारको नर्सिङ जनशक्ति उपलब्ध भएको खण्डमा सन्तुलित ढंगले काम हुन्छ र सेवाको गुणस्तर पनि कायम हुन्छ।

तर, आवश्यक जनशक्ति अभावमा सीमित जनशक्तिले अत्यधिक बिरामीको चाप थेग्नुपर्दा स्वास्थ्यकर्मी सधैँ तनावमा हुने डा. मिश्राको भनाई छ।

‘थौरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्ने हुन्छ, यसले स्वास्थ्यकर्मी कामको बोझ बढ्छ र तनाव सिर्जना हुनेगर्छ,’ मिश्रा भन्छिन्।

‘प्रविधिको प्रयोग त गर्नैपर्छ। मानवीय व्यवहारसँग जोडिने भएकाले जनशक्तिको धेरै हुँदा बढी समय दिन सकिन्छ,’ डा. मिश्राले भनिन्, ‘कम जनशक्ति हुँदा गुणस्तरीय सेवा अवश्य पनि कमी आउँछ।’

One thought on “प्रसुती अस्पतालमा ५ सय ९८ दरबन्दी थप्न प्रस्ताव,बेड संख्या पनि थपिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय