नेपालमा अनुमति पाएको ‘कोभिसिल्ड’ खोप कहिले आउँछ?

नेपालले ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ।

सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगलाई औषधी व्यवस्था विभागले अनुमति दिएको हो।

यही खोप भारतले शनिबारदेखि देशभरि लगाउन सुरु गर्दैछ।

नेपालमा कहिलेबाट सुरू हुन्छ?
सरकारले प्रयोगका लागि अनुमति दिए पनि खोप आउन केही समय अझै लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

‘खोपको अनुमति दिने एउटा कुरा भयो। तर खोप नै पाउने कुरा अर्कै हो,’ डा. गौतमले भने, ‘खरिद गर्ने सबै प्रक्रिया अगाडी बढाएका छौं।’

उनका अनुसार नेपाल सरकारले भारतसँग नेपाललाई चाहिने खोप मागेको छ।

पहिलो चरणमा १ करोड २० लाख मानिसलाई प्राथमिकताको आधारमा खोप दिनुपर्ने सरकारले मापदण्ड बनाएको छ।

‘पहिलो चरणमा ३० प्रतिशतलाई खोप दिने योजना बनाएका छौं। यति मात्र जनसंख्यालाई खोप दिएर मात्र हुँदैन,’ डा. गौतमले हेल्थपोष्टसँगको कुराकानीमा भने, ‘हामीले चाहिए जति खोप भारतसँग मागेका छौं।’

यद्यपि यो खोप भारतले दिने वा नदिनेबारे टुङ्गो छैन।

सरकारले खोप लगाउन योग्य सबैलाई निशुल्क लगाउने योजना बनाएको छ।

‘हामीले मागे जति तत्कालै भारतले तक्कालै दिन नसक्ला। तर, अन्य खोप उत्पादक कम्पनीसँग पनि सहकार्य गरेर नेपालमा खोप ल्याउनेछौं,’ डा. गौतमले भने।’

‘कोभिसिल्ड’को प्रभावकारिता?

भारतले शनिबारदेखि ‘कोभिसिल्ड’ खोप लगाउने सुरू गर्ने जनाएको छ। पहिलो चरणमा पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई खोप दिने तयारी भारतले गरेको छ।

सेरम इन्स्टिच्युट अफ इण्डियाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाको सहकार्यमा यो खोप तयार गरेको हो। यो खोप ७० देखि ९० प्रतिशतसम्म प्रभावकारी रहेका रिपोेर्टहरू सार्वजनिक भएका छन्।

‘कुनै पनि खोपको प्रभावकारी सय प्रतिशत नै भन्ने हुँदैन,’ डा. गौतम भन्छन्, ‘कोभिसिल्ड खोपको हकमा भने ७० प्रतिशत प्रभावकारिता भएको दाबी गरेका छन्।’

सरकारले ल्याएर निःशुल्क वितरण गर्छ

डा. गौतमका अनुसार खोपको खरीद सरकार—सरकारबीच नै हुनेछ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप दिने सरकारको योजना छ। स्वास्थ्य संस्थामा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको विवरण पनि सरकारले मागिसकेको छ।

‘यदि निजी कम्पनीले खरिद गरेमा त्यसमा पनि सरकारकै अधिकार रहनेछ’ उनी भन्छन्, ‘ मूल्य तय गरेर सरकारले जनतालाई निशुल्क नै उपलब्ध गराउँछ।’

डा. गौतमका अनुसार स्वास्थ्यकर्मी पछि प्राथमिकताको आधारमा ५५ वर्ष कटेका, ४० देखि ५४ वर्षका अन्य रोग ग्रसित भएका मानिसलाई खोप दिइने छ। त्यसैगरी, ४० देखि ५४ वर्षका स्वस्थ्य र १६ देखि ३९ वर्षका मानिसले प्राथमिकताको आधारमा पाउनेछन्।

नेपालले कोभिसिल्ड खोप राख्नसक्छ?

खासगरी भण्डारणका हिसाबले नेपालले विश्वमा बनिरहेका खोपलाई तीन स्तरमा राखेको छ।

पहिलो खोप माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रमसम्ममा राख्न सकिने, दोस्रो माइनस २० सम्ममा राख्न सकिने र तेस्रो माइनस ७० देखि अझ कम तापक्रम चाहिने खोप।

कोभिसिल्ड खोप २ देखि ८ डिग्रीमा भण्डारण गर्न सकिनेछ।

सरकारले २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भ्याक्सिन ल्याउन सकेमा नेपालमा अहिले भएका ‘कोल्ड रुम’ नै पर्याप्त हुनसक्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा भ्याक्सिन राख्ने क्षमता, भ्याक्सिन स्टोर र उपत्यका बाहिरका जिल्लामा भ्याक्सिन पु¥याउनका लागि रेफ्रिजेटर भ्यानको समेत तयारी गरिसकेको छ।

स्वास्थ्य सेवा विभागको अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता भएको कोल्ड रुम तयारी अवस्था राखेको छ।

उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्काेमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको विभागले जनाएको छ।

नेपालमा कोभिसिल्ड’ मूल्य कति ?

भारतमा सुरुमा २ सयदेखि ३ सय भारतीय रुपैयाँ सम्म तोकेको छ। यो पहिलो एक अर्ब डोजमा हुनेछ। त्यसपछि भने यसको मूल्य प्रति डोज १ हजार भारतीय रुपैयाँ हुनसक्ने जनाइएको छ।

डा. गौतमका अनुसार अहिले नै मूल्यको निर्धारण नभएता पनि भारतमा चलिरहेको मूल्यको आधारमा नेपालले खरिद गर्ने योजना भइरहेको छ।

‘मूल्यको एकीन भइसकेको छैन। तर, हामीले भारतमा जति पैसामा खोप लगाइन्छ, त्यति मा नै नेपाललाई दिनुपर्छ भन्ने प्रस्ताव गरेका छौं’ डा. गौतमले भने।’

नेपालले ‘कोभिसिल्ड’ छनोट गर्नुको कारण

डा. गौतमले ४ वटा मापदण्डका आधारमा नेपालले कोभिसिल्ड’ छनोट गरेको बताउँछन्।

‘हामीले विभिन्न मापदण्ड बनाएका थियौँ। त्यसको आधारमा कोभिसिल्ड उपयुक्त हुने देखियो,’ उनले भने, ‘अरु यस्तै खोपलाई पनि अनुमति दिन सकिनेछ।’

उत्पादन भएको र प्रयोग भएको एकै देश, विश्व स्वास्थ्य संगठनले अनुमति दिएको, खोप २ देखि ८ डिग्री वा माइन्स २० भएको र चाहिने जति डोज उपलब्ध हुने आधारमा कोभिसिल्ड खोप छनोट गरेको डा. गौतमको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय