मुटुरोगको उपचारमा अब्बल बन्दै चितवन मेडिकल कलेज

जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौं नै जानुपर्छ भन्ने मान्यतालाई चितवन मेडिकल कलेजले तोडेको छ। मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा अग्रणी बनेको हो।

मेडिकल कलेजले मुटुरोगको उपचारमा संख्यालाई आधार मान्दा काठमाडौंको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थानमा आफू रहेको दाबी गरेको छ। कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाकाअनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम १ हजार ८ सय ५२ को, कोरोनरी एनजिओप्लास्टी १ हजार ३२ को, पेसमेकर १ सय ५३ को, पिटिएमसि १ सय ६० को र अस्थायी पेसमेकर १ सय ३९ जनाको गराइसकिएको छ। विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिए।

अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीकाअनुसार शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ। हाल शल्यक्रियाको तयारी थालिएको छ। सुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः सुरु गर्न लागिएको हो। रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ।

कलेजको मुटु विभागमा रेग्मीसहित प्रा डा श्यामराज रेग्मी, सहप्राध्यापक डा विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत छन्।

कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन्। राजधानी काठमाडौंबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन्।

अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमासमेत उपचार गर्ने गरिएको छ। अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गर्छन्। विगत सात वर्षयता राजधानी काठमाडौंसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उनको भनाइ छ ।

न्यौपानेले भन्छन्, ‘हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौँ।’ यो शल्यक्रिया सेवा सुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ। न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने रु १ लाख सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ। ७५ वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ।

कलेजमा मुटुरोग उपचारका लागि छुट्टै २० शय्याको मुटु सघन उपचारकक्ष र अर्को २० शय्याको मुटुका बिरामीको साधारण कक्ष रहेको छ। न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय