अझै केही दिन बदली हुन्छ, स्वास्थ्य सावधानी अपनाउनुस्
अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।
वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली भने देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री र अधिकतम तापक्रम १८.२ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस रहेको छ।
देशैभर चिसो भढेसँगै स्वास्थ्य सावधानी अपनाइराख्न मौसम विद्हरूले आग्रह गरेका छन्।