काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति डा. केसीको ध्यानाकर्षण

काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति डाक्टर गोविन्द केसीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटिले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदन परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने उनले बताए। त्यसका लागि विज्ञहरूबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्याङ्कन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्ने उनले बताएका छन्।

‘खास गरी मेडिकल शिक्षा नियमनमा गत वर्षहरूमा देखिएको चरम् अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरू रहेका छन्’, उनले भने, ‘देशका आधाभन्दा बढी निजी मेडिकल कलेज उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरूको स्वार्थ र इशारामा पदाधिकारीहरू चल्ने गरेका छन्।’

उनले निजी कलेजहरूलाई नेपाल सरकार मन्त्रिपरिषद्ले एमबिबिएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिनदिने गरी अवैध निर्णयहरू समेत भएको उनले आरोप लगाए।

‘पछिल्लो सत्याग्रहमा हामीसँग भएका सम्झौतासमेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन सम्बन्धित सबैसमक्ष माग गर्दर्छौं’, उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय