भरतपुर अस्पतालको स्याटेलाइट क्लिनिक सेवा मध्यविन्दु अस्पतालमा
भरतपुर अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालन गर्न लागेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पतालमा माघ ७ गतेदेखि स्याटेलाइट क्लिनिक सेवा सञ्चालन गर्न लागेको हो।
केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूको स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी निर्देशिका अनुसार सेवा सञ्चालन गर्न लागिएको भरतपुर अस्पतालका स्याटेलाइट क्लिनिक संयोजक डा. युवानिधि बर्सौलाले जानकारी दिए।
विशेषज्ञ स्वास्थ्य सेवा गाउँघरसम्म पु-याउनका लागि सरकारले स्याटेलाइट क्लिनिकको अवधारणा ल्याएको हो। सोही अनुरुप भरतपुर अस्पतालले ६ महिनाका लागि मध्यविन्दु अस्पतालसँग सम्झौता गरेर सेवा सञ्चालन गर्न लागेको डा. बर्सौलाले जानकारी दिए।
‘विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा केन्द्रीय अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘स्वास्थ्य विभागले हामीलाई गण्डकी प्रदेशको मध्यविन्दुमा सेवा सञ्चालन गर्न तोकेर निर्देशन दिएको छ।’
सेवा सञ्चालन भएपछि गरिव जनताले विशेषज्ञ सेवा गाउँघरमा पाउने विश्वास उनको छ। दुई अस्पताल बिच माघ १ गतेदेखि असार मसान्तसम्म सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको छ। सम्झौता अनुसार प्रत्येक बुधवार भरतपुर अस्पतालका एउटा विधाका विशेषज्ञ चिकित्सकको टोलीले मध्यविन्दु अस्पताल पुगेर सेवा सञ्चालन गर्ने छन्। डा. बर्सौलाका अनुसार, आलोपालो १० वटा विधाका विशेषज्ञ चिकित्सकको टोली मध्यविन्दु अस्पतालमा जानेछन्।
सेवा सञ्चालनका लागि भरतपुर अस्पतालले जनशक्तिलाई यातायात र खाजा खर्चको लागि आवश्यक व्यवस्था गर्नेछ। तर, क्लिनिक सञ्चालनका लागि आवश्यक व्यवस्थापनको जिम्मेवारी मध्यविन्दु अस्पतालले लिनुपर्ने डा. बर्सौलाले जानकारी दिए।