छाउपडीकी ‘विद्रोही कमान्डर’

अंगदबहादुर सिंह/काठमाडौं
प्रकाशित
२०७७ माघ १ गते १०:१३

विद्रोह त उनले घरबाटै सुरु गरेकी थिइन्।

महिनावारी हुँदा घरभित्रै बसिन् अनि भान्छासम्मै गइन्।

छाउगोठमा किन बस्नु? किन भान्छा र पानीको धारा नछुनु? यस्ता यस्तै प्रश्न खेल्थे दिमागमा।

छरछिमेकमा झगडा हुँदा उदेक लाग्थ्यो।

र, सोच्थिन् आखिर घरझगडा किन हुन्छ?

किन किशोरीहरू छाउगोठमा बसिरहेका छन्?

किन श्रीमान–श्रीमतीबीच कुटाकुट हुन्छ?

यस्तै प्रश्नले डेरा जमाउँथे मञ्जु महतको दिमागमा।

यस्तै प्रश्नको कैतुहलताले उनी आज ‘इन्टिग्रिटी आइकन नेपाल २०२०’ को उत्कृष्ट पाँचमा परेकी छिन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर भएको छ।

‘सानोमा छाउगोठमा बसेको, घरेलु हिंसा भएको देख्दा किन यस्तो हुन्छ झैं लाग्थ्यो,’ मञ्जुले आयोमेलसँग भनिन्, ‘त्यस्तै किनको जवाफ खोज्दै यहाँसम्म आएँ।’

काम त उनले आफ्नो खुसीका लागि गरेकी थिइन्।

तर, मतलब जोडिएको थियो– दबिएका र पिल्सिएका महिलाहरूको। जो घरेलु हिंसा सहन, छाउगोठमा सुत्न बाध्य छन्।

र, त्यहि दबिएका अनि पिल्सिएका महिलाहरूका हकहितका लागि सुरु गरिन् आफ्नो अविरल यात्रा।

सुदूरपश्चिम।

त्यसको पनि अछाम जिल्ला। जहाँ छाउपडी प्रथाले जरो गाडेको छ।

घरेलु हिंसाका नाममा महिलाले वर्षौं दुःख झेलिरहनुपरेको छ।

अझ भन्दा छाउपडीले त कतिको ज्यानै लिएको छ।

रुढीवादी प्रथा र परम्पराले गाँजिएको सुदूरको अछाममा काम गर्न सहज थिएन उनलाई।

घरेलु हिंसा र छाउपडी प्रथाको विरोध गर्दा उनले धेरै हप्काइ दब्काइ खाइन्।

कतिले त घरमै आएर धम्क्याए। तै पनि हिम्मत हारिनन्।

मञ्जुले अठोट लिएकी थिइन्– एक दिन अवश्य समाजले बुझ्ने छ।

‘कतिले फलानो केटी आएर समाज बिगारी, घर बिगारीसम्म भने,’ मञ्जु भन्छिन्, ‘कतिले त घरमै आएर पनि धम्की दिए, तैंले केहस् गर्न सक्दिनस्।’

तर, उनी पछि हट्नेवाला थिइनन्।

हटुन् पनि कसरी? उनी त समाज सुधारमा लागेकी थिइन्।

महिनावारी हुँदा सबै महिला घरभित्रै बसुन्। घरेलु हिंसाबाट टाढै रहुन् भन्ने इच्छा र चाहना थियो।

त्यही चाहनाले डोर्‍याएको बाटो उनले त्याग्न सकिनन्।

एक त उनी आमासँग विद्रोह अनि समाजका अनेकन तर्क वितर्क सुनेर अगाडि बढेकी थिइन्।

भन्नेले भनुन् सोचेर निरन्तर काममा लागिपरिरहिन्।

घरकी एक्ली छोरी, खानालाउन पुगेकै छ भनेर समाजले कुरा काट्थ्यो।

छोरी मान्छे, एक्लै हिँड्नु हुँदैन। घरपरवारको इज्जत राख्नुपर्छसम्म भन्थे।

तर, मञ्जुले समाजको मतलब गरिनन्।

जसरी पनि महिलाले उन्मुक्ति पाउनुपर्छ भन्ने हठ थियो।

र, त उनले शिक्षिकाको स्थायी जागिर छाडेर महिला विकासमा होमिइन्।

१८ वर्षको उमेरमै सरकारी सेवामा प्रवेश गरेकी मञ्जुको दिमागमा सुदूरका महिलाले भोगेका सास्या र पाइरहेका दुःखमात्रै थिए।

त्यसैकारण उनले एक दिनमै सरकारी सेवा (शिक्षिका) बाट राजीनामा दिइन्।

२०५० सालमा मावि तहमा नाम निकालेकी थिइन् उनले।

जागिर छोड्दा आमाको खुब गाली खाइन्। छरछिमेकले तथानाम सुनाए।

‘जागिर छाडेर महिला विकासमा जान्छु भन्दा आमाले कुकुरे जागिर खाएर के गर्छेस् भन्नुभयो, समाजले एक्लै छोरी भनेर आमालाई समेत कुरा लाउँथे,’ मञ्जु विगत सम्झिन्छिन्।

तर, आमा सरकारी जागिरे पढेलेखेको हुँदा विस्तारै बुझ्दै गइन्। काम गर्न थप उत्साह आयो।

‘इन्टिग्रिटी आइकन नेपाल’ मा छानिएपछि सुरुमा आमालाई सुनाइन्।

‘आमाले पीडामा मल्हम लगायौ, राम्रो गरेछौ भन्दै बधाई दिनुभयो,’ मञ्जुले खुसी हुँदै भनिन्, ‘सरकारी जागिर छाडेको, दुर्गममा काम गरेको कुनै पछुतो छैन, कामको मुल्यांकन हुँदो रहेछ।’

अछाम पुगेपछि उनले महिलालाई भेला गरेर समूह बनाउने काम गरिन्।

महिलालाई समूहमा बस्नसमेत समय हुन्थेन।

‘अछाममा आज त छाउपडी प्रथा व्याप्त छ भने आजभन्दा २५ वर्ष अघिको हालत कस्तो थियो होला?,’ पुराना दिन सम्झिँदै उनी भन्छिन्।

महिला तान्न वडावडामा समूह बनाएर उनीहरूलाई विभिन्न संघसंस्थाको सहयोगमा बाख्रा, भंैसी पाल्न ऋण सहयोग गर्न थालिन्।

जसका कारण उनीहरूको सहभागिता बढ्न थाल्यो। विस्तारै महिलालाई आयआर्जनतर्फ आकर्षित गरी बचत गर्नेतर्फ मोड्न थालिन्।

बालअधिकार र महिला अधिकारकाबारे जनचेतना जगाउने काम गरिन्।

‘घरेलु हिंसा र छाउपडीबारे कानुन बन्दा त पूर्णसुधार भएको छैन भने त्यो बेला कस्तो हालत थियो होला?,’ मञ्जु भन्छिन्, ‘पहिलेको भन्दा अहिले धेरै सुधार भएको छ।’

पहिले महिनावारी भएको सात दिनपछि मात्रै घरभित्र बस्थे। अहिले चार दिनमा बस्छन्। यो प्रगति भएको उनको भनाइ छ।

३१ भन्दा बढी संघसंस्थासँग सहकार्य र समन्वय गरी छाउगोठ भत्काउने र छाउगोठ मुक्त अभियान सञ्चालन भयो।

अहिले अछाममा करिब ७० प्रतिशत छाउगोठ भत्काइएको महतको दाबी छ।

तर, अझै पनि केही महिला छाउगोठमै बस्न बाध्य छन्। र, उनको यो अभियानको पनि निरन्तरता छ।

पुरुषमा पितृसत्तात्मक सोच हावी भएकाले महिलालाई दोस्रो दर्जाका रूपमा हेर्ने र उनीहरूको मानसम्मान नै नगर्ने भएकाले घरेलु हिंसा बढी भएको उनको तर्क छ।

मञ्जुको २०५० सालदेखिको अनवरत यात्रामा धेरै बाधा आए।

समाजले मात्रै हेपेन, नकारेन उनलाई। सशस्त्र द्वन्द्वकालमा नेपाल प्रहरी र नेपाली सेनाले समेत दुःख दिए।

मञ्जुलाई अहिले पछाडि फर्केर हेर्दा दोस्रो जुनी पाए झैं लाग्छ।

उनको काँधमा बालबालिकाको हेरचाह गर्नुपर्ने दायित्व एकातिर थियो भने समाज सुधारका लागि लागिपर्नु अर्को।

नेपाल प्रहरीले एक दिन उनको कञ्चटमा बन्दुक तेस्र्यायो माओवादी ठानेर। पछि उनले आफू कर्मचारी भएको बिन्ती बिसाइन् र बल्ल छुट्कारा पाइन्।

कार्यक्रमका लागि जाँदा नेपाली सेनाको फेला परिन्। आफू कर्मचारी भएको बताउँदा पनि सेनाले छाडेन।

त्यतिबेला कर्मचारी परिचयपत्रको चलन थिएन। सेनाले नछाड्ने भएपछि मञ्जुले सिडिओलाई फोन गर्न आग्रह गरिन्।

सिडिओले मञ्जु कर्मचारी भएकाले तुरुन्त छाडिदिन भनेपछि सेनाले उनीसँग माफी माग्दै छाड्यो।

‘प्रहरीले बन्दुक तेस्र्यायो, सेनाको गस्तीमा परेँ, ती दिन सम्झिँदा त दोस्रो जुनी पाएजस्तो लाग्छ,’ मञ्जु खुसी हुँदै भन्छिन्, ‘काम गर्दा यतिसम्म दुःख पाएँ बयानसमेत गर्न सक्दिनँ।’

२०३२ सालमा डोटी शिलगढीमा जन्मेकी मञ्जु तीन वर्षकी हुँदा बुबाको मृत्यु भयो।

लालनपालनको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा आयो।

आमा खरिदारमा जागिरे थिइन्। अहिले सुब्बाबाट सेवा निवत्त भएसकेकी छिन्।

उनका बुबा पनि सरकारी अधिकारी थिए। तर, बुबाको माया पाउन सकिनन्।

उनले त राम्रोसँग देख्न पनि पाइनन्। घरकी एक्ली सन्तान भएकाले पनि उनलाई यो क्षेत्रमा लाग्न निकै सकस परेको थियो।

सानोमा नर्सिङ पढ्ने चाहना भए पनि महिला भएकै कारण उनले पढ्न पाइनन्।

नर्सिङ पढ्ने भनेर जबर्जस्ती फारम भरिन्। त्यतिबेला पाल्पा जानुपथ्र्यो पढ्न। पछि के–के कारणले नर्स बन्ने सपना टुट्यो।

‘नर्सिङ पढ्न फारम भरे पनि पढ्न पाइनँ, समाजले कुरा काट्यो,’ उनी भन्छिन्, ‘छोरीले नर्सिङ पढ्नु हुन्नँ, एक्लै टाढा जानु हुन्नँ भनेर समाजले भन्यो जसका कारण म यहाँ छु।’

उनी अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अछामको प्रमुख छिन्।

उनका श्रीमानसहित दुई छोरा र एक छोरी गरी पाँचजनाको परिवार छ।

‘संसार बदल्नु छ भने सुरुवात आफैंबाट गर्नुपर्छ, मैले आमा र समाजसँग ठूलै विद्रोह गरेर यहाँसम्म आएकी हँु, अझै धेरै गर्नु छ,’ मञ्जु अझै रोकिन्नन्।

इन्टिग्रिटी आइकन नेपालले सरकारी कर्मचारीप्रतिको नकारात्मक छवि हटाउने उद्देश्यले सन् २०१४ देखि नेपालमा उत्कृष्ट कर्मचारी छान्दै आइरहेको छ।

इन्टिग्रिटी आइकनकी कार्यक्रम व्यवस्थापक अस्मिता शर्माले ‘इन्टिग्रिटी आइकन नेपाल’ को मुख्य उद्देश्य सरकारी कर्मचारीको छविमा सुधार ल्याई उनीहरूको योगदानको कदर गर्ने रहेको बताइन्।

अघिल्ला वर्ष डिसेम्बरभन्दा अघि नै सम्पन्न हुने कार्यक्रम यसपालि कोरोनाका कारण ढिलाइ भएको हो।

नेपालले मनोनयनका लागि आवेदन खोल्ने र तोकिएका मापदण्ड पूरा गरेका सरकारी कर्मचारीबाट उत्कृष्ट कर्मचारी चयन गर्ने गरेको छ।

अघिल्ला वर्ष भोटिङ प्रणालीबाट चयन गरिने भए पनि यो वर्ष कोरोना भाइरसका कारण प्रमाण र अध्ययनका आधारम चयन गरिएको शर्माले जानकारी दिइन्।

प्रतिस्पर्धामा सहभागी सरकारी कर्मचारी हुनुपर्ने, पाँच वर्ष सरकारी सेवामा काम गरिसकेको हुनुपर्ने लगायत मापदण्ड पूरा गर्नुपर्छ।

नेपालले विजेता उत्कृष्ट पाँचलाई माघ ९ मा काठमाडौं बोलाएर सम्मान गरी प्रमाणपत्र दिने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय