दृष्टिविहीन मिना छामेरै पत्ता लगाउँछिन स्तन क्यान्सर

हेल्थपोस्ट नेपाल

पढाइ त उनको मानवीकी हो।

हाल स्नातक तेस्रो वर्षमा अध्ययन गर्छिन्।

तर, उनको काम अब शिक्षक वा अन्य व्यवसायभन्दा विल्कुलै फरक छ। त्यो के भने ‘मेडिकल ट्याकटाइल एक्जामिनर’ (एमटिई) भएर बिरामी जाँच्ने।

ईलामकी २२ वर्षीया मिना थेबे दृष्टिविहीन हुन्।

उनी ती तीन भाग्यशाली दृष्टिविहीन महिलामा पर्छिन् जसले नेपालबाट स्तन क्यान्सर जाँचसम्बन्धी तालिममा भाग लिन पाइन्।

तालिम भारत नयाँदिल्लीस्थित ‘नेसनल एसोसिएसन फर द ब्लाइन्ड’ मा भइरहेको छ। हाल उनी त्यहीँ बसेर अध्ययन गरिरहेकी छिन्।

नेपालमा स्नातक पढ्दा पढ्दै उनी तालिम लिन दिल्ली गएकी हुन्।

मानवीकी संकाय भए पनि उनीहरू त्यहाँ विज्ञानका विषय, बायोलोजी र गाइनोकोलोजिस्टहरूबाट अध्यापन गर्दछन्।

कक्षा १० सम्म विज्ञान अध्ययन गरेकाले पढाइमा धेरै गाह्रो नभएको मिना बताउँछिन्।

सुन्दा अचम्म लाग्न सक्छ दृष्टिविहीन महिलाले पनि स्तन क्यान्सर जाँच गर्न सक्छ भनेर।

तर, यो साँचो हो। दृष्टिविहीन माहिलाले प्रारम्भिक चरणमा स्तन क्यान्सर पत्ता लगाउन सक्छन्।

उनीहरू स्पर्श क्षमता प्रयोग गरेर क्यान्सर पत्ता लगाउने काम गर्दछन्।

चिकित्सकीय भाषामा यस्ता महिलालाई एमटिई भनिन्छ जसले छामेर क्यान्सर पत्ता लगाउँछन्।

विभिन्न देशमा हजारौं दृष्टिविहीन महिला एमटिई भएर काम गरिरहेका छन्। भारतका विभिन्न अस्पतालमा उनीहरूको सहभागितामा जाँच भइरहेका छन्।

जर्मन चिकित्सक फ्र्याङक होफम्यानले पहिलोपटक यो विधि पत्ता लगाएका थिए। ‘डिस्कभरिङ ह्यान्ड्स’ विधिबाट दृष्टिविहीन महिलाले क्यान्सर पत्ता लगाउने गर्छन्।

होफम्यानको अनुसन्धानका आधारमा चिकित्सकले भन्दा दृष्टिविहीन महिलाले स्तनमा रहेका साना गिर्खा पत्ता लगाउन सक्छन्।

एसिन विश्वविद्यालयले गरेको अनुसन्धानका अनुसार दृष्टिविहीन महिलाले गाइनोकोलोजिस्टले भन्दा धेरै गाँठा भेट्टाउन सक्छन्।

महिला आफैंले स्तन छाम्दा दुई सेन्टिमिटर वा त्योभन्दा ठूलो गाँठा भेट्टाउँछन् भने चिकित्सकले एकदेखि २ सेन्टिमिटरका गिर्खा भेटाउँछन्। तर, दृष्टिविहीनले ६ देखि ८ मिलिमिटरसम्म भेट्टाउँछन्। सानो गिर्खा छँदै क्यान्सर पत्ता लगाउन सकियो भने स्तन क्यान्सर सजिलै रोकिन सकिने होफम्यान बताउँछन्।

नेपालमा स्तन क्यान्सरका विभिन्न प्रकारमध्ये स्तन क्यान्सर दोस्रो स्थानमा छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार हालसम्मका क्यान्सर बिरामीमध्ये १३ प्रतिशतलाई स्तन क्यान्सर भएको पाइन्छ भने हरेक वर्ष ३ हजार ५ सय नयाँ स्तन क्यान्सर रोग पत्ता लाग्ने अनुमान छ।

स्तन क्यान्सर उपचार सम्भव भए पनि चाँडै रोग पत्ता लगाउन सके ज्यान जोगिने बताउँछन् अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपाने।

अपाङ्गता र विकासका लागि लिइने सहयोग (अविलिस) का देशीय निर्देशक वीरेन्द्रराज पोखरेलले सानै उमेरमा ब्रेल सिकिरहेका दृष्टिविहीनले स्तन क्यान्सर सजिलै पत्ता लगाउन सक्ने बताए।

‘ब्रेलका अक्षर पनि तीलका दानाजति नै साना हुन्छन्। स्तनमा आउने गिर्खा त्यस्तै साना भए पनि उनीहरूको स्पर्श क्षमताबाट पत्ता लगाउन सकिएको हो,’ उनले भने।

अविलिस र मेडिसिटी अस्पतालको सम्झौताबाट नै तीन दृष्टिविहीन महिलालाई भारतमा अध्ययन गर्न पठाइएको हो। भरतमा तीन वर्षदेखि यस विषयमा अध्यापन हुँदै आएको छ भने नेपालको भने पहिलो सहभागिता हो।

‘उक्त अध्ययन पुरा भइसकेपछि उनीहरूलाई मेडिसिटी अस्पतालले दुई वर्षसम्म काममा खटाउने छ,’ उनले भने।

मिना पनि यही उत्साहमा अध्ययन गर्न भारत गएकी हुन्।

‘हामीलाई अन्य व्यावसायिक क्षेत्रमा काम पाउन गाह्रो छ। स्वास्थ्य क्षेत्रमा पनि हामीले काम गर्न सक्छौं भन्ने सुनेर अध्ययन गर्न आएका हौं,’ उनले भनिन्, ‘काम गर्न पाउँछौं भनेर खुसी भएका हौं। यस पेसाबाट हामीले पनि सम्मान पाउँछौं।’

तर, सात महिनाका लागि अध्ययन गर्न गएका उनीहरू १४ महिना बितिसक्दा पनि घर फर्किन भने पाएका छैनन्।

कारण, परीक्षा सञ्चालन हुन सकेको छैन।

सात महिनाभित्र प्रयोगात्मक शिक्षा र परीक्षा सकिनुपर्ने भए पनि हालसम्म हुन सकेको छैन।

पोखरेलले जर्मनीबाट लिइने परीक्षा हालसम्म पनि नभएको जानकारी दिए। ‘मेडिसिटी अस्पताल र जर्मनहरूसँग सम्झौता भएकै कारण हामीले दृष्टिविहीन महिलालाई पढ्न पठाएका थियौं। तर, अहिले मेडिसिटीले वास्ता पनि गरेको छैन,’ उनले भने, ‘अस्पतालका सिइओे परिवर्तन भएसँगै हामीसँगको सम्झौतालाई पनि अगाडि नबढाउँदा महिला विदेशमा बिचल्ली परेका छन्।’

भारत गएका विद्यार्थीका अनुसार उनीहरूको प्रयोगात्मक शिक्षा भारतमा र नेपालमा गरी तीन महिना चल्ने र लिखित परीक्षा हुनुपथ्र्यो।

सीमित समयका लागि गएका उनीहरू विदेशमा ६ महिना बढी बस्दा अप्ठेरो र निरीह महसुस भएको बताउँछन्।

‘हामीलाई कहिले फर्कौं भइरहेको छ,’ उनीहरूले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *