कसैले हेक्का नपाएको साढे २ करोडको ‘स्मार्ट फोहोर मलाई’

अनिता श्रेष्ठ/काठमाडौं
प्रकाशित
२०७७ पुष २८ गते १५:३३

काठमाडौं महानगरभित्र विभिन्न ठाउँमा ‘स्मार्ट डस्टबिन’ जडान गरिएको छ, जसले फोहोरको मात्र होइन प्रदुषणको मात्रा, तापक्रम अवस्था पनि देखाउँछ।

तर, नगरवासीले न ‘स्मार्ट फोहोर मलाई’ उपयोग गरे, न अन्य सुविधा नै उपभोग गर्न पाए।

एक त अधिकांशलाई तीन वर्ष अगाडि जडान गरिएको बाकस फोहोर फ्याक्ने डस्टबिन हो भनेर थाहा छैन भने अर्कातिर यो डब्बा बिग्रिएको पत्तै छैन।

नयाँ बानेश्वर क्षेत्रमै काम गर्छिन् सुनिता नायोजु। हरेक दिन यातायात व्यवस्था विभाग अगाडि उभिएर घर जान बस कुर्छिन्। स्मार्ट डस्टबिन अगाडि अभिँदा पनि उनलाई थाहा भएन त्यो के चीज हो भनेर।

‘एक वर्ष अगाडिसम्म त्यो बक्समा बत्ती बल्थ्यो र विज्ञापन पनि देखिन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो पनि बल्दैन। डस्टबिन हो भनेर कहिल्यैै हेक्का नै भएन।’

उक्त मेसिनजस्तो सेतो डब्बामा पोलुसन मेसिन भनेर लेखिएको छ। प्रदुषण नाप्ने यन्त्र होला भनेर कसैले याद नै गरेनन्।

गत साता सोमबार काठमाडौं विश्वकै प्रदुषित सहरको सूचीमा पुगेको थियो। प्रदुषणको मात्रा ४८० माइक्रोग्रामभन्दा माथि पुगेको थियो। काठमाडौंको हावा कति प्रदुषित छ भन्ने महसुस मानिसले वातावरणको अवस्था देखेरै थाहा पाएका थिए।

त्यो अवस्था स्वास्थ्यलाई कति खतरनाक छ भनेर स्मार्ट डस्टबिनबाट सजिलै थाहा पाउन सकिन्थ्यो। तर, चल्दै नचल्ने स्मार्ट फोहोर मलाईबाट कसरी हावाको मात्रा बुझ्न सकिन्छ?

काठमाडौं महानगरपालिका र कृष्ण सप्लायर्स प्रालि मिलेर ४० वटा स्मार्ट डस्टबिन जडान गरिएको थियो, जसको लागत २ करोड ४० लाख थियो।

सप्लायर्सले २ करोड लगानी गरेर काठमाडौंको माइतीघर, न्युरोड, रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर, सिनामंगल, चाबहिल, बबरमहललगायत ठाउँमा स्मार्ट डस्टबिन जडान गरेको थियो। जडान गरिएका सबै डस्टबिनमा चार्ज गर्न मिल्ने पोर्ट, प्रदुषण मापन गर्ने मिटरको सुविधा छ। यसमा विज्ञापन राख्न मिल्ने गरी पाँच वर्षका लागि सम्झौता गरिएको थियो।

तर, पाँच वर्ष नबित्दै स्मार्ट डस्टबिन बिग्रिन थालिसकेको छ।

महानगरले हाल रत्नपार्क, बसुन्धरा, महाराजगन्ज र कोटेश्वर गरी चारथान मात्र चलिरहेको बताए पनि सप्लायर्सले भने २८ थान चलिरहेको दाबी गरेको छ।

महानगरका वातावरण शाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार स्मार्ट डस्टबिन सबै ठाउँमा जडान गरिए पनि प्रदुषण नाप्ने मेसिन भने सञ्चालनमा आएको छैन।

‘डस्टबिन त सबै ठाउँमा राखेका छौं, तर प्रदुषण नाप्ने मेसिन भने चार ठाउँमा मात्र राखिएको छ, चलेको भने छैन,’ उनले भने।

त्यस्तै कृष्ण सप्लायर्सका कन्सेप्ट डिजाइनर हरिस अग्रवालले मेसिन बिग्रेकाले प्रदुषणको मात्रा नदेखाएको बताए।

सार्वजनिक–निजी साझेदारीअन्र्तगत सप्लायर्सले यो सम्झौता हात पारेका थिए। सम्झौता अवधिसम्म सप्लायर्सले नै यसको मर्मत तथा रेखदेख गर्नुपर्दछ। अवधि सकिएपछि स्वतः महानगरपलिकालाई नै यसको जिम्मा जान्छ।

तर, सम्झौता अवधि सकिन अझै दुई वर्ष बाँकी भएकाले यसको सञ्चालन र मर्मतको जिम्मेवारी सप्लायर्सको हो।

अग्रवालका अनुसार स्मार्ट डस्टबिनमा बिग्रेका सामान फेर्न सिंगापुरबाट मगाउनुपर्ने र त्यसको अर्डर भइसकेको छ।

‘हामीले ल्याएको स्मार्ट डस्टबिनको कन्सेप्ट एकदमै राम्रो छ, तर मानिसलाई यसको जानकारी नभएको हुँदा कम उपयोग भएको हो। प्रदुषणको मात्रा पनि यसबाट देखाउँछ जुन एक्युआईको डाटासँग मिल्छ,’ उनले भने, ‘तर, उपयुक्त वातावरण नभएका कारण यसको सञ्चालन भइरहेको छैन। यसलाई बनाउन हामीले सिंगापुरबाट सामान मगाएका छौं।’

जाडोयाममा घाम पर्याप्त नलाग्ने र अन्य समयमा विभिन्न वस्तुले घाम छेकिने हुँँदा यसमा जडित सोलारले काम नगरेको हुनसक्ने उनको भनाइ छ।

कोरोनाको कारण देखाउँदै र जलवायु परिवर्तनका कारण बाहिरबाट सामान आउन केही समय लाग्ने उनी बताउँछन्।

स्मार्ट डस्टबिनलाई समयमै मर्मत गरी यसको महत्व मानिसलाई नबुझाउने हो भने यही स्मार्ट डस्टबिन सहरको ‘स्मार्ट फाहोर’ मा परिणत हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय