कोरोनाले थलिएका भक्तपुरका स्कुल माघ १ देखि खोल्ने तयारी

कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द भएका स्कुलहरू अझै पूर्णरुपमा खुल्न सकेका छैनन्।

लामो समयपछि भक्तपुरमा स्कुल माघ १ गतेदेखि खुल्ने तयारीमा छन् भने काठमाडौंका स्कुल खुल्ने–नखुल्ने अझै अन्योलमा छन्।

काठमाडौं महानगरले भने माघबाट विद्यालय खोल्ने कुनै पनि निर्णय नभएको बताएको छ। महानगरका सूचना अधिकारी बसन्त आर्चायले विद्यालय खोल्ने निर्णय हल्लामात्रै भएको बताए।

‘हामीले हालसम्म कुनै पनि निर्णय गरेका छैनौं। नेपाल सरकारले माघबाट विद्यालय खोल्ने भनेर निर्णय गरेपछि मात्र महानगरले पनि यसबारे विचार गर्नेछ,’ उनले भने।

महानगरको मंसिरमा भएको बैठकले पुससम्म विद्यालय नखोल्ने भनेर निर्णय गरेको थियो।

तर, प्याब्सनका अध्ययक्ष टिकाराम पुरीले काठमाडौं महानगरकै सहमतिमा माघ १ बाट सबै निजी विद्यालय खोल्ने तयारी भइसकेको बताए।

उनले सबै व्यावसायिक क्षेत्र खुलिसकेको अवस्थामा विद्यालयलाई मात्र खोल्न नहुने भन्ने तर्क गलत रहेको बताए।

‘९ महिनासम्म विद्यालय नखोल्दा विद्यार्थीको शिक्षा सँगसँगै विद्यालय पनि ध्वस्त भएका छन्। अहिले पनि विद्यालय खोलिएन भने यो वर्ष खेर जानसक्छ,’ उनले भने।

विद्यालय खोल्नका लागि स्वास्थ्य मापदण्डका विषयमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, सबै सजग हुनुपर्ने उनको भनाई छ।

‘अब स्कुल खोलेर कक्षा सन्चालन गर्न सकिएमात्रै बैशाखको पहिलो सातातिर अन्तिम परीक्षा लिन सजिलो हुन्छ’, उनले भने, ‘एसइईजस्तै साना कक्षाका विद्यार्थीहरुको परीक्षा पनि केही समय सारेर गर्ने र अर्को शैक्षिक वर्षलाई असर हुन नदिई मिलाउने बारे हामी योजना बनाउँदैछौं।’

सरकारले ५ सयभन्दा धेरै संक्रमित भएका जिल्लामा जुनसुकै बेला जे पनि निर्णय लिन सकिने नीति अपनाएको छ। यो संख्यामा सक्रिय संक्रमित रहेको जिल्लामा विद्यालय खोल्न पनि सरकारले अनुमति दिएको छैन।

देशमा रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार १ सय ६ सक्रिय संक्रमित छन्।

भक्तपुरका स्कुल माघ १ देखि खुल्ने तर, बाध्यकारी होइन : नगरपालिका

भक्तपुरमा माघ १ गतेदेखि सबै विद्यालय सन्चालन हुने भएका छन्।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले धेरै छलफलपछि माघ १ गतेदेखि कक्षाहरू सञ्चालन गर्ने निर्णयमा पुगेको बताए।

भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूको आइतबारको बैठकमा प्रजापतिले भने, ‘सबैले विद्यालय खोल्नैपर्छ भन्ने छैन। विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विद्यालयहरुले निर्णय गर्न सक्छन्। नगरपालिकाले सहज बनाइदिएको मात्र हो।’

उनले आवश्यक सचेतता अपनााएर विद्यालय खोल्नु अहिलेको आवश्यकता भएको बताए। कतिपय सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अनलाइन कक्षाको पहुँच नभएको हुँदा भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १, २ र ३ मा ‘वर्क सिट’ वितरण मात्र वितरण गरेर पढाइ भइरहेको छ।

कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरूले विद्यालय सन्चालनका लागि आवश्यक तयारीमा जुटिरहेको र त्यसका लागि अभिभावकहरूसँग पनि छलफल गरेको बताए। शैक्षिक सत्र सुरु ढिला हुँदा विद्यार्थीहरूको विवरण भर्ने विषयमा अन्योल देखिएको र स्थानीय पाठ्यक्रम अगाडि बढाउन सन्दर्भ सामाग्रीको अभाव भएको गुनासो उनीहरुले गरेका थिए।

कक्षा सञ्चालनको लागि भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयको लागि साबुन, क्लोरिन र फेससिल्ड पनि वितरण गरिसकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय