बनेपामा आयुर्वेद पञ्चकर्म हेल्थ होम
बनेपामा आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरले सेवा सञ्चालन गरेको छ। यहि पुस १३ गते नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सेन्टरको उद्घाटन गरेका थिए।
यस आयुर्वेद पंचकर्म हेल्थ होमले एक हप्ताको लागि चिकित्सकको शुल्क नि:शुल्क गरेको थियो भने अन्य सेवाहरूमा ५० प्रतिशत छुट गरेको थियो। पञ्चकर्म पूर्णरूपमा नेपालको कुनै पनि अस्पतालमा भइरहेको अवस्था छैन र त्यसको विज्ञ पनि नेपालमा एकदमै न्युन संख्यामा हुनुहुन्छ। यस चिकित्सालाई अत्यन्त महंगो चिकित्सा पनि मानिन्छ।
पञ्चकर्म भन्नाले पाँच कर्मभित्र पर्ने वमन, विरेचन, बस्ती, नस्य र रक्तमोक्षण भन्ने बुझिन्छ। जुन कर्महरू ऋतु र मानिसको प्रकृतिअनुसार वर्षमा एकचोटी गर्नाले शरीरभित्र रहेका विकारहरूलाई निकाल्ने काम गर्दछ। यसले नयाँ हुन लागेका रोगलाई रोक्न ठूलो भूमिका खेल्छ।
‘भविष्यमा सम्पूर्ण रोगको विशेषज्ञ सुविधा दिने लक्ष्य राखेका छौं। अहिले मुख्यतया पञ्चकर्म एवं योगको सुविधा प्रदान गरिरहेका छौं। रोग लाग्ननै नदिने चिकित्साको रूपमा पञ्चकर्म भएको र यहि कुरालाई हामीले जोड दिएका छौं’, हेल्थ होमकी निर्देशक डा. सबिता भण्डारीले भनिन्।
हेल्थ होमले दैनिक नि:शुल्क योग कक्षा, दैनिक चिकित्सकबाट चेकजाँच, स्नेहन, स्वेदन, कटि बस्ति, जानु बस्तीलगायतका पञ्चकर्मका सेवा, अकुपन्चर सेवा, रसायन चिकित्सा, वाजीकरण चिकित्साका साथै दिनचर्या, ऋतुचर्या, आहारविहारको बारेमा नि:शुल्क परामर्श प्रदान गरिरहेको उनले बताइन्।