कालिका नगरले फोहोर संकलन गर्दैन, दुर्गन्धसँगै सास्ति खेप्दै स्थानीय

हेल्थपोस्ट नेपाल

निरुजा श्रेष्ठ कालिका–१० शक्तिखोर बजार व्यवस्थापन समितिकी अध्यक्ष हुन्। उनकै नेतृत्वमा बजार सरसफाई अभियानसमेत चल्ने गर्छ। तर, त्यहाँबाट निस्कने फोहोर फाल्ने ठाउँ हुँदैन। ‘प्रत्येक महिना बजारमा सफाई अभियान चलाउँछौं। त्यहाँ थुप्रै फोहर निस्कन्छ। लगेर फाल्ने ठाउँ हुँदैन’, श्रेष्ठले भनिन्, ‘खाल्टो पनि अर्काको जग्गामा छ हामीलाई लगेर फाल्न पनि गाह्रो छ।’

फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय पालिकालाई छ। तर, कालिका नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकता नदिएको श्रेष्ठ बताउँछिन्। ‘नगरपालिकालाई फोहर व्यवस्थापन गरिदिन पटक-पटक अनुरोध ग-यौं,’ उनले भनिन्, ‘उहाँहरूले जग्गा नै छैन भन्नुहुन्छ।’

साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटापानी गाविस मिलेर २०७३ सालमा कालिका नगरपालिका बनेको हो। यो नगरक्षेत्रमा ४२ हजार बढीको बसोबास छ। नगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापनको काम नगर्दा स्थानीयले सास्ति खेप्नु परिरहेको जुटपानी बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुस्कल बस्नेतले जानकारी दिए।

नगरबासीले नै स्वतस्फुर्त रूपमा फोहर व्यवस्थापन गर्ने गरेका छन्। नगरका मुख्य बजारमा बजारका सम्बन्धित समितिले नै व्यवस्थान गर्ने गरेका छन्। तर, नगरपालिकाले चासो नदिएको खोलेसिमल बजार व्यवस्थापन समितिका संयोजक हरीप्रसाद भण्डारी बताउँछन्।

‘नगरपालिकाले फोहर व्यवस्थापन गरिदिनुपर्ने हो। यहाँ दैनिक एक ट्याक्टरभन्दा बढी फोहोर संकलन हुन्छ। यसको व्यवस्थापन आफै गर्नुपर्छ’, उनले भने, ‘फोहर लगेर फाल्ने ठाउँ तोकिदिएमा पनि हामीलाई व्यवस्थापन गर्न सहज हुने थियो।’

फोहर व्यवस्थापन गर्न आग्रह गर्दै नगरपालिकामा पटक-पटक डेलिकेशन गएको उनले बताए। दबास स्वरुप नगरपालिकामा फोहर लगेर राख्दा पनि समस्या समाधान नभएको उनले गुनासो गरे।

‘एकपटक सात नम्बरका युवाहरूले बोरामा फोहर जम्मा गरेर नगरपालिकामा राखिँदिए। तै पनि उनीहरूले व्यवस्थापन गर्न सकेनन्,’ जुटपानी बजार व्यवस्थापन समितिका पूर्व संयोजक पुस्कर बस्नेतले भने, ‘नगरपालिकालाई फोहर व्यवस्थापन गर्नपर्छ भन्ने धारणा नै छैन।’

नगरपालिकाले स्थानीय घरधुरी वा बजारबाट फोहर संकलन गर्ने कामसमेत सुरु गर्न सकेको छैन। तर, फोहर व्यवस्थापनका लागि प्रयास भैरहेको नगरपालिकाका सूचना अधिकारी बलराम लुइटेलले बताए। हामी प्रत्येक वडा र नगरमा फोहर मैला व्यवस्थापन समिति गठन गर्ने तयारीमा छौं’, उनले भने, ‘हामीसँग बजेट पनि कम छ। यसको समाधान छिट्टै गर्ने कोशिसमा छौं।’

नगरपालिकाले फोहर व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने गरेको भए पनि कुनै काम भने गर्न नसकेको स्थानीयको गुनासो छ। प्रत्येक वर्ष २२ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको नगरपालिकाको बजेट वर्षेनी फ्रिज हुँदै आएको छ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ ल्याण्डफिल्ड साइट नहुँदा फोहर संकलन गर्न कठिन भएको बताउँछन्। ‘हामीसँग ट्रिपर, बजेट, जनशक्ति छ। डम्पिङ साइट पाएका छैनौं। डम्पिङ साइट पाएपछि फोहर व्यवस्थापनको काम गरिहाल्छौं’, उनले भने, ‘तीन वर्षअघि फोहर संकलन गर्नभन्दै किनेको ट्रिपर पनि प्रयोगमा आउन सकेको छैन।’

कालिका नगरपालिका भित्रका खोलेसिमल, जुटपानी, शक्तिखोर, पदमपुर क्षेत्रमा बजार विस्तार भैरहेको छ। साधन स्रोत नभए पनि फोहर व्यवस्थापन नगरिदिँदा नगर क्षेत्रको सरसफाई अभियान नै कमजोर बनेको छ। फोहर संकलन तथा व्यवस्थापनको काम तत्काल हुनुपर्ने नगरबासीको माग छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *