‘जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउँछ’

रोटरी ई-क्लव मेडिकोफ्युजन हाइब्रिड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ।

रोटरी ई-क्लव मेडिकोफ्युजन हाइब्रिड नेपालमा चिकित्सक र उनीहरूका श्रीमान/श्रीमती आवद्ध छन्। ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक छन्।

थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिए।

जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोगसमेत फैलाउँछ। युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ। तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोग थुककै कारण फैलिने गरेका छन्।

एक सय वर्ष अघि युरोपमा स्पेनिस फ्लुको महामारी फैलिँदा गाडी र टोल टोलमा ‘जथाभाबी नथुकौं, थुकले मृत्‍यु फैलाउछ’ भन्ने सूचना टाँस गरिएको उनले बताए।

त्यसयता यूरोपतिर कसैले पनि बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा थुक्दैनन्। तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ।

त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनीबानी र व्यवहारसँग जोडिएको छ। नेपाली जनमानसमा समेत यो विषयमा सचेतना बढाउन अभियान सुरु गर्नुपरेको डा. पोखरेलले बताए। उनका अनुसार यो अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर सञ्चालन गरिनेछ।

‘अब आजैबाट हामी सबैले जथाभाबी नथुक्ने प्रण गरौं,’ उनी भन्छन्, ‘यसो हुँदा मृत्‍यु फैलिनबाट रोकिन्छ।’ कोरोना रोगसमेत थुकबाटै सर्ने भएकोले अहिलेको अवस्थामा यो अभियान सान्दर्भिक भएको उनको भनाइ छ।

कार्यक्रममा रोटरीका एजी राजकुमार गुप्ता, क्लव सचिव इन्जु ज्ञवाली, अप्सरा नेपाललगायतले अभियानको महत्वको बारेमा चर्चा गरेका थिए।

अभियानले बुटवलको चोक-चोकमा जथाभावी नथुकौं, थुकले मृत्यु फैल्याउँछ लेखिएको सचेतना बोर्डसमेत राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय