अस्पताल शैय्यामा छटपटाइरहेको कलिलो भविश्य

हेल्थपोस्ट नेपाल

गएको मंसिर १७ गते १ वर्ष बितेछ। जन्मदिन वा कुनै उत्सव हुँदोहो त हर्षोल्लास साथ मनाइन्थ्यो होला। तर, यहाँ त एकजना बिरामी रोगको उपचार गर्न अस्पताल शैय्यामा बसेको १ वर्ष बितेछ।

दसैं-तिहारलगायत थुप्रै चाडपर्व आए र उनलाई जिस्काउँदै गए। हरेक दिन बिहान डाक्टरहरू आउँछन्। ‘के छ महेश?’ भन्दै सोद्धछन्। कहिले मुसुक्क हाँस्दै जिस्काउँछन्। कहिले गम्भीर हुन्छन्।

ज्वरो आउँदा धेरै गम्भीर हुन्छन्। ज्वरो निको नहुँदा जाँच गर्न नशाहरूबाट रगत निकाल्नुपर्छ भन्ने थाहा छ उनलाई। त्यसैले उनले डाक्टरले सोद्धा ज्वरो आएको छैन भन्दिन्छ।

सबै डाक्टर र नर्सले महेशलाई चिन्छन्। अस्पतालमा उनलाई नचिन्ने डाक्टर र नर्स सायदै होलान। कसका हात कोमल छन्, कसको बोली मिठो छ सबै कुराको अनुमान लगाउन सक्ने भइसकेका छन् महेश। बेला-बेला जिस्किँदै भन्छन्- डिजे डाक्टरको हात कोमल छ।

हात खुट्टाका नशाले चिसो-तातो थाहा नपाउने, दुखेको थाहा नपाउने, खुट्टा कमजोरीले गर्दा हिंड्न नसक्ने रोग लागेर हेरचाह बिना बसेका महेशलाई १ वर्ष अगाडि अस्पताल भर्ना गर्दा पनि समय लागेको थियो। ज्वरो र घाउले गलेको जिर्ण शरीर, पिन्चे स्वर, हड्डिछाला मात्रै देखिने हातखुट्टा देख्दा उपचार गर्ने आँट बटुल्नु नै साहसी काम थियो।

हिपको गहिरो घाउले महेशको हेरचाह गर्दिने मान्छे नभएको प्रष्ट देखिन्थ्यो। हिंड्न नसक्ने, आफै दिशापिसाब गर्न नसक्ने र विस्तारामा लामो समय ओल्टाइपल्टाई नहुँदा उनको घाउको अवस्था हेर्दा शरीर नै जिरिङ हुने खालको थियो। त्यो दुर्गन्धित घाउ लिएर महिनौं बसेको महेशको प्राण नै आजित भैसकेको थियो।

शरीरको त्यो दुर्दशा देखेर छिमेकीले उपचार गर्न टिचिङ अस्पतालमा ल्याइदिएर मानवताको रुप प्रस्तुत गरेका थिए। तर, वास्ता नगरेका बाबुआमाको बाध्यता र आर्थिक पीडाको चरमोत्कर्ष देख्न सकिन्थ्यो। १ वर्षसम्म पनि अस्पतालमा ती बाबुआमा कहिँल्यै नदेखिनुले कतै जिवनको अवमूल्यन रहेको समाजबाट महेश आएको रहेछ कि भन्ने आंकलन गर्नु गलत नहोला।

एउटा श्वास फेर्दै गरेको १६ वर्षको केटालाई उपचार गर्न ती छिमेकीले ल्याउन त ल्याए। तर, असिम धैर्यता र पैसाको खाँचो पर्ने रोगमा कति दिन नै साथ दिन सक्थे र! त्यो घाउको अवस्था हेर्दा ठिक हुने अपेक्षा गर्ने ठाउँनै देखिँदैन थियो।

हिपका हड्डी देखिएको घाउलाई निको बनाउन धेरै मिहिनेत र समय लाग्ने निश्चित थियो। त्यो घाउसँग हरेक दिन कोहि न कोहि डाक्टर घन्टौं संघर्ष गरिरहेका हुन्थे। उ रुन्थ्यो। कहिले घाउ दुखेर रुन्थ्यो। कहिले मन दुखेर रुन्थ्यो। डाक्टर त्यो अवस्था देखेर मनमनै रुन्थे। त्यो दुर्गन्धित घाउले समाजको आर्थिक तथा मानसिक गरिबीको चित्र प्रस्ट देखाइरहेको हुन्थ्यो।

त्यो दृश्य आँखा अगाडि देख्ने सबै डाक्टरको मनमा खिन्नता छाउने गर्थ्यो। भाग्य कोर्ने बिधाता, मनमा हरि नभएको समाज र ढोङले भरिएको भोटको राजनीति देखेर सधै वाक्क लाग्थ्यो। कहिलेकाहिं त्यो सब ड्रेसिङआदिको काम बालुवामा पानी राखे जस्तो पनि लाग्थ्यो।

बाबुआमा र ईश्वरको माया पाउन नसकेको घाउलाई डाक्टरले मात्रै के गर्न सक्थे र! भाग्यले एउटा रोगको परीक्षा दियो र त्यो परीक्षामा बाबुआमा फेल भए। सम्भवत: पुरै समाज नै फेल भयो।

फलस्वरूप एउटा श्वास फेर्दै गरेको भोक, माया, सुख दु:ख आदि अनुभुती गर्न सक्ने मन एउटा अस्पतालको शैय्यामा १ वर्षदेखि बाँधिन पुग्छ।

लामो समयको उपचारपछि हेर्दै नजिक जान मन नलाग्ने घाउ हेर्ने लायकको हुन पुग्नु नै एउटा ठूलो जित हो। सबैको सम्बेदना, करुणा र सहयोगले एउटा आत्मा तंग्रिन पुगेको देखिन्छ। शरीर तंग्रिन त अझै समय लाग्ने कुरा निश्चित छ। उसलाई निकै मिठो बोल्ने, ढाडस दिने र घरबाट अन्डा ल्याएर खुवाउने डाक्टरलाई भने सायद बिर्सिन सक्दैन होला।

अस्पतालमा बेड्चार्ज, औषधि, खाना आदिको जोहो गर्न डाक्टर र नर्सहरूले धेरै मिहिनेत गरेर १ वर्षसम्म हेरचाह गरेका छन्। उसको लागि एउटा राम्रो ‘ह्विल चियर’ को व्यवस्था गर्ने प्रयास पनि जारी छ।

सहयोग गर्नचाहने हृदयी मनलाई स्वागत छ। उसको रोगको उपचार अब एउटा सुमधुर वातावरणमा हेरचाह गर्नु मात्र नै हो। अस्पतालमा बस्दा-बस्दै नयाँ-नयाँ इन्फेक्सन हुने सम्भावना भएकोले उसलाई हेरचाह गर्ने कोहि व्यक्ति वा संस्थाको मन जाग्नु नै प्रभावकारी हुन्छ।

सधै राजनीतिक भुलभुलैयामा दिग्भ्रमित हुने सरकारको कुनै निकाय रहेछ भने खबर नपुगेको भए खबर पुगोस् भन्ने सदिक्षा मनमा छ। भोट पनि नबढ्ने र फाइँदा नहुने ठाउँमा कसको नगर पर्ला र?

घाउ सफा गर्न नसकेर हार खाएको पनि हैन। उपचार गर्न नसकेर दातृ मन खोजेको पनि हैन। एउटा समाजको दरिद्रताले छिन्नभिन्न भएको शरीर र मनलाई अस्पतालले जोडेर एउटा दरिलो आत्मामा परिणत गरिसकेपछि हेरचाह गर्न सुम्पिन खोजेको मात्रै हो।

डाक्टरको कर्म रोगीको उपचार गर्ने हो। समाजको दरिद्रताको उपचारको जिम्मा कसैले लिए कति जाती हुन्थ्यो होला। त्यो शैय्यामा फेरि अर्को महेशको उपचारको खाँचो छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *