हेटौंडा अस्पतालको अस्तित्व बचाउन आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी

अस्पतालको अस्तित्व मेट्न नपाइने भन्दै हेटौंडा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।

विभिन्न ७ बुँदे माग राख्दै उनीहरूले ‘हेटौंडा अस्पताल अस्तित्व बचाउ अभियान संघर्ष समिति’ समेत गठन गरेका छन्।

हेटौंडा अस्पताललाई स्तरोन्नति गर्ने भन्दै प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा अघि बढाएपछि अस्पतालका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

प्रतिष्ठानको ऐनमा भएका केही बुदाँले अस्पतालका कर्मचारीलाई असहज परिस्थितिमा पुयाएको र मनोवैज्ञानिक त्रास उत्पन्न भएको संघर्ष समितिका संयोजक डा. रामचन्द्र सापकोटाले बताए।

प्रतिष्ठानको ऐनमा उल्लेखित केही बुँदाहरूले हेटौंडा अस्पतालमा रहेका कर्मचारी वृद्धिविकास सरूवा हुने पाउने व्यवस्थालाई मेट्न खोजेको डा. सापकोटाको भनाई छ।

प्रतिष्ठानको ऐनले अस्पतालको अस्तित्व नै मेटिने र वर्षौंदेखि अस्पतालमा काम गरिरहेका कर्मचारीलाई असहज परिस्थितिको सिर्जना हुने उनले बताए।

‘सरकारले अस्पताललाई ३ सय बेड बनाएर स्तरोन्नति गर्नु निकै राम्रो कुरो हो, हामी त्यसमा सहयोग पनि गर्छौैं। तर हेटौंडा अस्पतालको अस्तित्व नै समाप्त हुनु त भएन नि!’ उनले भने।

सापकोटाका अनुसार अस्पताल प्रतिष्ठानमा जानु राम्रो हो। तर, अहिले काम गरिरहेका स्वास्थ्य कर्मचारीहरूका लागि प्रतिष्ठानमा ठाउँ राखिएको छैन।

‘प्रतिष्ठानमा गएपछि हामी सरकारी कर्मचारी पनि अटाउँछौ भन्ने आशा थियो,’ डा. सापकोटाले भने, ‘तर ऐनले सरकारी कर्मचारीको लागि ठाउँ खाली नहुने बनाइदिएको छ।’

उनका अनुसार प्रतिष्ठानमा आवद्ध हुनका लागि ३ महिनाभित्रमा निवेदन दिनुपर्ने र प्रतिष्ठानमा आवद्ध हुन नसक्ने कर्मचारीले छोडेर जानुपर्ने अवस्था देखिएको छ।

प्रदेश सरकारले भनेजस्तै प्रतिष्ठान सन्चालनका लागि हेटौंडा अस्पतालको जमिन र अन्य पूर्वाधारहरु समेत अपर्याप्त हुने डा. सापकोटाले बताए।

अस्पतालमा सरकारी कर्मचारी ६० जनाभन्दा बढी छन्।

संघर्ष समितले अस्पतालको अस्तित्व बचाउनका लागि विभिन्न स्वास्थ्य सम्बन्धित निकायलाई जानकारी समेत गराएको छ।

संघर्ष समितका मागहरू :

१. हेटौडा अस्पतालको अस्तित्व बचाउन अस्पतालको नाम यथावत राखिनुपर्ने

२. अस्पतालको स्तरोन्नति गरी ३०० बेड बनाउनुपर्ने र सो अस्पतलाई नेपाल सरकार—प्रदेश सरकारको मातहातमा राख्नुपर्ने

३. नेपाल सरकार, प्रदेश सरकारको स्थायी दरबन्दी यथावत राखी अन्य आवश्यक पदहरू प्रतिष्ठानको नियमानुसार नियुक्ती गर्नुपर्ने

४. हेटौडा अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरूलाई एक पटकको लागि स्थायी गर्नुपर्ने

५. हेटौडा अस्पतालले हाल लिइरहेको सेवा शुल्क वृद्धि गर्न नपाइने

६. हेटौडा अस्पताललाई वीर अस्पताल–न्याम्सको मोडलमा सन्चालन गर्नुपर्ने

७. छात्रवृत्ति कारारमा तहगत रूपमा आएका कर्मचारीलाई हेटौडा अस्पताल अन्तर्गत राखिनुपर्ने

 

One thought on “हेटौंडा अस्पतालको अस्तित्व बचाउन आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी

  1. सरकारी अस्पताल प्रतिष्ठान बने पछि यस्तै हालत हुन्छ। प्रगति करिब सुन्य। बीर पनि करिब त्यसै हुन्थ्यो होला। तपाईंले सोचेको अहिले को ऐनबाट न्यामस चलेको होइन ब्यबहारिक रुपमा राजाको पालाको अध्यादेश बाट चलेको छ। बीरमा पनि किचलो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय