प्रदुषणका कारण नेपालजस्ता देशमा बच्चा जन्मँदै २ वर्षले आयु कम हुन्छ

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेसँगै वातावरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै समयमा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई घरबाट बाहिर ननिस्कन आह्वान गरे ।

वायु प्रदुषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । प्रदुषणको तत्काल असर दीर्घरोगी, बच्चा तथा वृद्धवृद्धामा देखिए पनि दीर्घकालीनरूपमा यसको असर सबैमा पर्छ ।

प्रदुषणले स्वास्थ्यमा पार्ने असर र रोकथामका उपायबारे ह्याम्स अस्पतालका छाती रोग र सघन उपचार विशेषज्ञ डा. राजु पंगेनीसँग गरिएको कुराकानी :

केही दिनअघि उपत्यकामा प्रदुषण तह एकदमै बढ्यो, यस्तो के कारणले हुन्छ ?

वायु प्रदुषण दुई प्रकारको हुन्छ। वाह्य र आन्तरिक। वाह्य प्रदुषण विशेष गरेर गाडीबाट निस्कने धुँवा, विभिन्न फोहोर बाल्दा हुने प्रदुषण, घर, इँटाभट्टा तथा विभिन्न कारखाना, उद्योगबाट निस्कने ग्यास, रसायन, धुलोका कणका कारणले हुन सक्छ। कहिलेकाहीँ जंगलमा आगलागी, प्राकृतिक प्रकोपका कारणले वायु प्रदुषण हुनसक्छ।

नेपालमा विशेषगरी सहरबजारमा वायु प्रदुषण वाह्य कारणले हुने गर्दछ। त्यसैगरी आन्तरिक प्रदुषण घरभित्रको हुने क्रियाकलापले हुन्छ।

विशेष गरेर खाना पकाउन दाउरा प्रयोग हुने, गुइँठा, कोइला, ग्यास चुलो, हिटरबाट आउने रसायन, चुरोट पिउँदा हुने धुँवा आन्तरिक वायु प्रदुषणका स्रोत हुन्।
प्रदुषणको बढी असर त सहरी क्षेत्रमा नै देखियो नि !

सहर–बजारमा वाह्य प्रदुषण बढी छ भने गाउँघरमा आन्तरिक प्रदुषण बढी छ ।

जति पनि स्वास्थ्य संस्थामा दमका बिरामी छन् उनीहरू अधिकाश ग्रामीण क्षेत्रका हुनुहुन्छ। चुरोट पिउने तथा दाउरा, गुइँठाबाट हुने धुँवाका कारणले हुने समस्या लिएर आइराख्नुभएको छ ।

विशेष गरेर नेपालको सन्दर्भमा काठमाडौं उपत्यकामा वायु प्रदुषणको प्रभाव परेको छ। त्यसैगरी भैरहवा, पोखरा, चितवन र सहरी क्षेत्रमा बढी प्रदुषण छ ।

वायु प्रदुषणबाट स्वास्थ्यमा हुने प्रत्यक्ष असर के–के हुन् ?

वायु प्रदुषणमा धेरै खालका रसायन हुन्छन् । हाम्रो नाँगो आँखाले देख्ने धुलोका कणहरू ठूला साइजका हुन्छन् ।

रौंको रेसा ५० माइक्रोनभन्दा ठूलो साइजको हुन्छ। तर, हामीले कुरा गरिरहेको वायु प्रदुषण १० माइक्रोग्रामभन्दा पनि सानो हुन्छ । जुन फोक्सोको भित्री तहसम्म पुग्छन्। ठूला साइजका धुलाका कण बाहिर बस्छन् । जसका कारण हाम्रो शरीरको नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, खोक्दा कालो खकार आउने गर्छ ।

अत्यन्तै साना कण फोक्सोकोे भित्री तहसम्म पुग्छन् । जसले दम, श्वासप्रश्वासमा समस्या, छातीमा संक्रमण हुन्छन्। त्यसका साथै केहीमा पुरानो दमसँग सम्बन्धित समस्या छ भने अचानक दम हुने, श्वासप्रश्वासमा समस्या, अक्सिजनको मात्रा कम हुने र बेहोस नै हुने अवस्था आउँछ ।

प्रत्यक्षरूपमा खोकी लाग्ने, श्वासप्रश्वास समस्याजस्ता समस्या देखिन्छ भने कसैमा पुरानो रोगसमेत बल्झिन्छ । विशेष गरेर रोगसँग लड्ने क्षमतासमेत घटाउँछ । साना बालबालिका, वृद्ध उमेरका मानिसमा निमोनिया हुने, छातीमा संक्रमण हुन्छ । जसको उपचारका लागि अस्पतालमा आउनुपर्ने हुनसक्छ।

२.५ माइक्रोगामभन्दा साना कण फोक्सोबाट रक्तसञ्चार प्रणालीमा पनि छिर्न सक्छ । रक्तसञ्चार प्रणालीमा गएको खण्डमा शरीरका सम्पूर्ण अगंलाई असर गर्ने सम्भावना बलियो हुन्छ । जसले गर्दा मुटु, मिर्गौला, टाउकोसम्मै पुगेर पक्षघात, क्यान्सरसमेत हुने समस्या उत्पन्न हुन्छ ।

त्यसैगरी, वायु प्रदुषणले गर्भवतीको पेटमा भएको बच्चालाई समेत असर गर्छ । त्यसकारण वायु प्रदुषणको असर श्वासप्रश्वास प्रणालीमात्रै नभए अन्य अगंमासमेत हुन जान्छ ।

चिसो मौसममा वायु प्रदुषण बढी हुनुका कारण के हुन् ?

यो मौसममा वायु प्रदुषण बढ्नुमा मुख्यतयाः दुई–तीन कारण छन् । तापक्रम बढाउन प्रयोग हुने हिटर, दाउरा बाल्छौं, त्यसबाट निस्कने धुलोका कणले प्रदुषण हुन्छ ।

विशेषगरी उपत्यकामा जाडो मौसममा बादल लाग्यो भने ‘कम्मल’ को काम गर्छ । भित्रपट्टि प्रदुषणको चिसो हावा हुन्छ । त्यो हावा राम्रोसँग ओहोरदोहोर गर्न पाएन भने एकै ठाउँमा थिग्रेर बस्छ ।

बिहान तथा साँझको समयमा प्रदुषणको मात्रा अत्यधिक बढी हुन्छ । यसबाहेक सुख्खा मौसममा आगलागी भएमा एक जिल्लाबाट अर्को र एक देशबाट अर्को देशमा पनि जान्छ ।

हाम्रो सीमावर्ती क्षेत्र (भारत) मा पनि वायु प्रदुषणको गति एकदमै धेरै छ । त्यसकारण यो वायु ट्रान्सफर हुँदा सहरी क्षेत्रबाट अर्को ठाउँमा प्रदुषण जानसक्ने सम्भावना हुन्छ ।

त्यसबाहेक, अन्य मानवीय व्यवहारका कारणले पनि हुन्छ । वायुप्रदुषणको स्रोत हाम्रो घरदेखि लिएर वरपर हुन्छ ।

कस्ता–कस्ता रोग भएका मानिसलाई प्रदुषणले गम्भीर अवस्थामा पु¥याउनसक्छ ?

वायु प्रदुषणको मात्रा ३ सय माइक्रोेग्राम भयो भने स्वस्थ मानिसलाई पनि असर गर्छ। तर, वायु प्रदुषणको मात्रा थोरै मात्राभन्दा पनि बढी भएमा त्यसले विशेष गरेर रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ ।

जस्तै पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि प्रदुषणले असर गर्नसक्छ । सगसँगै प्रदुषणका कारण खोक्न सक्ने क्षमता कम हुन्छ। जस्तै, वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पु¥याउँछ ।

जुनसुकै अस्पतालमा पनि कुनै पनि मौसममा एकतिहाइ बिरामी नसर्ने खालको दीर्घरोगका कारण आउने गरेका छन् ।

त्यसमध्ये आधाआधी श्वासप्रवाससम्बन्धी रोगका कारणले आउने गर्छन्। श्वासप्रश्वाससम्बन्धी समस्या धेरैजसो दम रोगी हुन्छन् । एलर्जीका कारण धुँवाधुलो र चुरोट सेवनका कारणले गर्दा दम भएर आउने बिरामी बढी छन ।

श्वासप्रश्वाससँग सम्बन्धित समस्या र वायु प्रदुषण प्रत्यक्ष जोडिएको हुनाले छाती रोगको संक्रमण भएका बिरामी धेरै छन्।

विशेष गरी काठमाडौं विश्वकै प्रदुषित सहरमध्ये पर्छ, प्रदुषण बढ्दै जानुका कारण के हो ?

वायु प्रदुषण पहिलादेखि नै थियो । यसलाई हामीले इग्नोर गरेका हौं। अहिले ठुल्ठूला धुलोका कण वायुमण्डलमा देख्यौं। गाडी चलाउँदा, यताउता हेर्दा देख्न छोड्यौं। यी सबै देख्यौं र पो बढेको चाल पायौं। वायु प्रदुषण गाडीबाट निस्कने सुक्ष्म धुलोका कण जुन हाम्रो आँखाले देख्दैन।

नाइट्रोजनअक्साइड, कार्बनमोनोअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रेड सल्फेट, एमोनिया, धातुका टुक्रा, कार्बन तथा धातुहरूका रसायन वायु प्रदुषणमा मिसिएको हुन्छ।

जुन धेरैजसो यस्ता कणलाई हाम्रो आँखाले देख्न सक्दैन। नदेखिने भएपछि यसको समस्या यसको सिभिरेटीको अन्दाज हुँदैन। अघिल्लो सालको रत्नपार्क, बसपार्क, ललितपुरमा प्रदुषणको मात्रा १५० माइक्रोग्रामभन्दा बढी हुन्थ्यो।

यस बेलामा मौसमको कारणले ह्वातै बढ्न सक्छ। तर, वायु प्रदुषणको मात्रामा विभिन्न अनुसन्धानमा नेपाल विश्वको खराब वायु प्रदुषण हुने देशमा उच्च स्थानमा पर्ने प्रतिवेदन आएका थिए।

यस वर्ष अत्यन्तै बढेको हो। तर, वायु प्रदुषणको समस्या केही वर्षदेखि नै सहरी क्षेत्रमा टड्कारो रूपमा देखिएको छ।

प्रदुषणले तत्काल देखिने स्वास्थ्य समस्यासँगै समग्र जीवनमा प्रभाव पार्छ हैन र ?

दैनिक कामकाजदेखि जीवनशैलीमा प्रभाव पारेको छ। समग्रमा ‘क्वालिटी अफ लाइफ’ कस्तो छ भन्ने हुन्छ ।

एक हिसाबले प्रदुषणले दीर्घ श्वासप्रश्वासको समस्या ल्याउँछ। मुटु, मिर्गौला तथा दीर्घरोगको समस्या ल्याउने हुन्छ।

कोही बाँच्दा पनि ‘बेटर लाइफ’ हुन सक्दैन। जहिले पनि खोकी राख्नुपर्ने, छिट्टो हिँड्न नसक्ने, बस्दा पनि शारीरिकदेखि मानसिक समस्या आउने गर्दछ।

त्यसबाहेक, बाँच्ने आयुमा समेत प्रभाव पार्छ। पश्चिमा मुलुकमा जन्मिने बच्चामा ‘सर्भाइभर रेट’ को तुलनामा नेपालजस्ता कम विकसित मुलुका जन्मिने बच्चाको २ वर्षले कमी हुन्छ।

त्यसको प्रमुख कारण वायु प्रदुषण हो।

वायुप्रदुषणको कारण विश्वमा वार्षिक ३० लाखभन्दा बढीको मृत्यु हुने तथ्यांक छ। त्यसैगरी, नेपालमा १० हजारभन्दा बढीको मृत्यु हुन्छ।

यसको मापन गर्ने प्रक्रिया अलि गाह्रो भएका कारण यसको यकिन तथ्यांक आउन सकेको छैन।

यस्तो मौसममा बिहान–बेलुका हिँड्न उपयुक्त हुन्छ कि हुँदैन?

यो ठाउँ तथा अवस्थाअनुसार हुन्छ। यो मौसममा वायु प्रदुषण उच्च भएका बेला उपत्यकामा बिहान–बेलुका प्रदुषणका रसायन तल्लो लेभलमा बस्छन्।

उपत्यकाभित्र बसोबास गर्ने मानिसले सकभर बिहान–बेलुका सकभर ननिस्कन राम्रो हुन्छ।

तर, यही कुरा उपत्यका बाहिर खुला ठाउँमा बस्ने मानिसका लागि लागू हुँदैन। विभिन्न ठाउँमा वायु प्रदुषणको यन्त्र पनि राखिएको छ। अहिले फोनमा पनि हेर्न सकिन्छ।

त्यसकारण, वायु प्रदुषणको मात्रा हेरेरमात्र बाहिर निस्कनु राम्रो हुन्छ।

यसले दीर्घकालीन रूपमा कस्तो असर गर्छ ?

यो ठाउँअनुसार फरक हुन्छ। नेपालका सबै ठाउँमा सहरी क्षेत्रमा वायु प्रदुषणको मात्रा बढी छ। यो प्रदुषण हरेक वर्ष बढ्दै गएको छ। यसलाई तत्कालै समाधानको उपाय खोजेनौं भने भोलिका दिनमा दीर्घरूपमा असर पार्ने पक्कापक्की नै छ।

यसले अहिले तुरुन्तै देखिने खालको हुँदैन। यसले गर्भमा रहने बच्चालाई समेत असर गरेको हुन्छ।

जन्मजात श्वासप्रश्वासका समस्या, जन्मिँदा नै कम तौल, पछि क्यान्सर, मुटु र दीर्घरोग हुने सम्भावना बढी हुन्छ। गर्भमा हुँदादेखि जोखिम सुरू हुन्छ। यो ठूलो समस्या हो।

यसको समाधानको उपाय खोजेनौं भने भविष्यमा ठूलो समस्या पार्ने निश्चित छ।

प्रदुषणलाई कम गर्न सरकारी तवरबाट कस्तो काम गर्नुपर्दछ ?

नीतिगत रूपमा पहिलो कुरा के कारणले बढेको हो, त्यसका स्रोतहरू के—के हुन् पत्ता लगाउनुपर्दछ। जुन हरेक क्षेत्रको एउटै नहुन सक्छ। मुख्य कुरा अनुसन्धान आवश्यक छ।

कुनै ठाउँमा यातायातबाट हुने प्रदुषण कसरी कम गर्न सकिन्छ। त्यसलाई नीतिगत रूपमा पुराना गाडीलाई नचलाउने, विद्युतीय सवारीसाधन प्रयोग गर्ने गर्नुपर्दछ।

अत्याधिक लेभल पुगेको बेला सर्वसाधारणलाई जनचेतना जगाउनुपर्दछ। सकेसम्म यस्तो बेलामा अनावश्यक साधन नचलाउन आग्रह गर्नुपर्दछ।

कुनै ठाउँमा औद्योगिक कारणले प्रदुषण बढेको रहेछ भने केही दिन बन्द गर्नुपर्दछ।

त्यसैगरी, कुनै ठाउँमा दाउरा प्रयोगले प्रदुषण बढेको रहेछ भन्ने त्यसको विकल्पका रूपमा सुधारिएको चुलो प्रयोग गर्ने गर्नुपर्दछ। त्यसकारण नीतिगत रूपमा

कडाखालको नियम बनाउनुपर्दछ र त्यसको अनुगमन पनि गर्नुपर्दछ।

नीतिगत रूपमा स्रोत पहिचान गरी त्यो स्रोतलाई कम गर्न विभिन्न तरिका अवलम्बन गर्नुपर्छ। सँगसँगै जनचेतनाको काम पनि गर्नुपर्दछ।

वायु प्रदुषण उच्च भएका बेला व्यक्तिगत हिसाबमा पनि जथाभावी फोहोर नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परेको खण्डमा मास्क प्रयोग गर्ने गर्नुपर्दछ।

तर, यसको दीर्घकालीन समाधान नीतिगत रूपबाट आउनुपर्छ।

के अब यो समस्याबाट छुटकारा पाउनै सकिन्न त ?

वायुप्रदुषण साइलेन्ट किलर हो। यो देखिँदैन । तर, यसले पार्ने असर अत्यन्तै उच्च हुन्छ। यसले हाम्रो शरीरका प्रत्येक अंगलाई असर गर्न गर्छ।

यसले समाजलाई असर गर्छ। त्यसैगरी देशको छविलाई समेत असर पार्छ । त्यसकारण यो वायु प्रदुषणलाई कम गर्न सरकारी तथा सामाजिक र व्यक्तिगत लेभलबाट एकजुट भएर लाग्नुपर्दछ।

यो आजको मात्र होइन। अहिले अत्यधिक बढेरमात्र चाल पायौं। यो साइलेन्ट किलरका रूपमा वषौंदेखि कायम छ।

यसलाई दीर्घकालीन समाधान नखोजेसम्म चार–पाँच दिन कम गर्ने उपायले मात्र यसबाट लामो समयसम्म छुटकारा पाउन सकिँदैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय