क्युरेक्स फर्मास्युटिकल्स र रिलायन्स फर्मुलेसनले उत्पादन गरेको औषधि गुणस्तरहीन

औषधि व्यवस्था विभागले दुईवटा कम्पनिको औषधि विक्री–वितरणमा रोक लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै ती औषधिको गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

विक्री–वितरणमा रोक लगाइएका दुई औषधि एक नेपाली तथा एक भारतीय कम्पनीको हो।

नेपाली कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर टिएमएल १—००९ को मोन्टेलुकास्ट औषधि न्युनगुणस्तरको रहेको विभागले दाबी गरेको छ।

मोन्टेलुकास्टको प्रयोग श्वासप्रश्वासको कठिनाई हुँदा प्रयोग गरिन्छ।

त्यसैगरी, भारतीय कम्पनी रिलायन्स फर्मुलेसन प्रालिले उत्पादन गरेको ब्याज नम्बर ०७८१ को प्रन्तोप्राजोल सोडियम ट्याब्लेटमा पनि विक्री—वितरणमा रोक लगाइएको छ।

पेटमा ग्यास भरिएको अवस्थामा, लगातार खोकी लागेमा, खानेकुराले शरीरमा गडबढ भएमा प्रन्तोप्राजोल सोडियम ट्याब्लेटको प्रयोग गरिन्छ।

उल्लेखित उत्पादन औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागले जनाएको छ ।

यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि न्यून गुणस्तरका भेटिएका छन्।

औषधिजस्तो संवेदनशील उत्पादनमा गुणस्तरको मापदण्ड पूरा नगरिँदा जनस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ । तर, नियामक निकायले प्रभावकारी अनुगमन गर्न सकिरहेको छैन ।

सबै औषधि पसल तथा कम्पनीहरूको र सबै उत्पादनको अनुगमन गर्न सम्भव नभएको विभागले बताउँदै आएको छ । जनशक्ति अभावका कारण आफूहरूले सीमित उत्पादन, पसल र कम्पनीको मात्र अनुगमन गर्न बाध्य रहेको विभागको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय