स्वास्थ्यका लागि खतरनाक भयो काठमाडौंको हावा

जाडो महिनासँगै कुहिरो लाग्नु र घाम कम लाग्नु सामान्य हो, तर काठमाडौंमा केही दिनयता दुषित हावा कुहिरोजस्तै डम्म छ।

यहाँको हावामा प्रदुषण यति धेरै बढ्यो कि, अहिले विश्वकै प्रदुषित हावा भएको सहर काठमाडौं भएको छ।

‘एयर क्वालिटी इन्डेक्स’ को मापनअनुसार सोमबार नेपाल सबैभन्दा शीर्ष स्थानमा थियो भने किर्गिस्तान, भियतनाम र बंगलादेश क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा थियो।

हावामा प्रदुषणको मात्रा बिहानको समयमा ४ सय ८७ माइक्रोग्राम रहेको थियो, जुन अन्य देशभन्दा दोब्बर थियो। किर्गिस्तानमा २ सय ९६, भियतनाममा २ सय ४१ र बंगलादेशमा २ सय ३ माइक्रोग्राम थियो।

‘एक्युआई’ को मापदण्डअनुसार ३ सय माइक्रोग्रामभन्दा माथि प्रदुषणको मात्रा बढ्यो भने मानव जातीकै लागि सबैभन्दा खतरा हुने जनाएको छ।

दृष्टि काठमाडौंका अनुसार वातावरण राम्रो र स्वास्थ्यलाई कुनै फरक नपर्न हावा १० माइक्रोग्राम हुनुपर्दछ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० देखि २५ माइक्रोग्राम स्वास्थ्यका लागि सुरक्षित हुन्छ।  २५ देखि ४० माइक्रोग्राम भए हल्का प्रदुषित हावाका रूपमा लिइन्छ।

त्यस्तै ४० देखि ७५ माइक्रोग्रामलाई प्रदुषित र स्वास्थ्य समस्या हुनेलाई असर गर्दछ।

७५ देखि १ सय ५० माइक्रोग्रामलाई अतिप्रदुषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १ सय ५० भन्दा माथिको प्रदुषण भए खतराजन्य परिस्थितिका रूपमा हेरिन्छ र यसबाट सकेसम्म जोगिएर बस्नुपर्ने हुन्छ।

यसले श्वासप्रश्वासमा समस्या भएका र मुटु रोग हुने व्यक्तिलाई निकै कठिन पार्दछ।

तर, पुस सुरुदेखि नै खतराजन्य वातावरणमा बाँचिरहेका छौं।

सोमबार कुहिरोले आकास ढाकेसँगै प्रदुषणले पनि देशलाई छोपेको थियो।

मानिसले आँखा पिरो हुने, खोकी लाग्ने, धुँवाको बासनासमेत आउने खालको अनुभव गरेका थिए।

यस्ता खालका स्वास्थ्य समस्या प्रदुषणका कारण तत्काल देखिने लक्षण हुन् भने दीर्घकालीन समस्या पनि हुनसक्ने बताउँछन् दृष्टि काठमाडौंका सहसंस्थापक शिशिर शर्मा।

नेपालमा प्रदुषणको मात्रा ४ सय माइक्रोग्रामभन्दा माथि पुगेको यो पहिलो भने होइन। हरेक वर्ष नेपालीहरू यस्तै खतराजन्य वातावरणमा बसोबास गरिहेका छन्।

शर्माका अनुसार हरेक वर्ष वातावरण प्रदुषण हुन्छ र सोमबारको जस्तो परिस्थिति नौलो भने होइन। कति व्यक्तिले तत्काल प्रदुषणको असर महसुस गर्दछन् भने कतिलाई पछि गएर समस्या उत्पन्न हुन्छ।

‘प्रदुषणको मात्रा सबैभन्दा बढी बिहानको समयमा हुन्छ भने दिउँसो कम हुँदै जान्छ,’ उनले भने। बिहान घाम लाग्दैन र धुवाँ, धुलो हावामै भइरहन्छ। घाम लागेपछि वायुमण्डल माथि जान्छ र प्रदुषण कम हुँदै जान्छ। जाडो समयमा घाम र हावा दुवै कम लाग्ने हुनाले धेरै प्रदुषण देखिन्छ।

यतिमात्र नभई जाडोयाममा मानिसले आगो धेरै बाल्छन् विषेशगरी तराईतिर। सोही धुँवा हावामा मिसिन्छ र प्रदुषण बढाउन योगदान पु-याउँछ।

त्यस्तै नेपालको हावा प्रदुषित हुन भारतको पनि हात रहन्छ। बाली भित्र्याइसकेपछि भारतमा पराल र छ्वाली बाल्ने चलन छ। त्यहाँको धुवाँ हावासँगै नेपाल भित्रिन्छ र प्रदुषण फैलाउँछ।

काठमाडौं उपत्यकाका हकमा भने हावा ज्यादै कम बग्छ र हावा बग्ने ठाउँ कम भएका हुनाले प्रदुषण धेरै भएको पाइन्छ। यस्तो समय फागुनको मध्यसम्म भइरहने उनको भनाइ छ।

प्रदुषणले स्वास्थ्यमा कस्तो असर पार्छ?

कतिसम्मको प्रदुषित हावाले स्वास्थ्यमा असर गर्छ भनेर पिएम २.५ ले मापन गर्दछ। हावामा प्रदुषणको मापदण्डअनुसार पिएम २.५ एकदमै सूक्ष्म कण हो।

यसमा भएका सुक्ष्म कण श्वासनलीबाट भित्र गई फोक्सोमा पुग्नसक्ने पल्मोनोलोजिस्ट डा. राजु पँगेनीले बताए।

यसका कारण पहिले नै श्वासप्रश्वास सम्बन्धी रोग लागेका व्यक्तिजस्तै ब्रोङकाइटिस, दम, एलर्जी हुनेलाई एक्कासि दमको जस्तो ‘अट्याक’ हुनसक्छ।

अक्सिजनको मात्रा कम हुँदै जाने, अचानक सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, छातीमा इन्फेक्सन हुने र निमोनिया हुने सम्भावना धेरै हुन्छ।

केही नुहनेलाई पनि खोकी लाग्ने, घ्यारघ्यार हुने, रुघा लाग्ने, नाक बन्द हुने, घाँटी खसखस हुनेजस्ता प्रत्यक्ष लक्षण देखिन थाल्दछ।

त्यस्तै २.५ भन्दा कम कण भए फोक्सोबाट पनि रक्तसञ्चारमा जान सक्छ, जसका कारण मुटु, मिर्गौला र दिमागको समस्या आउने गर्दछ। हृदयघातको समस्या, मिगौला फेल गराउने र मानसिक समस्या वा सम्झन सक्ने शक्तिमा ह्रास आउन सक्ने र स्ट्रोकको पनि सम्भावना रहेको डा. पँगेनी बताउँछन्।

केही अध्ययनका अनुसार प्रदुषणले क्यान्सर हुनसक्ने देखिएको छ। गर्भवती महिलाका सन्दर्भमा बच्चालाई असर पर्नसक्छ।

प्रदुषणको प्रत्यक्ष असर दीर्घ रोगी, वृद्ध र बालबालिकामा धेरै देखिने गर्दछ।

‘हावामा प्रदुषणको मात्रा बढ्नु भनेको स्लो पोइजनिङजस्तै हो। यसले हाम्रो गुणस्तरीय जीवनलाई निकै कम गर्दछ। प्रदुषित हावाका कारण स्वस्थ मानिसको पाँचदेखि १० वर्षले आयु कम गर्दछ,’ पँगेनीले भने।

हिजोआज दम र श्वासप्रश्वासका बिरामी निकै बढ्न थालेको उनी बताउँछन्।

‘लकडाउनमा श्वासप्रश्वासका रोगी निकै कम थिए। यसको तुलनामा अहिले दोब्बर बढेका छन्,’ उनले भने।

त्यस्तै पहिलेदेखिका श्वासप्रश्वासका रोगी दुईतिहाइ जति अस्पतालमा उपचारका लागि आउन थालेका छन् भने नयाँ बिरामी एक तिहाइ बढेको उनी बताउँछन्।

प्रदुषणबाट जोगिन के गर्नुपर्छ?

प्रदुषको अवस्था खतरनाक भएका कारण सरकारले सूचना नै जारी गरी घर बाहिर ननिस्किन आह्वान गर्नुपर्ने उनको भनाइ छ।

‘यससँगै हरेक व्यक्तिले मास्क लगाएर हिँड्न जरुरी छ। अहिले हामीले लगाइरहेको मास्कले प्रदुषण र हावामा भएका ग्यास रोक्न सक्दैन। यसका लागि एन९५ नाम मास्क लगाउनुपर्दछ जुन प्रदुषणकै लागि बनेको हो,’ डा. पँगेनीले भने।

उनका अनुसार ‘एन ९५’ मा पनि फिल्टर वा भल्भ (छेउछेउमा प्वाल भएको) लगाउनुपर्दछ। भल्भ नभएको मास्क धेरै बेरसम्म लगाएर बस्न कठिन हुन्छ। बाहिर निस्किनका लागि प्वाल भएको मास्क लगाउँदा सास फेर्न सजिलो हुन्छ। त्यस्तै ‘रेड जोन’ का मानिस सकेसम्म बाहिर ननिस्किँदा राम्रो हुन्छ।

रोग लागेका र वृद्ध तथा बालबालिका सकेसम्म घरबाट निस्कनु हुँदैन। घर भित्र र बाहिर दुवैमा प्रदुषण हुनसक्छ। बाहिरको प्रदुषणको मात्रा ज्यादा भएको ठाउँमा झ्याल बन्द गरेर बस्नु उपयुक्त हुन्छ भने अन्य समयमा खुला राख्नुपर्दछ।

त्यस्तै घरभित्र सकेसम्म आगो नबाल्ने, चुरोट, धुप अथवा आगोको धुँवा कम गर्नुपर्छ।

दम रोगी वा ब्रोङकाइटिस रोगी भएका घरमा सकिन्छ भने एयर फिल्टर किनेर जडान गर्दा पनि हुन्छ। यसले घरभित्रको हावालाई सफा गर्न मद्दत गर्दछ।

त्यस्तै अक्सिजन लागाउनुपर्ने बिरामी भए हरेक दिन अक्सिजन लगाउने, जाडोमा हिटर बाल्ने र सुख्खा हुन नदिन पानी धेरै पिउने गर्नुपर्छ।

जाडोमा ‘डिहाइड्रेसन’ हुने भएकाले संक्रमणको सम्भावना धेरै हुन्छ। प्रोटिनयुक्त खानेकुरा खाने र खोकी लाग्ने र सास फेर्न गाह्रो हुने खालका लक्षण धेरै देखिए अस्पताल जानुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय